
काठमाडौ : नगरव्यापी समावेशी सरसफाइ विस्तार र सरसफाइ नवप्रवर्तन परियोजनाको समीक्षा गरिएको छ । परियोजनाबाट हासिल भएका उपलब्धि, सिकाइ, र आगामी कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले प्रगति समीक्षा कार्यक्रम आयोजना गरिएको थियो ।
गेट्स फाउन्डेसन (GF) को आर्थिक सहयोग र ईन्टरनेशनल ट्रैनिङ नेटवर्क बङ्गलादेश यूनिभर्सिटी अफ ईन्जिनियरिङ एन्ड टेक्नोलोजी (ITN-BUET) को सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले विगत ४ वर्ष देखि नगरव्यापी समावेशी सरसफाइ विस्तार र सरसफाइ नवप्रवर्तन परियोजना संचालन गर्दै आइरहेको छ।
कार्यक्रममा सन् २०२१ देखि २०२५ सम्म सञ्चालन गरिएको परियोजनाको समग्र अवस्था प्रस्तुत गरिएको थियो। कार्यक्रममा परियोजनाको प्रगति, प्रमुख उपलब्धि, नवीन अभ्यास, उत्पादन, नतिजा तथा विभिन्न केस स्टडीहरू सहभागीहरू माझ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्याजाको वालिङ नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाबाट परियोजना कार्यान्वयनका क्रममा प्राप्त अनुभव र सिकाई प्रस्तुत गरिनुका साथै परियोजना गतिविधिबाट लाभान्वित समुदायका अनुभव सहितको भिडियो सामग्री पनि प्रदर्शन गरिएको थियो।
कार्यशालाका प्रमुख उपलब्धिहरूका रूपमा राष्ट्रिय WASH रिपोजिटोरी (खानेपानी तथा सरसफाइ (WASH) सम्बन्धी नीति र रणनीति, परियोजना प्रतिवेदन, अनुसन्धान र अध्ययन, डाटासेट, सिकाइ र राम्रो अभ्यास, केस स्टडी लाई एकै ठाउँमा डिजिटल वा संस्थागत रूपमा संकलन र व्यवस्थापन गरिएको सूचना भण्डार) को शुभारम्भ, मलमुत्र प्रशोधन केन्द्र (Faecal Sludge Treatment Plant) सम्बन्धी देशभरिको अवस्था सम्बन्धी प्रतिवेदन सार्वजनिक, तथा विभिन्न छलफल सत्रहरू आयोजना गरिएको थियो। कार्यक्रमका अतिथिीहरुले नगरव्यापी समावेशी सरसफाइका चुनौती, अवसर र भावी दिशाबारे आ आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले समावेशी, दिगो तथा नगरव्यापी सरसफाइ पहललाई प्रभावकारी रूपमा अघि बढाउन सरकारको प्रतिबद्धता र नेतृत्वको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित सरकारी निकाय, स्थानीय तह, विकास साझेदार र अन्य सरोकारवालाहरू गरी ३७ जनाको सहभागिता रहेको थियो।



320 पटक हेरिएको 

