
काठमाडौ : नेपाल नगरपालिका संघ (MuAN) का महासचिव नरुलाल चौधरीले मानव मलमूत्रको सही व्यवस्थापनका लागि ढल प्रणाली भन्दा मानव मलमूत्र प्रशोधन केन्द्र नै उत्तम हुने बताउनु भएको छ ।
नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (सिबिसान) को बीसौं बैठकमा उहाँले स्थानीय सरकारको स्रोत साधन अनुसार सञ्चालन र नियमन पनि गर्न सकिने र ढल प्रणालीको तुलनामा कम लागत हुने भएकाले मानव मलमूत्र व्यवस्थापन केन्द्र नै उत्तम हुने बताउनुभयो।
उहाँले घोराही उपमहानगरपालिकामा आफूले गर्दै आएको अस्थायी व्यवस्थापनको अनुभव सुनाउँदै प्रशोधन केन्द्र नभएको अवस्थामा पनि नियमनको लागि अधिकतम प्रयास भैरहेको बताउनुभयो।
ढल प्रणालीको माध्यमबाट मानवमलमूत्र व्यवस्थापन गर्न ठूलो जनशक्ति, वित्तिय स्रोत र प्रविधिको जरुरत पर्ने उहाँको भनाइ छ । ‘ढल प्रणालीको लागि ठूलो क्षेत्र चाहिने रहेछ, प्रशोधन गर्नका लागि यो सजिलो देखिँदैन, प्रशोधन नगरी विसर्जन गर्दा वातावरणीय प्रदुषण हुन्छ’ उहाँले भन्नुभयो ‘बरु सेप्टिक ट्याङ्कमा भएको लेदो पदार्थलाई सुरक्षित तरिकाले निकालेर सुरक्षित तरिकाले नै ढुवानी गरी प्रशोधन केन्द्रसम्म पुर्याएर प्रशोधन गर्न सजिलो छ ।’
उहाँले घोराही उपमहानगरपालिकाले मानव मलमूत्र व्यवस्थापन केन्द्रको विकल्प सोच्दै नसोचेको र प्रशोधन केन्द्र निर्माणका लागि संघीय सरकारले बजेट विनियोजन गरिसकेको बताउनुभयो।
‘हामी प्रशोधन केन्द्र निर्माणका लागि टेण्डरमा जाँदैछौं । यसका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालयसँग समन्वय भैरहेको छ’ उहाँले भन्नुभयो।
प्रशोधन केन्द्र निर्माण पछि घोराहीमा सरसफाइको सुरक्षित व्यवस्थापन हुने उहाँको भनाइ छ । अहिले पनि खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखाले सेप्टिक ट्याङ्क खाली गरी फोहोर व्यवस्थापन केन्द्रमा विसर्जन गर्दै आएको छ।
‘मानव मलमूत्रको व्यवस्थापन बाट अर्गानिक मल पनि बनाउन सकिने रहेछ, हामीले विभिन्न ठाउँको उदाहरणहरु हेरिसकेका छौं, घोराहीमा पनि प्रशोधन केन्द्र निर्माण भएपछि मल बनाउने योजना छ’ उहाँले भन्नुभयो ‘सबै विकास साझेदार संघ संस्थाहरुलाई हार्दिक आग्रह गर्दछौं ।’
घोराही उपमहानगरपालिका सहित देशभरिका सात वटा नगरपालिकामा वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम सञ्चालन भैरहेको छ ।
कार्यक्रम सञ्चालित नगरपालिकामा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजारहरु निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने, नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गर्ने र संस्थागत प्रारुप तयार गर्ने लगायत प्राविधिक सहयोग हुने संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) का राष्ट्रिय प्रोफेस्नल अफिसर (NPO) सुधा श्रेष्ठले बताउनुभयो। गेट्स फाउण्डेसनको वित्तिय व्यवस्थापनमा सञ्चालित यो कार्यक्रमको UN-Habitat कार्यकारी निकाय हो ।



385 पटक हेरिएको 

