मन्त्री घिसिङ द्वारा बिहानै गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन

  वास खबर संवाददाता  325 पटक हेरिएको

काठमाडौ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहानै गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको अनुगमन गर्नु भएको छ । मन्त्री घिसिङले फोहोरपानी प्रशोधन केन्द्रको अनुगमन गरी यसको वर्तमान अवस्था, सञ्चालनका चुनौतीका बिषयमा जानकारी लिनु भएको हो ।

काठमाडौं उपत्यकामा फोहोरपानी प्रशोधन केन्द्र निर्माण भैरहेको भए पनि चालु अवस्थामा रहेको गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र मात्रै रहेको छ । पूर्ण क्षमता ३.२५ करोड लिटर पानी दैनिक रुपमा प्रशोधन गर्न सक्ने भए पनि हाल २ करोड लिटर फोहोर पानी र ढल यो केन्द्रले गरिरहेको छ ।

यो प्रशोधन केन्द्रमा गुहेश्वरी मन्दिरको माथिल्लो तटीय क्षेत्रमा ढल संकलन गर्ने पाइप बिछ्याइएको छ, जुन पाइपमा घरबाट निस्किएका ढल संकलन गरेर प्रशोधन केन्द्रमा ल्याएर शुद्ध पानी वाग्मतीमा छाडिन्छ ।

यो प्रशोधन केन्द्रबाट बायोग्याँस समेत उत्पादन हुन्छ । ढलबाट उत्पादित बायोग्याँसबाट विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् प्रशोधन केन्द्रमा नै खपत हुन्न्छ । यो प्लान्टमा दुर्गन्ध न्यूनीकरण इकाई पनि जडान गरिएको छ, जसले ढलबाट आउने गन्धलाई हटाइदिन्छ । मन्त्री घिसिङ दुर्गन्ध न्यूनीकरण इकाई, स्काडा सिस्टम र अन्य सबै संरचनाको अवलोकन गरी यस प्रणालीबारे जानकारी लिनु भएको छ।

आधुनिक प्रविधियुक्त रहेको यो प्लान्टले दैनिक ८ टन हानिरहित स्लजसमेत उत्पादन गर्छ । यो स्लज खेतबारीमा मलको रुपमा प्रयोग गर्न मिल्ने भए पनि हाल प्रशोधन केन्द्र परिसरमै थुपारिरहेको छ ।

गुहेश्वरीको आयोजनाको निर्माणमा नेपाल सरकारको ३० दशमलव ७० प्रतिशत एसियाली विकास बैंक तथा ओपीईसी फन्डको ६९ दशमलब ३० प्रतिशत लगानी रहेको छ । आयोजनाको डिजाइन तथा निर्माणका लागि भ्याट सहित २ अर्ब ४ करोड २९ लाख रुपैयाँ खर्च भएको छ भने १० वर्षको मर्मत सम्भारका लागि ठेकेदारसँग बिजुली खर्च बाहेक कूल ३७ करोड २२ लाख ७९ हजार रुपैयाँमा सम्झौता गरिएको थियो ।

केन्द्रको विस्तृत डिजाइन, निर्माण तथा सञ्चालन कार्य भारतीय कम्पनी भीए टेक वाबाग लिमिटेडले गरेको हो । सन् २०२० मा यो केन्द्र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई दिइएको थियो । काठमाडौंको चाबहिल, बौद्ध, जोरपाटीलगायत क्षेत्रबाट उत्पादन भएको फोहोरपानी यो केन्द्रले प्रशोधन गरेर वाग्मतीमा पठाइरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार