
हेटौंडा : १२ वर्षअघि मकवानपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर मकवानपुरका दुई गाउँपालिकाका २० प्रतिशत भन्दाबढी घरधुरी अझै शौचालयविहीन छन् ।
जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाका झण्डै दुई हजार घरधुरीका परिवार जंगल र खोल्सीलाई शौचालयको रुपमा प्रयोग गरिरहेका छन् । राक्सिराङ गाउँपालिकाका ५ हजार ४४ घरधुरीमध्ये १ हजार ३ घरधुरी शौचालयविहीन छन भने कैलाश गाउँपालिकाका ३ हजार ९ सय ५ घरधुरीमध्ये ७ सय ८१ घरमा शौचालय छैन ।
दुवै गाउँपालिकामा समेटिएका साविकको गाविसहरुलाई तत्कालीन जिल्ला विकास समिति मकवानपुरले २०६९ सालको विभिन्न मितीमा गाविसहरुलाई खुला दिसामुक्त घोषणा गरिएको थियो । घोषणा गर्ने क्रममा पनि ती दुई गाउँपालिकामा समेटिएका साविकका केही गाविसका घरधुरीमा शौचालय बनेका थिएनन्, बनाउने शर्तमा खुला दिसामुक्त घोषणा गरिएको थियो ।
जिल्लालाई खुला दिसामुक्त घोषणा अभियानका सक्रिय भूमिका खेलेको राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले भन्नुभयो ‘कैलाश र राक्सिराङ गाउँपालिकामा समेटिएका साविकका गाविस भार्ता, डाडाखर्क, सरिखेत, खैराङ, काकडा अत्यन्त दुर्गम क्षेत्रका वासिन्दाको घरमा शौचालय बनेकै थिएन, बनाउने शर्तमा खुला दिसामुक्त घोषणा गरिएको थियो,ती घरहरुमा अहिलेसम्म पनि शौचालय बनेका रहेनछन् ।’ मकवानपुर जिल्लालाई २०७० साउन ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।
चेपाङ समुदायको बाहुल्यता रहेको कैलाश र राक्सिराङ गाउँपालिकाले सबै घरमा शौचालय अनिवार्य रुपमा निर्माण गर्नका लागि शौचालय कार्ड वितरण गरेको छ । जुन घरधुरीसँग शौचालय कार्ड छ ,त्यो घरमा वसोवास गर्ने वडा र पालिकाले दिनु पर्ने सिफारिस दिने, नभएकालाई सिफारिस नदिने अभियान चलाएको छ ।
‘वडा कार्यालय वा पालिकामा कुनै सिफारिस लिन आउँदा शौचालय कार्ड साथमा लिएर आउनुपर्ने बाध्यकारी नीति बनाएका छौं’, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो, ‘घरमा शौचालय भएका र बनाएकाहरुलाई वडा कार्यालयले अनुगमन गरेर शौचालय कार्ड दिने गरेको छ ।’
राक्सिराङ गापासँग जोडिएको कैलाश गाउँपालिकाले पनि शौचालय कार्ड वितरण गर्ने गरेको छ । शौचालय नभएका घरधुरीका परिवारलाई कुनै पनि सिफारिस नगर्ने नीति लिएको छ । ‘शौचालय बनाउनका लागि पालिकाले आफैंले सहयोग गर्ने र दाता खोजेर सहयोग जुटाउने दुवै कार्य गर्दै आइरहेको गापाका अध्यक्ष लोकबहादुर मोक्तानले बताउनुभयो । पालिकाका सवै घरधुरीमा शौचालय बनाउने अभियान चलाएका छौं,’ उहाँले भन्नुभयो ।
गरिबी र चेतनाको कमी कारणले पालिकाका सबै घरमा शौचालय बन्न नसकेको ठम्याई राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार कापरीको रहेको छ । ‘बर्सेनि झाडापखालाका अधिकांश रोगी शौचालय नभएका परिवारका सदस्य हुने गरेका छन्’ उहाँले भन्नुभयो। कैलाश गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने खिर्कीका २० घरमा शौचालय निर्माण गर्नका लागि सामग्री उपलब्ध गराएको छ ।
सीमान्तकृत चेपाङ समूदाय र तामाङ जातीको बाक्लो बसोबास रहेको उक्त स्थानमा शौचालय निर्माणका लागि बाल विकास कार्यक्रम नेपालले २० घरधुरीलाई शौचालय निर्माण सामाग्री सहयोग गरेको खबर कान्तिपुरले प्रकाशन गरेको छ । सामाग्री हस्तान्तरण गरेको २५ दिनभित्र शौचालय निर्माण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । ‘जथाभावी दिसा पिसाबले विशेष गरी पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालय निर्माण अभियानलाई चलाएका छौ,’ कैलाश गापा उपाध्यक्ष बालकुमार मल्लले बताउनुभयो ।


212 पटक हेरिएको 

