
गोरखा : गोरखाको गण्डकी गाउँपालिकाको वडा नं. ५ मा देशकै पहिलो जलाशययुक्त खानेपानी आयोजना निर्माण सुरु भएको छ । बर्षैभरि पिउने पानी र अन्य घरेलु उपयोगका लागि नियमित आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले कुलोबाँध जलाशय खानेपानी आयोजनाको निर्माण सुरु गरिएको हो ।
बगेर खेर जाने पानी र बर्षातको पानीलाई समेत संकलन गर्न बाँध निर्माण गरी संकलित पानीलाई खानेपानी लगायत सिँचाइ तथा भूमिगत पानीको पुनर्भरण गराउने उद्देश्यले निर्माण भैरहेको यो खानेपानी आयोजना खानेपानी तथा ढल व्यवस्थापन विभागकै पहिलो खानेपानी आयोजना हो ।

जलवायु परिवर्तनको असरबाट जोगिन र अनुकुलित बनाउँदै लैजानका लागि जलाशययुक्त खानेपानी आयोजना निर्माण सुरु गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.कमलराज श्रेष्ठले बताउनुभयो । “जलवायु परिवर्तनका कारण पानी पर्ने प्रणालीमा फेरबदल आएको छ । बर्षभरिमा पर्ने पानीको घनत्व त्यत्ति नै रहे पनि छोटो समयमा धेरै पानी पर्ने र जमिनले सोस्न नपाउँदा बगेर जाने, यसले गर्दा बाढी पहिरोले धनजनको क्षति गराउने जस्ता समस्या उत्पन्न भैरहेको छ” महानिर्देशक श्रेष्ठ भन्नुहुन्छ “यस्तो समस्यालाई न्यूनीकरण गर्न बस्तीको नजिकै ठूलो मात्रामा बर्षातको पानी संकलन तथा प्रशोधन गरी वितरण गर्न जलाशययुक्त खानेपानी आयोजना निर्माण गर्न सुरु गरिएको हो ।”
जलाशययुक्त खानेपानी आयोजना निर्माणको कामले भूमिगत पानीको पुनर्भरण भै पानीका मूलहरु जोगाउन सकिने, मूल सुकेर खानेपानी अभाव झेलिरहेका बस्तीहरुमा खानेपानीको सहज आपूर्ति गर्न सकिने र बस्तीभन्दा धेरै टाढाबाट लिफ्टिङ गर्दा लाग्ने लागत घटाउन सकिने उहाँको अपेक्षा छ ।

“सात आठ स्टेजको पम्पिङ गर्दा दिगो खानेपानी वितरणको काम चुनौतीपूर्ण भएको छ, राज्यले यही खालको नीति लिएर जलाशययुक्त खानेपानी आयोजनाहरु निर्माणको कामलाई प्रबर्द्वन गर्न सकेमा यो बहुउपयोगी हुनेमा दुईमत छैन” उहाँले भन्नुभयो।
यस्तो प्रविधिलाई देशैभरि विस्तार गर्ने खानेपानी तथा ढल व्यवस्थापन विभागको योजना छ । यसका लागि विभागले सोमबार मात्र देशैभरिका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुखहरुलाई गण्डकी गाउँपालिका वडा नं. ५ स्थित ठूलोबाँध जलाशययुक्त खानेपानी आयोजनाको अवलोकन गराएको छ ।

जलाशययुक्त खानेपानी आयोजनाको निर्माण कसरी गर्न सकिन्छ ? कस्तो खालको भौगोलिक अवस्थितिका लागि यो प्रविधि उत्तम हुन्छ ? जलवायु परिवर्तनका असरहरुबाट जोगिन यो कसरी प्रभावकारी प्रविधि बन्न सक्छ भन्ने अध्ययन लागि यो अवलोकन भ्रमणको आयोजना गरिएको महानिर्देशक श्रेष्ठले बताउनुभयो।

यस्तो बन्नेछ, जलाशययुक्त कुलो बाँध खानेपानी
कुलो बाँध, पानीको सानो स्रोत हो । यो चौबीसै घण्टा बगिरहन्छ । यो स्रोतको पानी अहिले पनि वडा नं. ५ का बासिन्दाले खानेपानी लगायत अन्य प्रयोजनका लागि उपयोग गरिरहेका छन् ।
यसरी बगिरहेको कुलो बाँध र बर्षातको पानीलाई रोक्नका लागि ४३ मिटर लामो बाँध निर्माण गरिनेछ । जगमा १२.५ मिटर चौडाईको बाँध १७ मिटर उचाइको बनाईनेछ ।

यसरी पानीलाई बगिरहनबाट रोकेपछि १२० मिटरको जलाशय बन्नेछ । जहाँ ५८ लाख ९८ हजार ६०० लिटर पानी जम्मा हुनेछ । यसरी जम्मा गरिएको पानीलाई प्रशोधन गरी गण्डकी गाउँपालिका–५ का १ हजार भन्दा बढी जनसंख्यालाई वितरण गर्ने योजना रहेको छ ।
कुलोबाँध जलाशययुक्त खानेपानी आयोजनाको ठेक्का रकम ९ करोड २८ लाख ५५ हजार १३३ रुपैयाँ १८ पैसा रहेको छ ।
आयोजना सम्पन्न भएपछि जल स्रोतहरू बढ्ने अपेक्षा गरिएको छ । जसले गर्दा गण्डकी गाउँपालिकाका थप क्षेत्रहरूमा पानी आपूर्ति गर्न मद्दत पुग्नेछ भने गण्डकी गाउँपालिकाको वडा नं. ५ का बासिन्दाले सुरक्षित र पर्याप्त पिउने पानी उपभोग गर्न पाउनेछन् ।

जलाशय र पानी भण्डारणको उचित व्यवस्थापनले विपद् जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्ने खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रत्न लामिछानेले बताउनुभयो। ‘जहाँ वर्षाको पानी र नदीका स्रोतहरू मौसमी हुन्छन्, त्यहाँ जलाशययुक्त खानेपानी परियोजनाहरूले सर्वसाधारणको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउन सकिन्छ’ उपमहानिर्देशक लामिछानेले भन्नुभयो ‘जलाशययुक्त खानेपानी आयोजनाहरु खानेपानीको आपूर्तिको लागि मात्र नभै कृषि र वातावरणीय सन्तुलनको दृष्टिले पनि महत्वपूर्ण छ।’

आयोजना स्थलका थप फोटोहरु :




377 पटक हेरिएको 

