
नगरकोट : नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले नगरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation -CWIS) सम्बन्धी पाँच वटा तालिम प्याकेज स्वीकृत गरेको छ ।
केन्द्रले वातावरण तथा जनस्वास्थ्य संस्था (ENPHO) को संयोजनमा तयार भएका ती तालिम सामग्रीहरू स्वीकृत गरिएको केन्द्रका कार्यकारी निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो।
स्वीकृत प्रशिक्षण प्याकेजहरू :
√ फिकल स्लज ट्रीटमेन्ट प्लान्टको डिजाइन (Training Manual)
√ स्लज ट्रीटमेन्ट प्लान्टको सञ्चालन तथा मर्मतसम्भार (Training Manual)
√ पेशागत स्वास्थ्य तथा सुरक्षा – Occupational Health and Safety (Training Manual)
√ कन्टेनमेन्ट इम्प्रुभमेन्ट (Training Manual)
√ सरसफाइमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण GESI (Training Manual)
यी तालिम प्याकेजहरूले नगरस्तरमा समावेशी सरसफाइ सेवाको सुधार गर्न महत्वपूर्ण प्रभाव पार्न सक्छन्। तालिम प्याकेजहरूले विभिन्न संघ संस्थाले दिने तालिममा एकरूपता कायम गर्न ठूलो सघाउ पुग्ने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो।
‘केन्द्रबाट स्वीकृत तालिम प्याकेजहरूले मानक (Standard) को रूपमा काम गर्छ। जसको आधारमा सबै संस्थाले एउटै सामग्री र मापदण्ड अनुसार तालिम सञ्चालन गर्नेछन’ उहाँले भन्नुभयो ‘एउटै संरचना, प्रविधि, परिभाषा र कार्यविधि प्रयोग भएपछि सन्देश, सीप र सिकाइमा समेत समानता कायम हुन्छ।’
प्रशिक्षकहरूले फरक–फरक तरिकाले सहजीकरण गर्ने सम्भावना नरहने र यसले गुणस्तर कायम हुने अपेक्षा गरिएको छ । तालिम प्याकेजहरुले स्थानीय तहदेखि संघीय तहसम्म नगरव्यापी समावेशी सरसफाइ अवधारणाको कार्यान्वयनलाई प्रभावकारी र परिणाममुखी बनाउने उहाँको विश्वास छ ।
तालिमले क्षमता अभिवृद्धि गर्ने र फिकल स्लज ट्रीटमेन्ट प्लान्टको डिजाइनदेखि मर्मत सम्भार सम्मका सीप विकास हुँदा मानव मलमूत्र व्यवस्थापन प्रभावकारी र सुरक्षित हुने एन्फोका प्रोग्राम म्यानेजर आश कुमार खाईतुले बताउनुभयो। occupational health and safety सम्बन्धी तालिमले सफाइकर्मीहरूको कार्यस्थल स्वास्थ्य र सुरक्षालाई बलियो बनाउने उहाँको भनाइ छ ।
कन्टेनमेन्ट इम्प्रुभमेन्ट र लैंगिक तथा सामाजिक समावेशीकरण सम्बन्धी प्याकेजले शौचालयको संरचनाको सुधार तथा लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने भएकाले समग्रमा स्वच्छ, दिगो र सबैका लागि समान सरसफाइ प्रणाली विकास गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
यस अघि राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र (NWSSRICDC) र वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) बीच खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रमा क्षमता विकास, ज्ञान व्यवस्थापन तथा प्रविधि आदान–प्रदानमा सहकार्य गर्न सहयोग सम्झौता (Agreement of Cooperation – AOC) भएको थियो।


380 पटक हेरिएको 

