
काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता (WASH) प्रणाली सुदृढीकरण परियोजनाको सिकाइ आदानप्रदान सम्बन्धी वृहत राष्ट्रिय कार्यशाला काठमाडौमा सम्पन्न भएको छ। वेल्टर हंगर हिल्फे (WHH) को आयोजनामा तीनै तहको सरकार, विकास साझेदारहरु, दातृ निकायहरु, गैरसरकारी संस्था, निजी क्षेत्र तथा सामुदायिक संस्थाहरू लगायत विभिन्न वास सरोकारवालाहरूको सहभागितामा मकवानपुर, सिरहा र सप्तरी जिल्लामा सञ्चालित ‘वास प्रणाली सुदृढीकरण परियोजना’ को सिकाई आदानप्रदान गरिएको हो।
स्थानीय सरकारको सहकार्यमा Welt Hunger Hilfe (WHH) तथा माहुली सामुदायिक विकास केन्द्रको साझेदारीमा सप्तरीको पाँच वटा पालिका र सबल नेपालको साझेदारीमा सिरहाको पाँच पालिकामा Up-scaling WASH system strengthening approach in the terai region of Nepal परियोजना कार्यान्वयन भैरहेको छ ।
मधेश प्रदेशका यी दशवटा स्थानीय तहमा समुदायको संलग्नता, वास प्रणाली सुदृढीकरण तथा वकालत मार्फत खानेपानी तथा सरसफाइ सेवाको उपलब्धता र दिगो व्यवस्थापन प्रवर्द्धनको काम भैरहेको छ ।
यस्तै मकवानपुरको दुईवटा पालिकामा WHH ले नेपाल ग्रामीण पुनःनिर्माण संस्था (RRN) को साझेदारीमा मकवानपुरका पहाडी क्षेत्रमा वास प्रणाली सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजना कार्यान्वयन गरिरहेको छ ।
मकवानपुर जिल्लाका राक्सिराङ र कैलाश गाउँपालिकामा सञ्चालित कार्यक्रमहरुबाट सुदृढ वास प्रणाली तथा दीगो व्यवहार परिवर्तन मार्फत सीमान्तकृत समुदायहरूको स्वास्थ्य र पोषण अवस्थामा सुधार आएको WHH का वास विज्ञ बिजु डंगोलले बताउनुभयो ।
यसरी Welt Hunger Hilfe (WHH) ले पहाडी तथा तराई दुवै क्षेत्रमा WASH प्रणाली सुदृढीकरण परियोजना मार्फत खानेपानी र सरसफाइ क्षेत्रको विकास र प्रबर्द्वनका लागि योगदान पुर्याउँदै आएको छ ।WHH ले यी तीन जिल्लामा वास प्रणाली सुदृढीकरण परियोजना मार्फत प्राप्त गरेको सफलता, सञ्चालित कार्यक्रमहरु, सिकाई, अनुभव र अबको योजनाका बिषयमा कार्यशालामा व्यापक रुपमा छलफल भयो ।
कार्यशालामा वास प्रणाली सुदृढीकरणको यात्रा बिषयमा डब्लुएचएचका वास विशेषज्ञ बिजु डंगोलले प्रस्तुतीकरण गर्नुभयो ।

यस्तै वास प्रणाली सुदृढीकरण र व्यवहार परिवर्तन को बिषयमा नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.) का कार्यक्रम प्रबन्धक, निराजन पोखरेलले प्रस्तुतीकरण गर्नुभयो ।
उहाँले कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा खानेपानी र सरसफाइको पहुँच नभएको, आधार सर्वेक्षणमा ६८% घरपरिवारसँग पाइपलाइन खानेपानीको पहुँच नभएको र ३०% घरपरिवारसँग शौचालय सुविधा नभएको तथा तामाङ तथा चेपाङ समुदायको बसोबास रहेको, भौगोलिक रुपमा पनि कठिनाई रहेकाले तीन दुई गाउँपालिका परियोजना सञ्चालनका लागि चयन गरिएको बताउनुभयो।

मधेस प्रदेशको १० वटा स्थानीय तहमा सञ्चालित वास प्रणाली सुदृढीकरणको बिषयमा प्रस्तुतीकरण गर्दै माहुली सामुदायिक विकास केन्द्र एमसीडीसीका परियोजना संयोजक, प्रताप श्रेष्ठले १० वटै पालिकामा अर्धवार्षिक रूपमा खानेपानी र सरसफाइको आधारस्तम्भ (वास बिल्डिङ ब्लक ) को विश्लेषण अभ्यास हुँदै आएको बताउनुभयो ।

उहाँले परियोजना सञ्चालित ६ वटा पालिकामा खानेपानीको गुणस्तर परिक्षण गर्न लघु प्रयोगशालाहरु स्थापना गरिएको बताउनुभयो।
उहाँका अनुसार १० वटै नगरपालिकाहरूले खानेपानी तथा सरसफाइ ऐन, नियमावली निर्देशिका र N-WASH अनुरुप खानेपानी, सरसफाइ तथा स्वच्छता (वास प्लान) तयार गरी कार्यान्वयन गरिरहेका छन् ।
उहाँले १५६६ वटा शौचालय निर्माण भएको र ती मध्ये ३८ प्रतिशत शौचालय समुदायकै पहल र लगानीमा निर्माण सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार १३६ टोलहरु समुदायको अगुवाईमा पूर्ण सरसफाइ अभियान मार्फत सफा र स्वच्छ समुदाय घोषणा भएका छन्, ती टोलहरुले कुल ६ हजार ६८६ घरधुरीलाई समेटिएको छ ।
उहाँले परियोजना अन्तर्गत अभ्यास गरिएका केही नयाँ प्रयोगहरु समेत कार्यशालामा प्रस्तुत गर्नुभयो ।

कार्यशालामा WHH र साझेदारहरूले प्रस्तुतीकरण गरेपछि प्रश्नोत्तर समेत गरिएको थियो ।

कार्यशालामा सञ्चालन गरिएको Local Leader’s Talk : Local Leadership in Strengthening WASH Systems बिषयको प्यानल छलफलमा स्थानीय तहका प्रमुख तथा उप-प्रमुखहरुले WASH प्रणाली सुदृढीकरणमा आफ्नो वास्तविक अनुभव, चुनौतीहरू र सफलता कथाहरू प्रस्तुत गरेका थिए ।

यस्तै स्थानीय तहको कार्यक्रमहरुलाई सफलताको चुलीमा पुर्याउन योगदान दिएका पात्रहरु केन्द्रित “WHERE CHANGE BEGINS”: Ensure Safe Water, Sanitation, and Hygiene – Roles of Schools, WSUCS, and Communities बिषयको छलफल पनि भएको थियो । जसमा सफलता प्राप्त गर्न गर्नुपरेका संघर्ष, चुनौती र सफलता हासिल गरेपछिको आनन्दका बिषयमा आ आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा डब्लु.एच.एच.का कन्ट्री डाइरेक्टर शाकेब नाबीले नेपालमा सन् २०१२ देखि नै डब्लु.एच.एच.ले सीमान्तकृत समुदायमा खानेपानी, सरसफाइ र स्वच्छताको पहुँच पुर्याउन पूर्वाधार निर्माण र प्रणाली सुदृढीकरणमा काम गरिरहेको बताउनुभयो । परियोजना सफल बनाउन स्थानीय समुदायको सक्रियता, साझेदार संस्थाहरुको सहकार्य र स्थानीय सरकारको नेतृत्वदायी भूमिकाको प्रसंशा गर्दै उहाँले आगामी दिनमा समेत स्थानीय सरकारको साथ सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो।

कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव एवं कार्यक्रमका प्रमुख अतिथि मीना श्रेष्ठले डब्लु.एच.एच.ले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विकासका लागि पुर्याएको योगदान प्रसंशा गर्दै आगामी दिनमा पनि सरकारको साथ रहने बचनबद्धता व्यक्त गर्नुभयो। उहाँले तराई र पहाडमा एउटै खाले संरचनाले काम नदिने भएकाले तराईको विशिष्ट अवस्थालाई ध्यानमा राखेर संरचना निर्माण गर्न पनि सुझाव दिनुभयो।

कार्यक्रममा मधेस प्रदेशको योजना तथा नीति आयोगका पूर्व उपाध्यक्ष डा.सोहन साह, मधेस प्रदेश, खानेपानी, उर्जा तथा सिंँचाई मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर लक्ष्मी पन्त, नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना, सिरहाको कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका, गोलबजार नगरपालिका, कल्याणपुर नगरपालिका, बिष्णुपुर नगरपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, बिष्णुपुर नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, अग्नसाइर कृष्णासबरन गाउँपालिका र मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता थियो ।



473 पटक हेरिएको 

