लहानमा घर-घरको शान, स्वच्छता अभियानको औपचारिक शुभारम्भ

  वास खबर सम्बाददाता  370 पटक हेरिएको

सिराहा : सिराहा जिल्लाको लहान नगरपालिकाले सरसफाइ तथा सार्वजनिक स्वास्थ्यमा देखापरेका चुनौतीहरू समाधान गर्न “घर–घरको शान, स्वच्छता अभियान” को औपचारिक शुभारम्भ गरेको छ। विश्व शौचालय दिवस, १९ नोभेम्बर २०२५ को अवसर पारेर खानेपानी मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठ तथा मन्त्रालयकै सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकार, वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेको उपस्थितिमा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले अभियानको शुभारम्भ गर्नुभयो।

वाटर एड नेपालको सहयोग र दलित जन कल्याण युवा क्लब (DJKYC) को सहकार्यमा लहान नगरपालिकाद्वारा शुभारम्भ गरिएको स्वच्छता अभियान नगरभर सुरक्षित र दिगो सरसफाइ सुनिश्चित गर्ने प्रमुख लक्ष्यका साथ अघि बढाइएको हो।

खुला दिसालाई पूर्ण रूपमा अन्त्य गर्दै ODF स्थिति पुनःस्थापना र दिगोपनाको सुनिश्चितता गर्ने, शौचालय प्रयोग र स्वच्छ बानीलाई सामुदायिक पहिचान तथा गर्वको रूपमा स्थापित गर्ने र दलित, गरिब, भूमिहीन तथा जोखिमयुक्त परिवारलाई पहिलो प्राथमिकतामा राखी सरसफाइ सेवा सुनिश्चित गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको हो ।

लहान नगरपालिका २०१७ मै खुला दिसामुक्त क्षेत्र घोषणा भए तापनि हालै सम्पन्न सरसफाइ अवस्था विश्लेषण (Sanitation Situation Analysis, 2025), सरसफाइ सामाजिक नक्सांकन (Sanitation Social Mapping, 2025), तथा घरधुरी सर्वेक्षण (Household Profile Survey 2025) ले करिब १७ प्रतिशत परिवार पुनः खुला दिसातर्फ फर्किएको तथ्य उजागर गरेको छ। सर्वेक्षण अनुसार ३ हजार ८०१ घरधुरीमा शौचालयको अभाव छ भने ४०० घरधुरीमा शौचालय बिग्रिएको वा प्रयोगयोग्य नभएको पाइएको छ। विशेषगरी दलित, भूमिहीन, आर्थिक रूपमा कमजोर तथा बाढी–जोखिमयुक्त क्षेत्रहरूमा समस्या अत्यधिक देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले जानकारी दिनुभएको छ ।

यससँगै दिशाजन्य लेदो प्रशोधन केन्द्र (FSTP) को अभाव, पानीको कमी र शौचालय मर्मत-सम्भार प्रणाली कमजोर हुनुजस्ता कारणले नगरको सरसफाइ चुनौती थप गम्भीर बन्दै गएको छ। परिणामस्वरूप दिगो सरसफाइ सुनिश्चित गर्न नागरिक सहभागिता आवश्यक भएको निष्कर्ष सहित यो अभियान अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत झाले बताउनुभयो । उहाँका अनुसार यो लक्ष्य हासिल गर्न युवा, महिला समूह, विद्यालय र सामुदायिक संस्थालाई सक्रिय साझेदारका रूपमा परिचालन गरिनेछ ।

अभियान अन्तर्गत नगरका सबै २४ वडामा खुला दिसा अन्त्य गर्ने, घरायसी शौचालयको प्रयोग, मर्मत र व्यवस्थापनमा सुधार ल्याउने, सीमान्तकृत समुदायको सरसफाइ पहुँच र निर्णय प्रक्रियामा सहभागिता बढाउने र सरसफाइलाई गर्व, पहिचान तथा सामूहिक दायित्वका रूपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछ।

लहान नगरपालिकाले तीनै तहका सरकार, समुदाय, नागरिक, सञ्चार माध्यम, सामुदायिक संस्था तथा सरोकारवालाहरूको संयुक्त सहकार्यबिना अभियान सफल नहुने भन्दै सबैलाई सक्रिय सहभागिताको आह्वान गरेको छ।

“शौचालय हाम्रो शान, स्वच्छ बानी हाम्रो पहिचान” भन्ने नारालाई मूर्त रूप दिँदै नगरपालिकाले जन–जनमा स्वच्छ व्यवहार प्रवर्द्धन गर्दै दिगो सरसफाइका लागि सबैको सहभागिता र प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।

शुभारम्भ कार्यक्रममा राजनीतिक दलका स्थानीय नेता, समुदायका सदस्य, विद्यालय, युवा समूह, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले एउटै ठाउँमा उभिएर खुला दिसामुक्त लहान बनाउन र जोगाउन प्रतिज्ञा गर्दै अभियान सफल बनाउने प्रतिबद्धतामा हस्ताक्षर गरे ।

आजै लहान नगरपालिकाको वडा नं. ८ मा आधुनिक सार्वजनिक शौचालयको शिलान्यास समेत गरिएको छ । लहान नगरपालिकामा वाटर एड नेपाल र दलित जन कल्याण युवा क्लब (DJKYC) को साझेदारीमा विकन परियोजना सञ्चालन भैरहेको छ । विपन्न समुदायको सरसफाइमा पहुँच बढाउन परियोजना अन्तर्गत सामुदायिक शौचालय निर्माण गरी समुदायद्वारा नै सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ ।

फोटोहरु :आभाष कर्माचार्य/वाटर एड


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार