
चितवन : खानेपानी तथा सरसफाइ नियमावली २०८१ तथा सेवा नियमन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । Welt Hunger Hilfe (WHH),वाटर एड र नेपाल ग्रामीण पुनर्निमाण संस्था (RRN) को सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन बिभागले कार्यशाला आयोजना गरेको हो ।
खानेपानी तथा ढल व्यबस्थापन बिभागका महानिर्देशक ई. कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यशाला गोष्ठीको अध्यक्षता बिभागका सेवा नियमन तथा समन्वय महाशाखाका उपमहानिर्देशक ई.नारायण प्रसाद आचार्यले गर्नु भएको थियोे ।

सिनियर डिभिजनल इन्जिनियर रजित ओझाले कार्यक्रम आयोजनाको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल सरकारले खानेपानी तथा सरसफाइ ऐन २०७९ र नियमावली २०८१ जारी गरी लागु गरिसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सहजता होस् भन्ने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको बताउनुभयोे ।

उक्त गोष्ठीमा वागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका चितवन, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, दाङ, नवलपुर, परासी, तनहँु, लमजुङ, गोरखा, कास्की, बागलुङ, पर्वत, पर्सा, बारा र रौतहट, जिल्लामा २ हजार भन्दा बढी धरधुरीलाई सेवा प्रदान गरिरहेका दुई–दुई वटा खानेपानी सरसफाइ सेवा प्रदायकहरुको सहभागिता थियो ।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै सेवा नियमन सम्बन्धी भएको प्रक्रिया र पुरा गर्नुपर्ने दायित्वबारे विभागका उपमहानिर्देशक नारायण प्रसाद आचार्यले प्रकाश पार्नु भएको थियो । उहाँले खानेपानी तथा सरसफाइ ऐन २०७९ र खानेपानी तथा सरसफाइ नियमावली २०८१ मा उल्लेख भएका बिभिन्न प्रावधान र सेवाप्रदायक संस्थाहरुले पुरा गर्नुपर्ने दायित्व र जिम्मेवारीका बारेमा बिस्तृत रुपमा प्रकाश पार्नु भएको थियो ।

आचार्यले खानेपानी र सरसफाइको हालको अवस्था, अन्तराष्ट्रिय प्रतिवद्धता, नीति, ऐन, नियमावली, राष्ट्रिय मापदण्ड बारेमा छलफल गराउनु भएको थियो । छलफल गोष्ठीमा सहभागीहरुले ऐन र नियमावलीहरुमा भएका अस्पष्टता र यसको सहजताको लागि ऐनका केही प्रावधानहरु उपभोक्ता एवं सेवा प्रदायकमैत्री नभएको सन्दर्भमा छलफल गर्दै परिवर्तन गर्नुपर्ने धारणा समेत राख्नु भएको थियो ।
गोष्ठीको दोस्रो दिन समूह कार्य गरी सूचक फारमको प्रयोग र व्यवासायिक योजना (Business Plan) र वित्तीय व्यवस्थापनका नीति तथा तौर तरिका बारेमा छलफल गरिएको थियो ।

छलफलमा १६ जिल्लाका २५ वटा खानेपानी सेवाप्रदायक, खानेपानी बोर्ड, खानेपानी उपभोक्ता महासंघ, संघीय खानेपानी कार्यालयका जम्मा ७५ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा खानेपानी उपभोक्ता संस्थाले आ–आफ्नो सूचक फारम (KPI Form) भरी खानेपानी सेवाको स्तर र गुणस्तर, संचालन तथा व्यवस्थापन दक्षताका ८ वटा उपसूचकहरुको बारेमा सहभागितामुलक छलफल गरिएको थियो ।

विभागका सिनियर डिभिजनल इन्जिनियर रजित ओझाले सेवा नियमनका तौरतरिका बारे सहभागीहरु बीच व्यापक छलफल गराउनु भएको थियो । विशेष गरी सेवाप्रदायक संस्थाहरुको सेवा विस्तार (Service coverage), पानीको पर्याप्तता (Sufficiency), पानीको गुणस्तर (Quality), पानी शुद्धिकरणका विधिहरु, विश्वसनियता (Reliability), गुनासो व्यवस्थापन (Grievances handling) सेवाको व्यावसायिक योजनाको अवस्था बारेमा सहभागीहरु बीच सूचकका सबल पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरु, चुनौतीहरु र अवसरहरुका बारेमा बिस्तृत रुपमा समूह कार्य गर्दै सहभागितामूलक छलफल भएको थियो ।

कार्यक्रममा खानेपानी उपभोक्ता महासंघ, साना शहरी खानेपानी उपभोक्ता महासंघ लगायतका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
गोष्ठीका थप फोटोहरु :




फोटोहरु निराजन पोखरेल/आर.आर.एन


544 पटक हेरिएको 

