
काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा वित्तीय स्रोत परिचालन, लगानीको अन्तर र निजी क्षेत्रको सहभागिता बारे छलफल गर्न दुईदिने अन्तरक्रिया कार्यक्रम भैरहेको छ । हिजो देखि शुरु भएको वास क्षेत्रमा वित्तिय लगानी तथा निजी क्षेत्रको सहभागिताबारे सिकाइ आदान–प्रदान कार्यक्रममा वास क्षेत्रमा कार्यरत सरकारी निकाय, निजी क्षेत्र, विकास साझेदार तथा पेशागत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
पहिलो दिनको कार्यक्रम वास क्षेत्रमा वित्तीय चुनौती र स्रोत परिचालनका विषयमा केन्द्रित थियो। खानेपानी तथा सरसफाइ क्षेत्रमा वित्तिय लगानी र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषको उपयोगबारे CWAST का अनुभवका बिषयमा Paul McKnight ले प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसपछि स्रोतको एकीकृत तथा अधिकतम उपयोग विषयमा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रबर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) का कार्यकारी निर्देशक ई. रामकुमार श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो।

निजी क्षेत्रको सहभागितामा WASH वित्तीय व्यवस्थापन सम्बन्धी अभ्यासहरूका बिषयमा राक्सिराङ गाउँपालिका, शान्ति नेपाल, धुनीबेशी नगरपालिका, GWT लगायतका प्रतिनिधिहरूले आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।
प्यानल छलफलमा ‘WASH क्षेत्रमा वित्तीय लगानी, अन्तर र सम्भावना’ विषयमा गहिरो छलफल गरिएको थियो। छलफलमा नेपालको राष्ट्रिय WASH क्षेत्र वित्तीय रणनीति (२०२०–२०३०), WASH क्षेत्रमा रहेको वित्तीय अन्तर, निजी क्षेत्रको सम्भावना तथा नवप्रवर्तनशील वित्तीय विधिबारे चर्चा गरिएको थियो।
दोस्रो दिनको कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व (CSR) मा केन्द्रित रहेको छ। नेपालमा संस्थागत सामाजिक उत्तरदायित्वको कानुनी ढाँचा, प्राथमिकता क्षेत्र, वर्तमान प्रवृत्ति, निजी क्षेत्रका उत्कृष्ट अभ्यास तथा चुनौती र अवसरबारे चौधरी ग्रुप फाउन्डेसनको प्रस्तुतीकरण हुनेछ ।
आज पनि वास क्षेत्रमा वित्तीय व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सम्बन्धी सत्रहरू हुनेछन् । जसमा ज्वालामुखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड, CTP, MCDC, Suswa तथा Sabal Nepal लगायतका संस्थाहरूले आफ्ना अनुभव प्रस्तुत गर्नेछन् ।
कार्यक्रमले वास क्षेत्रमा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सरकारी, निजी र सामुदायिक क्षेत्र बीच सहकार्यको सम्भावित मोडेलहरुको पहिचान गर्नेछ ।
कार्यक्रम CWAST, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रबर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) ले संयुक्त रुपमा आयोजना गरिएको हो ।


241 पटक हेरिएको 

