
काठमाडौं: टुकुचा खोलाको पानीलाई प्रशोधन गरी स्वच्छ बनाउने उद्देश्यले निर्माण भैरहेको फोहोरपानी प्रशोधन केन्द्र निर्माणको कामले तीब्रता पाएको छ । केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङले आयोजना स्थलको निरीक्षण गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी लिनु भएको थियो। निरीक्षणका क्रममा मन्त्री घिसिङले समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएपछि कामले तीब्रता पाएको हो ।
नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति मार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत प्रशोधन केन्द्र निर्माणको काम भैरहेको छ।
एसियाली विकास बैङ्क ९ब्म्द्य० को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भएको हो। ५ जुन २०२५ सम्म सम्पन्न गर्नु पर्ने भए पनि हालसम्म सम्पन्न भएको छैन । प्रशोधन केन्द्र सम्पन्न भएपछि ५ वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ।
परियोजनाको ठेक्का Passavant Kalika SNET JV ले लिएको छ भने परामर्शदाताको रूपमा EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली संलग्न रहेको छ। यो केन्द्र सञ्चालनमा आएपछि टुकुचा खोलामा मिसिने फोहर पानी प्रशोधन भई वातावरणीय प्रदूषण न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
सरकारले बागमती नदी प्रणालीका सहायक खोलाहरूको संरक्षण र सुधारलाई प्राथमिकतामा राख्दै आएको छ। टुकुचा खोला फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै शहरी वातावरण सुधार, जनस्वास्थ्य संरक्षण र नदी प्रणाली पुनर्जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।


187 पटक हेरिएको 

