नदी किनारमा फोहोर जलाउनेलाई जेन-जी समूहले गरे कार्वाहीको माग

  वास खबर समाचारदाता  166 पटक हेरिएको

चितवन : नारायणी नदी किनारमै फोहोर जलाइएको घटनामा दोषीमाथि कारबाही नभएको भन्दै चितवनको जेन–जी समूहले कडा आपत्ति जनाएको छ । खेलकुद तथा व्यापारिक महोत्सवपछि उत्पन्न फोहोर नदी किनारमै जलाइएको विषयमा जेन–जी समूह र बेटर चितवनले आइतबार भरतपुर महानगरपालिकामा पुनः ज्ञापनपत्र बुझाउँदै तत्काल कारबाहीको माग गरेका छन् ।

चितवन जिल्ला खेलकुद विकास समितिले कात्तिक १८ देखि मंसिर २ सम्म नारायणी नदी किनारमा आयोजना गरेको महोत्सवपछि फोहोर व्यवस्थापन नगरी नदी किनारमै थुपारेर जलाइएको आरोप उनीहरूको छ । घटनाबारे पहिलोपटक उजुरी दिएको एक महिना बितिसक्दा पनि कुनै ठोस कारबाही नदेखिएपछि पुनः दबाबस्वरूप पत्र बुझाइएको बेटर चितवनका संस्थापक इन्जिनियर सागर कार्कीले बताए ।

“महोत्सव सकिएको महिना दिनभन्दा बढी भइसक्यो । फोहोर त्यहीँ जलाइयो । हामीले मंसिर ८ गते नै कारबाहीका लागि निवेदन दिएका थियौं, तर अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको देखिएन,” कार्कीले भने ।

ज्ञापनपत्रमा नदी किनारमा फोहोर जलाउने कार्यमा संलग्नलाई ४८ घण्टाभित्र कारबाहीको दायरामा नल्याइए नागरिक तहबाट सर्वोच्च अदालत, संवैधानिक निकाय र अन्य कानुनी माध्यममार्फत अघि बढ्ने चेतावनी दिइएको छ । पत्र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई बुझाइएको हो ।

पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ९ गते साँझ ५ बजेभित्र कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । “हामी घटनाबारे मिहिन ढंगले अध्ययन गरिरहेका छौं । पूर्वाग्रहका आधारमा कारबाही गर्‍यो भन्ने आरोप नआओस् भनेर केही समय लिएका हौं,” उहाँले भन्नुभयो । पुस ८ गते नगरसभा सम्पन्न भएपछि आवश्यक ‘एक्सन’ लिने उहाँको भनाइ छ ।

बेटर चितवन र जेन–जी समूहका अनुसार खर्च घटाउने उद्देश्यले महोत्सवपश्चात् उत्पन्न फोहोरलाई व्यवस्थित रूपमा व्यवस्थापन नगरी विभिन्न स्थानमा थुपारेर जलाइएको हो । धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिले अत्यन्त संवेदनशील नारायणी नदी क्षेत्रमा यस प्रकारको गतिविधि गम्भीर लापरबाही भएको उनीहरूको ठहर छ ।

महानगरलाई बुझाइएको पत्रमा दोषीलाई दण्ड तथा जरिवाना गर्न, घटनाबाट नदी क्षेत्रमा भएको वातावरणीय क्षतिको मूल्यांकन गरी आयोजकबाटै क्षतिपूर्ति भराउन तथा भविष्यमा यस्ता कार्यक्रम आयोजना गर्दा फोहोर व्यवस्थापन र सुरक्षित विसर्जनका लागि आयोजकलाई पूर्वप्रतिबद्ध गराउन माग गरिएको छ ।

यसबीच, फोहोर जलाइएको विषय सार्वजनिक भएपछि महोत्सव आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले भने उक्त घटना समितिबाट नभएको दाबी गरेको छ । समितिका अध्यक्ष राजन कार्कीले मंसिर ९ गते जारी गरेको विज्ञप्तिमा फोहोर संकलन गरेर राखिएको स्थानमा रातिको समयमा अज्ञात व्यक्तिले आगो लगाएको उल्लेख छ ।

घटनाका कारण समितिको बद्नाम भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न आफूहरू पनि तयार रहेको समितिको भनाइ छ । तर घटना भएको एक महिना बितिसक्दा पनि छानबिन वा कारबाहीमा ठोस प्रगति नदेखिएको भन्दै नागरिक समूहहरूले प्रश्न उठाएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार