
सिरहा : सिरहाको कर्जन्हा नगरपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरूलाई खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
विद्यालयले क्रिकेट जस्ता खेलकुद गतिविधि मार्फत विद्यार्थीहरूमा वास सम्बन्धी व्यवहार कसरी विकास र प्रवर्द्धन गर्न सकिन्छ भन्ने बारे स्पष्ट मार्गदर्शन गर्ने मुख्य उद्देश्यले अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा सुरक्षित खानेपानी, सरसफाइ र शौचालयको व्यवस्थापन तथा व्यक्तिगत स्वच्छताका मुख्य पक्षहरूबारे प्रशिक्षकले विस्तृत रुपमा प्राविधिक जानकारी प्रस्तुत गरेका थिए।

सत्रका दौरान सहभागीहरूले खेलकुदलाई सिकाइको माध्यम बनाउँदै विद्यार्थीहरूमा सकारात्मक बानी–व्यवहार विकसित गर्न सकिने सम्भावनाबारे छलफल गरेका थिए । क्रिकेट अभ्यासका विभिन्न चरणमा WASH सन्देश कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा पनि विद्यालयहरूले व्यावहारिक उपायहरू आदानप्रदान गरेका थिए ।
सत्रमा विद्यालयका प्र.अ. हरूले क्रिकेटको माध्यमबाट वास प्रवर्द्धन गर्ने सबल नेपालको प्रयासलाई प्रभावकारी र सम्मानजनक पहलको रूपमा प्रशंसा गर्नुका साथै विद्यालयहरूले कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो विद्यालयलाई वास मैत्री र नमूना विद्यालयका रूपमा विकसित गर्ने प्रतिज्ञा समेत गरेका थिए ।
सबल नेपालले आगामी दिनहरूमा विद्यालय, शिक्षक तथा स्थानीय तहसँग समन्वय गर्दै वास प्रणाली सुदृढीकरण र दिगो स्वच्छता व्यवहार विकासमा निरन्तरता गर्ने लक्ष्य रहेको छ ।

सबल नेपालले क्रिकेट फर वास अभियान वेल्टहंगरहिल्फे (WHH) को सहयोग एबं एमसीसी फाउन्डेसन तथा क्रिकेट विदाउट बाउन्ड्री को सहकार्यमा संचालनमा ल्याएको छ।
यस अभियानले विद्यालयमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको अभ्यासलाई प्रोत्साहन गर्दै विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनलाई व्यवहारमै आधारित वास अभ्यास अपनाउन प्रेरित गर्ने लक्ष्य लिएको छ। क्रिकेटलाई सिकाइको माध्यमका रूपमा उपयोग गर्दै विद्यार्थीमा अनुशासन, टोली भावना र नियमितता जस्ता मूल्यहरूलाई स्वच्छता व्यवहारसँग जोडेर दीर्घकालीन परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
यो सँगै सबै विद्यार्थी, शिक्षक र कर्मचारीले सुरक्षित पानी, सफा शौचालय र व्यक्तिगत स्वच्छताको अभ्यास सहज रूपमा गर्न सक्ने वास मैत्री वातावरण निर्माण गर्न कार्यक्रम सहयोगी बन्नेछ । विद्यालयबाट सुरु भएको स्वच्छता प्रवर्द्धन गतिविधिले अभिभावक तथा स्थानीय समुदायमा सकारात्मक सन्देश पुर्याई सामुदायिक तहमा पनि जागरुकता र व्यवहार परिवर्तनलाई समर्थन गर्नुका साथै स्थानीय तह, विद्यालय र साझेदार संस्थाबीचको समन्वय बलियो बनाइ वास प्रवर्द्धनका प्रयासलाई दिगो बनाउने उद्देश्य रहेको छ।
वेल्टहंगरहिल्फे (WHH) सहयोगमा सबल नेपालद्वारा सञ्चालन भइरहेको क्रिकेट फर वास (Cricket for WASH) कार्यक्रम अन्तर्गत अभिमुखीकरण आयोजना गरिएको हो।



338 पटक हेरिएको 

