
काठमाडौ : सरसफाइकर्मीहरुको अधिकारका लागि आवाज उठाउन नेतृत्व र सहजीकरण गर्ने सीप सम्बन्धी तालिम काठमाडौमा सुरु भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को तालिम हलमा भैरहेको तालिममा ललितपुर र काठमाडौँका म्यानुअल तथा मेकानिकल मलमूत्र सफाइ गर्ने २२ जना सरसफाइकर्मी सहभागी छन् ।
श्रमिकको आवाज, अधिकार र नेतृत्व क्षमता सुदृढ पार्ने उद्देश्यले नेतृत्व तथा सहजीकरण सीप सम्बन्धी तालिम आयोजना गरिएको एन्फोले जनाएको छ । तालिममा सहभागीहरूलाई स्वागत गर्दै एन्फोका कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले सरसफाइ श्रमिकले सार्वजनिक स्वास्थ्य र शहरी सरसफाइ सुरक्षामा खेलिरहेको महत्वपूर्ण भूमिकाबारे चर्चा गर्नुभयो। उहाँले समाज र राष्ट्रका लागि अत्यावश्यक सेवा प्रदान गरिरहेका सरसफाइ श्रमिकका अधिकार सुनिश्चितताका लागि आवाज उठाउनुपर्ने बताउनुभयो ।

तालिममा एन्फोका प्रोग्राम म्यानेजर केशव श्रेष्ठले सरसफाइ श्रमिकमा नेतृत्व, आत्मविश्वास र वकालत सीप सुदृढ गर्न अत्यावश्यक रहेको बताउनुभयो।

तालिममा सहभागी मानबहादुर पोडेले सरसफाइ श्रमिकको तर्फबाट मन्त्रालयस्तरमै प्रत्यक्ष प्रतिनिधित्व हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। “हामी आफैंले आफ्ना कुरा नराखे हाम्रो समस्या कसैले गम्भीरतापूर्वक सम्बोधन गर्दैन” उहाँले भन्नुभयो। उहाँले विभिन्न संघसंस्थाले धेरै बैठकमा सरसफाइ श्रमिकलाई बोलाए पनि निर्णय प्रक्रियामा आफूहरूको आवाज प्रायः नजोडिने गुनासो समेत गर्नुभयो।
यो पहल मार्फत सरसफाइ श्रमिकलाई आफ्ना अधिकारका लागि आत्मविश्वासपूर्वक आवाज उठाउन, स्थानीय तथा संघीय सरकारसँग प्रभावकारी रूपमा संवाद गर्न र सरसफाइ क्षेत्रमा गरिमा, सुरक्षा तथा समावेशीकरण प्रवर्द्धन गर्न सकिने विश्वास लिइएको छ।
वाटर एड नेपालको सहयोगमा आयोजना गरिएको तालिममा एन्फोका सृजना कार्की र सुभाष केसीले सहजीकरण गरिरहनुभएको छ। तालिममा अन्तरक्रियात्मक छलफल, व्यवहारिक अभ्यास तथा जीवन अनुभवको आदान–प्रदान मार्फत नेतृत्व, सहजीकरण, सञ्चार, आत्मविश्वास, सार्वजनिक बोलाइ र सामूहिक वकालत सीप अभिवृद्धिमा केन्द्रित गरिएको छ।



333 पटक हेरिएको 

