५२ सामुदायिक विद्यालयले गरे WASH योजना तयार गरी अनुमोदन

  वास खबर सम्बाददाता  179 पटक हेरिएको

महिकर श्यामा माध्यमिक विद्यालय,सप्तरी

सप्तरी : मधेस प्रदेशको सप्तरी र सिरहा जिल्लाका ५२ वटा विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार गरी अनुमोदन गरेका छन् । विद्यालयमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्ने उद्देश्यले ५२ वटा विद्यालयले आफ्नो विद्यालय वास योजना तयार गरी अनुमोदन गरिसकेको माहुली सामुदायिक विकास केन्द्रका परियोजना संयोजक प्रताप श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका ती विद्यालयहरुले विद्यालय सुधार योजना (School Improvement Plan – SIP) सँग मिलान हुने गरी वास प्लान तयारी गरेका हुन् ।

सप्तरीका ५ वटा पालिकामा माहुली सामुदायिक विकास केन्द्र र सिरहाको ५ पालिकामा सबल नेपाल सँगको साझेदारीमा Welt Hunger Hilfe (WHH) ले Up-scaling WASH systems strengthening approach in the Terai region of Nepal परियोजना सञ्चालन गरिरहेको छ । सन् २०२३ मार्च १ तारिख देखि सञ्चालन भैरहेको परियोजना अन्तर्गत विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधाहरु र कानुनी औजारहरु तयारीका लागि समेत सहयोग पु¥याउँदै आएको छ ।

विद्यालय तहमा खानेपानी, शौचालय, हात धुने सुविधा, सरसफाइ अभ्यास तथा स्वच्छ व्यवहार प्रवद्र्धनलाई दिगो रूपमा संस्थागत गर्न विद्यालय वास योजना महत्त्वपूर्ण मानिन्छ। वास सँग आबद्ध गरी योजना तयार गर्दा विद्यालयको समग्र शैक्षिक वातावरण सुधार, विद्यार्थीको स्वास्थ्य संरक्षण तथा सुरक्षित सिकाइ वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको सिरहाको जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ब्रम्हदेव प्रसाद सिंहले बताउनुभयो ।

उहाँका अनुसार वास योजना अनुमोदनसँगै वास सम्बन्धी पूर्वाधार सुधार, व्यवहार परिवर्तनका गतिविधि तथा नियमित अनुगमन कार्य अघि बढाईरहेको छ । यसले विद्यालयलाई सुरक्षित, समावेशी र स्वच्छ शैक्षिक संस्थाको रूपमा विकास गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

७ विद्यालयका ६,२६३ विद्यार्थी लाभान्वित

श्री जनता नमुना माध्यमिक विद्यालय, सिरहा

परियोजना संयोजक प्रताप श्रेष्ठका अनुसार ७ विद्यालयका कुल ६ हजार २६३ जना विद्यार्थीले सुरक्षित खानेपानी तथा सुरक्षित सरसफाइ सेवामा सहज पहुँच पाएका छन्। परियोजनाले पालिका र विद्यालयसँगको सहकार्यमा खानेपानी, शौचालय तथा हात धुने सुविधा सुधार भएसँगै ६,२६३ विद्यार्थी लाभान्वित भएको उहाँले बताउनुभयो।

परियोजना अन्तर्गत विद्यालयमा सुरक्षित पिउने पानीको व्यवस्था, बालमैत्री तथा लैङ्गिक समावेशी शौचालय, हात धुने स्टेशन स्थापना तथा सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गतिविधि सञ्चालन गरिएको थियो । यसले विद्यार्थीहरूमा स्वच्छ व्यवहार विकास गर्न र पानीजन्य तथा सरसफाइसँग सम्बन्धित रोगको जोखिम घटाउन सहयोग पुगेको महिकर श्यामा माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद साहले बताउनुभयो।

५ विद्यालय २ तारे घोषणा

खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सुविधाको स्तरका आधारमा ५ वटा विद्यालयलाई ‘२ तारे विद्यालय’ का रूपमा घोषणा गरिएको छ। विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि अनुसार विद्यालयमा सुरक्षित खानेपानी, प्रयोगमैत्री शौचालय, हात धुने सुविधा तथा सरसफाइ अभ्यास सुदृढ रहेको मूल्याङ्कन पछि ती विद्यालयहरूलाई २ तारे विद्यालय घोषणा गरिएको परियोजना संयोजक श्रेष्ठले बताउनुभयो।

श्री जनता माध्यमिक विद्यालय लक्ष्मीनियाँका प्रधानाध्यापक प्रमोद कुमार यादवले दुई तारे विद्यालयको मान्यताले विद्यालयमा सुरक्षित र स्वच्छ सिकाइ वातावरण सुनिश्चित गर्न थप प्रेरणा मिलेको बताउनुभयो । साथै अन्य विद्यालयलाई पनि खानेपानी, सरसफाइ र स्वच्छता मापदण्ड पूरा गर्न प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार