सरसफाइ क्षेत्रमा स्यानिटरी इन्जिनियरहरुले उत्कृष्ट क्षमता प्रदर्शन गरेको छ : महानिर्देशक श्रेष्ठ

  वास खबर सम्बाददाता  610 पटक हेरिएको

 


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले खानेपानी तथा सरसफाइ क्षेत्रमा स्यानिटरी इन्जिनियरहरुले उत्कृष्ट क्षमता प्रदर्शन गर्दै आएको बताउनु भएको छ । स्यानिटरी इन्जिनियरहरुको तिनै उत्कृष्ट क्षमताका कारण हालसम्म ९७ प्रतिशत जनतामा आधारभूत खानेपानीको सिस्टम कभरेज भएको र २८ प्रतिशत जनसंख्याको गुणस्तरीय खानेपानीमा पहुँच पुगेको बताउनुभयो।

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा महानिर्देशक श्रेष्ठले खानेपानी र सरसफाइमा गरिएको लगानीबाट जनस्वास्थ्यमा उल्लेखनीय सुधार आई मुलुकको आर्थिक विकासमा सकारात्मक योगदान पुगेको बताउनुभयो।


“मुलुकको सामाजिक, आर्थिक, भौगोलिक अवस्था अनुसार स्यानिटरी इन्जिनियरहरुले खानेपानी तथा सरसफाइ क्षेत्रमा प्राविधिक क्षमता अनुसार गरेको योगदानलाई धन्यबाद व्यक्त गर्दछु” उहाँले भन्नुभयो।

उहाँले खानेपानी र सरसफाइको दिगो विकास लक्ष्य प्राप्त गर्न चुनौती भएपनि आगामी दिनमा सम्पूर्ण सरोकारवालासँग प्रभावकारी समन्वय र सहकार्य गर्दै उपलब्ध स्रोतहरुको अधिकतम उपयोग गरी प्राविधिक क्षमताको उत्कृष्ट प्रदर्शनबाट दिगो विकास लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

महानिर्देशक श्रेष्ठले इन्जिनियरिङ क्षेत्रका अग्रजहरुले सामान्य क्याल्कुरेटर र टेपबाट डिजाइन गरी सार्वजनिक धारा निर्माण गरी खानेपानी सेवा उपलब्ध गराए पनि अहिले प्रविधिको विकासले सफ्टवेयरको प्रयोग अटोमेसन बाट सहज सेवा उपलब्ध गराउन सक्षम भएको पनि बताउनुभयो।


“विगतका बर्षहरुमा मूलको पानी पाइप मार्फत वा सोझै पिउने चलन थियो, पछिल्ला समय खोला नदी तालको पानी बहु पम्प्पिङ गरी प्रशोधन गरेर खानेपानी आपूर्ति गर्न सक्षम भएका छौं” उहाँले भन्नुभयो।

विभागको स्थापना दिवसको अवसरमा सेवा निवृत्त कर्मचारी कर्मचारी र देशभरिका ८ वटा खानेपानी सेवा प्रदायकलाई सम्मान गरिएको थियो।

स्थापना दिवसमा काठमाडौ उपत्यका खानेपानी लिमिटेडका अध्यक्ष कमलेश कुमार अग्रवाल, खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगका अध्यक्ष ई.रुद्र प्रसाद गौतमले खानेपानी तथा ढल व्यवस्थापन विभागले देशको कुना कन्दरासम्म खानेपानी तथा सरसफाइ सेवा आपूर्तिका लागि पुर्‍याएको योगदानको प्रसंशा गर्दै शुभकामना व्यक्त गर्नुभयो।

दिवसमा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.नारायण प्रसाद आचार्यले विभागको स्थापनाकाल देखि हालसम्मको प्रगति एवं भावी दिनमा गर्नुपर्ने कामका बिषयमा विस्तृतमा प्रस्तुतीकरण गर्नुभयो।

वि.सं. २०२९ सालमा नेपाल भित्र खानेपानी र ढल निकास सम्बन्धी सेवा सन्चालनको व्यवस्था गर्न खानेपानी तथा ढल निकास विभाग स्थापना गरिएको थियो। तत्कालीन समयमा काठमाडौँको अलावा अन्य केही शहरी क्षेत्र तथा ग्रामीण बस्तीहरुमा मात्र खानेपानी सुविधा उपलब्ध गराइएको थियो ।

खानेपानी सेवा बिस्तारसँगै विभाग अन्तर्गत २०३४ सालमा तत्कालीन चारै विकास क्षेत्रमा डिजिन कार्यालयहरु स्थापना गरी क्षेत्रीयस्तरसम्म स्थायी संरचनाको विकास गरिएको थियो ।

स्थापना दिवसमा खानेपानी तथा ढल व्यवस्थापन विभागका हालसालै सेवा निवृत्त हुनुभएका कर्मचारीहरु, देशैभरिका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, खानेपानी मन्त्रालयका सहसचिव, विभाग अन्तर्गतका विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशकहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन), राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र खानेपानी तथा ढल व्यवस्थापन विभागका कर्मचारीहरुको उपस्थिति थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार