वास प्रणाली सुदृढीकरण सम्बन्धी कार्यशाला सम्पन्न

  वास खबर सम्बाददाता  273 पटक हेरिएको


काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) प्रणाली सुदृढीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । एजेण्डा फर चेन्ज (Agenda for Change) नेपाल च्याप्टरले आफ्ना सदस्य संस्थाहरुको लागि कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा खानेपानी, सरसफाइ, स्वच्छता र संस्थागत खानेपानी, सरसरफाइ तथा स्वच्छता गरी ४ समूहमा विभाजन भई हरेक समूहले वास प्रणालीहरुको आधार स्तम्भहरुको सबल (Strength), दुर्वल (Weak), अवसर (Opportunity) र जोखिम अर्थात खतरा (Threat) -SWOT विश्लेषण गरिएको थियो।

दुई दिनसम्म SWOT विश्लेषण गरेपछि कार्यशालाको अन्त्यमा दुर्वल, अवसर र जोखिममा रहेका बिषयवस्तुलाई क्रियाकलापमा ढालेर कार्ययोजना बनाउने सम्मको काम भएका छन् । एजेण्डा फर चेन्जले यस अघि नै पाँच बर्षको मार्गचित्र तयार पारी पाँच बर्षभित्र गर्ने क्रियाकलाप र उद्देश्यहरु तथा रणनीतिहरु तय गरिसकेको छ ।

कार्यशालामा एजेण्डा फर चेन्ज, नेपाल च्याप्टरका संयोजक सीमा रजौरियाले उक्त मार्गचित्रका बारेमा समेत प्रस्तुतीकरण गर्नुभएको थियो। गत भदौ ४ र ५ गते संस्थाका सदस्यहरुको सहभागितामा पाँच बर्षे मार्गचित्र (Road Map) तयार पारेको थियो ।

एजेण्डा फर चेन्जले संस्थागत सुदृढीकरण, वित्तीय व्यवस्था र सेवा प्रदायकका मोडेलहरू र पूर्वाधारहरुलाई आफ्नो पाथ वे मानेको छ ।

सदस्य संस्थाहरूको दक्षता/क्षमताको समेत नक्साङ्कन गरी एजेण्डा फर चेन्जले उक्त पाथवे अन्तर्गत रहेर आगामी दिनमा संघ, प्रदेश तथा स्थानीय तहमा गरिने क्रियाकलापहरुको समेत सूची तयार पारिसकेको छ । मार्ग चित्र अनुसार अगाडि बढ्नका लागि वास प्रणाली सुदृढीकरण कार्यशाला अति उपयोगी भएको संयोजक रजौरियाले बताउनुभयो ।


एजेण्डा फर चेन्ज (ग्लोबल) को कार्यकारी समिति सदस्य बिजु डंगोलले नेपाल च्याप्टरको तर्फबाट आफू एजेण्डा फर चेन्ज (ग्लोबल) को सदस्य भएको नाताले पनि नेपालसँग धेरै अवसरहरु रहेको बताउनुभयो।

कार्यशालामा एजेण्डा फर चेन्ज, नेपाल च्याप्टरका सदस्य मध्येका एक खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले एकताको बल ठूलो हुने भएकाले सामूहिकतामा काम गर्दा ठूलो परिणाम मिल्ने बताउनुभयो । उहाँले बिगतमा खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता भए पनि वास प्रणाली सुदृढीकरणमा ध्यान दिनुपर्ने अबको आवश्यकता रहेको बताउनुभयो ।

कार्यशालाको सहजीकरण खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा.रजित ओझाले गर्नुभएको थियो।

एजेन्डा फर चेन्ज (Agenda for Change) सन् २०१५ मे महिनामा स्थापना भएको हो । यो संस्था समान उद्देश्य र सोच भएका संस्थाहरू (सदस्यहरू) बीचको एक सहकार्य हो, जसले साझा सिद्धान्तहरू र दृष्टिकोणहरूलाई अंगीकार गर्दछ ।

एजेण्डा फर चेन्जले राष्ट्रिय र स्थानीय सरकारलाई सहयोग गर्दै दिगो विकास लक्ष्य ६ मा निर्दिष्ट गरिएका खानेपानी, सरसफाइ र स्वच्छता (WASH) प्रणाली सुदृढीकरणका लागि वकालत र समर्थन गर्ने काम गर्दछ ।

एजेण्डा फर चेन्जको मुख्यालय अमेरिकामा रहेको छ। विश्वका करिब २५ देशमा एजेण्डा फर चेन्जको स्थायी च्याप्टरहरु बनेका छन्।

एजेण्डा फर चेन्ज नेपाल च्याप्टरमा वाटर एड नेपाल, केयर नेपाल, अक्सफाम नेपाल, टीडिएच फाउण्डेसन, डब्लु.एच.एच., हेल्भेटास नेपाल, सीमावि, फेडवासन र वास खबर गरी ९ वटा संस्थाहरु आवद्ध छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार