
बर्दिया : बारबर्दिया नगरपालिका–२ कुमरागाउँस्थित शान्ति आधारभूत विद्यालयलाई ‘तीनतारा विद्यालय’ घोषणा गरिएको छ। बारबर्दिया नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि–२०८१ अन्तर्गतका सबै १० सूचक पूरा भएपछि लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विद्यालयलाई तीनताराको प्रमाणपत्र प्रदान गर्नुभयो।
समारोहमा मन्त्री तिमिल्सिनाले खानेपानी तथा सरसफाइ सुधारले विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य सुधारसँगै शैक्षिक उपलब्धि सहज रूपमा बढ्ने उल्लेख गर्दै उहाँले शिक्षकहरूले विषयगत ज्ञान मात्र नभई विद्यार्थीको समग्र विकासतर्फ पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो। सामाजिक तथा शैक्षिक क्षेत्रमा निरन्तर सुधारका लागि मन्त्रालय लागिरहेको उहाँको भनाइ थियो।
नगरप्रमुख छबिलाल थारुले स्वच्छ, सुरक्षित र संस्कारयुक्त विद्यालय निर्माणलाई नगरपालिका प्राथमिकतामा राख्दै प्रभावकारी कार्य भइरहेको बताउनुभयो। पाँचौँ विद्यालयका रूपमा शान्ति आधारभूत विद्यालय तीनतारा घोषणा हुनु नगरको गौरवको विषय भएको उल्लेख गर्दै उहाँले यसको दिगोपनामा विद्यालयले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले घोषणा कार्यक्रम अन्तिम चरण नभई निरन्तरताको सुरुवात रहेको बताउँदै नियमित कार्ययोजना लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “घोषणा जत्तिकै यसको स्थायित्व पनि महत्वपूर्ण छ,” उहाँले टिप्पणी गर्नुभयो।
वडा नं. २ का वडाध्यक्ष रामफेरन थारुले तीनतारा प्राप्तिमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गर्दै सहयोगको निरन्तरतामा आशा व्यक्त गर्नुभयो। वाटर एड नेपालका प्रबन्धक उमाशंकर यादवले मन्त्री तथा नगरप्रमुखको सक्रिय उपस्थितिले कार्यक्रम प्रति ऊर्जा थपेको उल्लेख गर्दै संस्थाको निरन्तर सहयोग र सक्रिय भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक रामकिशुन थारुले नगरपालिका, दातृ निकाय तथा परियोजना साझेदारहरूको सहयोगले विद्यालय तीनतारा घोषणा गर्न सक्षम भएको उल्लेख गर्दै दिगोपना प्रति विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रम युके एड र वाटर एड नेपालको आर्थिक सहयोग र राष्ट्रिय अपांग महासंघ तथा नेपाल प्रजनन स्वास्थ्य केन्द्रको प्रविधिक सहयोगमा बेस बर्दियाद्वारा सञ्चालित वासगेन परियोजनाको साझेदारीमा सम्पन्न भएको हो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर खत्रीको अध्यक्षता तथा शिक्षक प्रताप थारुको सञ्चालनमा सम्पन्न भएको हो।


195 पटक हेरिएको 

