निजी क्षेत्रसँग सहकार्य गर्न सके निम्न आय भएका व्यक्तिहरुको खानेपानी र सरसफाइमा पहुँच : अध्यक्ष अग्रवाल

  वास खबर संवाददाता  232 पटक हेरिएको


काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रसँग सहकार्य गर्न सकेमा निम्न आय भएका व्यक्तिहरुको खानेपानी र सरसफाइमा पहुँच पुर्‍याउन सहज हुने बताउनु भएको छ।

निजी क्षेत्रले आर्जन गरेको नाफाको २ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने प्रावधान भएकाले निजी क्षेत्रसँग सहकार्य गर्न सकेमा निम्न वर्गीया मानिसको समेत खानेपानी र सरसफाइमा पहुँच अभिवृद्धि हुने उहाँले बताउनुभयो ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको रकम हालसम्म पनि सरसफाइ क्षेत्रमा लगानी हुन सकेको छैन । संस्थाहरूले आर्जन गरेको नाफाको करिब २ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामुदायिक विकास जस्ता सामाजिक कार्यहरूमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था भएपनि हालसम्म सरसफाइ क्षेत्रमा लगानी हुन नसकेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) भनेको कुनै कम्पनी, उद्योग वा व्यवसायिक संस्थाले आफ्नो नाफामुखी गतिविधिसँगै समाज, वातावरण र समुदायप्रतिको दायित्व पूरा गर्ने प्रक्रिया हो।

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष अग्रवालले सुरक्षित खानेपानी र सुरक्षित ढल व्यवस्थापन सभ्य समाजको आधार भएको पनि बताउनुभयो। उहाँले बाल स्वास्थ्य, लैंगिक समानता, दिगो विकास लक्ष्य, संक्रमण नियन्त्रण तथा समग्र जीवनस्तर उन्नतिसँग प्रत्यक्ष रुपमा सुरक्षित खानेपानी र सरसफाइ जोडिएको बिषय भएकाले सबै नागरिकको पहुँच हुनुपर्नेमा जोड दिनुभयो।

खानेपानी आयोजना तथा ढल व्यवस्थापन विभागले हालसम्म खानेपानी आपूर्ति तथा ढल व्यवस्थापनमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उहाँले सुरक्षित खानेपानी र गुणस्तरीय सरसफाइ सेवा परिपूर्तिका लागि आधुनिक प्रविधि र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिनुभयो।

वि.सं. २०२९ सालमा नेपाल भित्र खानेपानी र ढल निकास सम्बन्धी सेवा सन्चालनको व्यवस्था गर्न खानेपानी तथा ढल निकास विभाग स्थापना गरिएको थियो। तत्कालीन समयमा काठमाडौँको अलावा अन्य केही शहरी क्षेत्र तथा ग्रामीण बस्तीहरुमा मात्र खानेपानी सुविधा उपलब्ध गराइएको थियो ।

खानेपानी सेवा बिस्तारसँगै विभाग अन्तर्गत २०३४ सालमा तत्कालीन चारै विकास क्षेत्रमा डिजिन कार्यालयहरु स्थापना गरी क्षेत्रीयस्तरसम्म स्थायी संरचनाको विकास गरिएको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार