श्रम शोषणमा पिल्सिएको सरसफाइकर्मी

  वास खबर संवाददाता  150 पटक हेरिएको


चितवनका दिनेश मगरले पोखरामा सेप्टिक ट्याङ्क सफाइको काम गर्न थालेको १५ बर्ष भयो । सरकारी सेवामा हो भने पेन्सन पाउने समय भैसक्दा पनि उहाँले एक दिन बिदा लिनका लागि पनि बिरामीको बहाना बनाउनुपर्छ ।

‘यसो टाउको दुख्यो भनेर छुट्टी लियो भने लियो, नत्र हाम्रो बिदा हुँदैन । उही दशैं तिहारमा, अनि विश्वकर्मा पूजा र फागु पूर्णिमाको दिन चाहिँ गाडी चलाउनु पर्दैन’ उहाँले भन्नुभयो । मेसिन जस्तै घोटिएर काम गर्दा पनि एक दिन बिदा पाउने नियम नहुँदा आफ्नै पेशा देखि विरक्त लागेर आउने उहाँले बताउनुभयो । दशैंको दुई दिन, विश्वकर्मा पूजा र फागु पूर्णिमाको दिन पनि गाडी नचलाउने चलन भएर मात्र फुर्सद पाएको उहाँको भनाइ छ ।

श्रम ऐन २०७४ मा रोजगारदाताले श्रमिकलाई प्रति दिन ८ घण्टा र एक हप्तामा ४८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाइने व्यवस्था छ । तर सरसफाइकर्मीले दोब्बर तेब्बर समय काम गर्दा पनि त्यसको कुनै गणना छैन ।

अर्का सरसफाइकर्मी तुलबहादुर गुरुङ भन्नुहुन्छ ‘हामीलाई चाडबाड, शनिबार, महिनामा एक दिन बिदा भन्ने केही छैन । हाम्रो छुट्टी नै हुँदैन ।’ तुलबहादुर गुरुङ पोखराको फोहोर व्यबस्थापन गर्दै आएको भद्रकाली वेष्ट नामक कम्पनीमा विगत १० बर्षदेखि गाडी चालक हुनुहुन्छ ।

एक दिन पनि छुट्टीको व्यबस्था नहुँदा मानसिक तनाव हुने उहाँले सुनाउनुभयो । खाली कामै काम, कामै काम भनेको हुन्छ । हाम्रो घर परिवारसँग बोल्ने, बेलामा घरमा पुग्ने, पारिवारिक सरसल्लाह गर्ने भन्ने केही पनि हुँदैन ।’ तुलबहादुरको गुनासो छ ।


रोजगारदाताले श्रमिकलाई बढी समय काममा लगाउँदा आधारभूत पारिश्रमिकको डेढ गुणा बढी पारिश्रमिक दिनुपर्ने ऐनमै व्यवस्था छ । तर एक दिन बिदा पाउन पनि ठूला चाडपर्व नै पर्खिनुपर्ने कम्पनीसँग यो अपेक्षाभन्दा बाहिरको कुरा भएको उहाँले बताउनुभयो । ‘सेवा सुविधा भनेको केही छैन । एउटा जागीर पाएको भन्ने मात्र छ । अरु सेवा सुविधा माग गर्न थाल्यो भने यो जागीर पनि गुम्छ कि भनेर हामी चुप लागेर बस्न बाध्य छौं’ उहाँले भन्नुभयो ।

यस्तै रोजगारदाता कम्पनीले वार्षिक एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा गराउनुपर्ने र कम्तीमा सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनुपर्ने ऐनमै व्यवस्था भए पनि सरसफाइकर्मीले आफ्नो अधिकारको आवाज बल्ल उठाउन थालेका छन् ।

‘स्वास्थ्य बीमा हुनुपर्‍यो भन्ने हामीले पनि भर्खर बुझ्दैछौं, किनकि सरसफाइ क्षेत्रमा काम गर्ने भएपछि रोग लाग्ने सम्भावना पनि धेरै हुन्छ’ सरसफाइकर्मी जानुका थापा भन्नुहुन्छ ‘रोग लागिहालेमा तत्काल उपचार गर्ने पैसा नहुन सक्छ । त्यस्तो आपतकालीन काममा उपचार गर्न स्वास्थ्य बीमा भरपर्दो हुने रहेछ । यस बिषयमा हामी कम्पनीसँग आवाज उठाउनेछौं ।’

आफूहरुको अधिकारबारे खासै सचेत नभएका पोखराका सरसफाइकर्मीलाई लक्षित गरी लुमन्तीले कार्यक्रम सञ्चालन गरेपछि आफूहरु आफ्नो अधिकारको बारेमा सचेत भएको जानुकाले बताउनुभयो । पोखरामा ‘दिगो विकास लक्ष्य ६ हासिल गर्न दक्षिण एसियामा नागरिक सञ्जाललाई सवलीकरण गर्दै अधिकारका लागि अघि बढौं परियोजना’ अन्तर्गत लुमन्ती आवासका लागि सहयोग समूहले ‘पेशागत अधिकार, स्वास्थ्य र सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ को आयोजना गरिएको थियो ।

उक्त अभिमुखीकरण कार्यक्रममा सरसफाइकर्मीहरुले भोगिरहेको समस्या र समाधानका उपाय, श्रमिक अधिकार र नगरपालिकाको प्रावधान, सरसफाइकर्मीहरुको अवस्था विश्लेषण, सरसफाइकर्मीहरु वीचको एकता र संस्थागत विकास जस्ता बिषयमा छलफल गरिएको थियो ।


सोही अभिमुखीकरण कार्यक्रममा सरसफाइकर्मीको अधिकारको कुरा उठाउन पोखरा सरसफाइकर्मी सञ्जालको गठन गरिएको थियो । शोभा परियार संयोजक रहेको सञ्जालको सहसंयोजक तुल बहादुर गुरुङ हुनुहुन्छ । ‘हाम्रो अधिकारको लागि हामी सरसफाइकर्मीहरु एकता हुनुपर्दोरहेछ भन्ने बल्ल थाहा पायौं’ सहसंयोजक गुरुङ भन्नुहुन्छ ‘हाम्रो खास संगठन नभएकाले शोषणमा परेका रहेछौं, आफ्नो सेवा सुविधाका लागि एक्लै बोलेर नहुने रहेछ भन्ने त्यही कार्यक्रममा बोध भयो ।’

हाल पोखरा सरसफाइकर्मी सञ्जालको बैठक बेला बेलामा भईरहन्छ । उक्त बैठकमा सरसफाइकर्मीको सुरक्षित जीवन, स्वास्थ्य र हक अधिकारको बारेमा छलफल हुने गरेको उहाँले बताउनुभयो । आफ्ना हक अधिकारका बारेमा रोजगारदाता कम्पनीसँग पनि सघन कुराकानी हुँदै आएको उहाँले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार