
काठमाडौ : आज नोभेम्बर १९, विश्व शौचालय दिवस । “Sanitation In A Changing World” अर्थात बदलिँदो विश्वमा सरसफाइ भन्ने नाराका साथ संसारभर मनाईदैछ।
सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर १९ तारिखलाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।
शौचालय र यसको महत्व सबै सामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ । नेपाललाई १३ असोज २०७६ मा खुला दिसामुक्त देश घोषणा गरिए पनि अझै ४.५ प्रतिशत जनसंख्यासँग शौचालयको अभाव छ । सबै जनसंख्यामा शौचालयको पहुँच पुर्याई फोहोरपानी र दिसाजन्य लेदो प्रशोधन गरी व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।
संयुक्त राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुलास्थानमा दिसा।पिसाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक १ हजार बालबालिकाको ज्यान जाने गरेको छ । यसले प्रकृति, महिला, केटी र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ ।
सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ६ बर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न अहिले गरिरहेको कामको गति बढाउनुपर्ने र सरसफाइ क्षेत्रमा लगानी बढाउनुपर्ने अभियन्ताहरु बताउँछन् ।
डब्लु.एच.ओ. र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (JMP) को प्रतिवेदन अनुसार प्रतिवेदनमा प्रत्येक ५ जनामध्ये २ जनासँग सुरक्षित सरसफाइ सेवाको पहुँच नरहेको, प्रत्येक ४ जनामध्ये १ जनासँग सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवा नपुगेको र प्रत्येक ३ जनामध्ये १ जनासँग आधारभूत हातधुने सुविधा नभएको उल्लेख छ ।
प्रतिवेदन अनुसार सन् २०३० भित्र लक्ष्य हासिल गर्न सुरक्षित सरसफाइ सेवामा ८ गुणा बढी गति आवश्यक भने खुला दिसामुक्त अन्त्यका लागि हालको गति पर्याप्त रहे पनि आधारभूत सरसफाइ सेवामा ३ देखि ६ गुणासम्म तीव्रता आवश्यक छ।
नेपालले आधारभूत सरसफाइमा तीब्र गतिमा प्रगति हासिल गरेपनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइमा भने नेपालको प्रगति एकदम कमजोर रहेको विज्ञहरु बताउँछन् । आगामी दिनमा विभिन्न कारणले शौचालयको सुविधा नपुगेको जनसंख्यामा शौचालय निर्माण गर्ने र शौचालयको सेप्टिक ट्याङ्की भरिएपछि सुरक्षित तरिकाले खाली गरी ढुवानी एवं प्रशोधन गरी पुनः प्रयोग वा सुरक्षित व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
नेपालमा करिब ११ प्रतिशत जनसंख्याको शौचालय ढल प्रणालीमा जडान गरिएको सरकारी तथ्याङ्क छ । ती मध्ये करिब ३ प्रतिशत जनसंख्यामा मात्र प्रशोधन सहितको ढल प्रणालीमा समेटिएको छ । बाँकी ८९ प्रतिशत जनसंख्याको शौचालय स्थलगत रुपमा व्यवस्थापन गरिदै आएको छ ।


531 पटक हेरिएको 

