
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाले सरसफाइ र खानेपानी प्रवर्द्धनका लागि अपनाएको ‘शौचालय कार्ड’ प्रणाली स्थानीय तहमा व्यवहार परिवर्तनका लागि प्रभावकारी भएको छ । शौचालय भए मात्र शौचालय कार्ड पाइने, शौचालय नभए कार्ड नपाइने र कार्ड बिना स्थानीय सरकारले उपलब्ध गराउने सेवा–सुविधामा पहुँच नहुने व्यवस्थाले शौचालय निर्माण, यसको नियमित प्रयोग र घर घरमा खानेपानीको धारा विस्तारमा सकारात्मक प्रभाव देखिएको हो ।
“वास प्रणाली सुदृढीकरण परियोजनाको सिकाई आदान प्रदान सम्बन्धी राष्ट्रिय कार्यशाला” मा भएको प्यानल छलफलमा कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले शौचालय कार्डलाई प्रोत्साहन र जिम्मेवारी दुवैको औजारका रूपमा प्रयोग गरिएको बताउनुभयो । वास प्रणाली सुदृढीकरणका लागि स्थानीय नेतृत्व बिषयमा भैरहेको गरिएको प्यानल छलफलमा उहाँले भन्नुभयो “हामीले जरिवाना र दण्डको भाषा भन्दा जिम्मेवारी र अधिकारसँग सरसफाइलाई जोड्ने प्रयास गरेका हौं ।”
गाउँपालिकाले शौचालय निर्माण गरी प्रयोगमा ल्याएका परिवारलाई मात्र शौचालय कार्ड वितरण गर्दै आएको छ। कार्ड नहुने परिवारले स्थानीय सरकारबाट प्राप्त हुने केही सेवा–सुविधा उपयोग गर्न नपाउने स्पष्ट व्यवस्थाले समुदायमा सरसफाइप्रतिको चासो बढाएको छ। यसले शौचालय ‘छ’ भन्ने मात्र होइन, ‘प्रयोग हुन्छ कि हुँदैन’ भन्ने विषयलाई समेत प्राथमिकतामा ल्याएको छ।
अनुगमनका क्रममा प्रयोगमा नआएका शौचालय भेटिएमा सचेतना, परामर्श र प्राविधिक सहयोग मार्फत सुधार गरिँदै आएको अध्यक्ष मुक्तानले बताउनुभयो। यसले गर्दा संरचना निर्माणसँगै व्यवहार परिवर्तनलाई पनि थप टेवा पुगेको उहाँको भनाइ छ ।
प्यानल छलफलमा मकवानपुरको कैलास गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानका साथै सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकाल, सिरहाको कर्जन्हा नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठ, अग्नीसाइर कृष्णासबरन गाउँपालिका सप्तरीका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले स्थानीय तहमा वास प्रणाली सुदृढीकरण परियोजना मार्फत भएका काम, वास प्रणालीको सुदृढीकरणका लागि स्थानीय तहले गरिरहेको अभ्यास र चुनौतीका बिषयमा आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले भने स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधारको दिगो उपयोगका लागि प्रणाली सुदृढीकरण महत्वपूर्ण पक्ष भएकाले हरेक स्थानीय तहको ध्यान त्यसतर्फ जानुपर्ने बताउनुभयो।
स्थानीय सरकारको सहकार्यमा WELT HUNGER HILFE (WHH) तथा माहुली सामुदायिक विकास केन्द्रको साझेदारीमा सप्तरीका पाँच पालिका र सबल नेपालको साझेदारीमा सिरहाका पाँच पालिकामा Up-Scaling WASH System Strengthening Spproach in The Terai Region of Nepal परियोजना कार्यान्वयन भैरहेको छ ।
मकवानपुरको दुईवटा पालिका कैलाश गाउँपालिका र राक्सिराङमा भने नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आर.आर.एन.) ले मकवानपुरका पहाडी क्षेत्रमा वास प्रणाली सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजना कार्यान्वयन गरिरहेको छ ।
राष्ट्रिय कार्यशालामा सप्तरी, सिरहा र मकवानपुरका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वाग्मती प्रदेश सरकार तथा मधेस प्रदेश सरकारका खानेपानी तथा सरसफाइ हेर्ने मन्त्रालयका प्रतिनिधी, प्रदेश योजना तथा नीति आयोगका पदाधिकारी, स्थानीय तहमा सञ्चालित विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख तथा प्रतिनिधी, वास उद्यमीहरुको उपस्थिति थियो ।



427 पटक हेरिएको 

