काठमाडौ : शहर र बस्तीहरूमा पानीको प्रयोगसँगै निस्कने फोहोरपानी सुरक्षित रूपमा व्यवस्थापन गर्नु आजको ठूलो चुनौती हो । केन्द्रीय ढल प्रणाली महँगो, जटिल र दीर्घकालीन सञ्चालन खर्चिलो बन्दै गइरहेका बेला यसको प्रभावकारी विकल्पका रूपमा विकेन्द्रित फोहोरपानी प्रशोधन प्रणाली (DEWATS) लाई विश्वभर व्यवहारिक समाधानका रूपमा अपनाउन थालिएको छ।
DEWATS भनेको फोहोरपानी उत्पादन हुने स्थानकै नजिक, सानो–मझौला स्तरमा स्थापना गरिने फोहोरपानी प्रशोधन प्रणाली हो। यसमा घर, टोल, बस्ती, विद्यालय, अस्पताल, बजार क्षेत्र वा संस्थागत परिसरबाट निस्कने फोहोरपानीलाई त्यहाँबाट नजिकै संकलन गरी वातावरणमैत्री तरिकाले प्रशोधन गरिन्छ।
नेपालका सन्दर्भमा DEWATS
नेपालका धेरै शहर र बस्तीमा ढल प्रणाली सीमित छ। भएका ढल प्रशोधन केन्द्र पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। यस्तो अवस्थामा म्भ्ध्ब्त्क् स्थानीय सरकार र समुदायका लागि व्यवहारिक, सस्तो र दिगो समाधान बन्न सक्ने स्यानिटेसन इन्जिनियर बिमल तन्डुकार बताउनुहुन्छ।
विशेष गरी खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रका परियोजनामा यसको प्रयोगले सुरक्षित सरसफाइ, वातावरण संरक्षण र जलस्रोत व्यवस्थापनमा दीर्घकालीन योगदान दिन सक्ने उहाँको भनाइ छ।
DEWATS किन उपयुक्त विकल्प हो ?
विकेन्द्रित फोहोरपानी प्रशोधन प्रणाली (DEWATS) लाई आज व्यवहारिक र दिगो विकल्पका रूपमा हेरिनुको पछाडि यसका बहुआयामिक फाइदाहरू हुन्। केन्द्रीय ढल प्रणालीसँग तुलना गर्दा DEWATS ले स्थानीय आवश्यकता, आर्थिक किफायती र वातावरणीय सन्तुलनलाई एक साथ सम्बोधन गर्ने उहाँको भनाइ छ।
१. कम लागतको समाधान
केन्द्रीय ढल प्रणालीमा लामो पाइपलाइन, पम्पिङ स्टेशन र ठूलो प्रशोधन केन्द्र आवश्यक पर्छ । जसका कारण प्रारम्भिक लगानी र सञ्चालन खर्च दुवै अत्यधिक हुन्छन्। म्भ्ध्ब्त्क् भने फोहोरपानी उत्पादन हुने स्थानकै नजिक स्थापना गरिने भएकाले पूर्वाधार लागत कम पर्छ। सञ्चालन तथा मर्मत खर्च पनि न्यून हुने भएकाले स्थानीय तह र समुदायका लागि आर्थिक रूपमा व्यावहारिक विकल्प बन्छ।
२. सञ्चालन गर्न सजिलो
DEWATS प्रणाली मुख्यतः प्राकृतिक ढलान र जैविक प्रक्रियामा आधारित हुने भएकाले यसलाई चलाउन धेरैजसो अवस्थामा बिजुली आवश्यक पर्दैन। पम्पिङ, मेसिनरी र जटिल उपकरणको आवश्यकता न्यून हुँदा ऊर्जा खपत घट्छ । जसले गर्दा दीर्घकालीन सञ्चालनलाई सहज बनाउँछ।
३. वातावरणमैत्री प्रविधि
प्राकृतिक ब्याक्टेरिया र जैविक प्रक्रिया मार्फत फोहोरपानी प्रशोधन गरिने भएकाले DEWATS वातावरणमैत्री प्रणाली हो। यसले रासायनिक प्रयोग र कार्बन उत्सर्जन कम गर्छ। परिणामस्वरूप माटो, पानी र वरपरको पारिस्थितिक प्रणालीमा नकारात्मक असर न्यून हुन्छ।
४. स्थानीय व्यवस्थापनमा आधारित प्रणाली
DEWATS को अर्को महत्वपूर्ण पक्ष यसको स्थानीय स्वामित्व र व्यवस्थापन हो। समुदाय, विद्यालय, संस्था वा स्थानीय सरकारले आफैं सञ्चालन र मर्मत गर्न सक्ने भएकाले बाह्य प्राविधिक निर्भरता कम हुन्छ। यसले स्थानीय क्षमताको विकास गर्नुका साथै दीर्घकालीन टिकाउपन पनि सुनिश्चित गर्छ।
५. पानीको पुनःप्रयोगको सम्भावना
DEWATS बाट प्रशोधित पानी बगैँचा सिँचाइ, हरियाली प्रबर्धन वा खुला स्थानको व्यवस्थापनमा पुनः प्रयोग गर्न सकिन्छ। यसले खानेपानीको स्रोतमा पर्ने दबाब घटाउनुका साथै पानीको समग्र उपयोग दक्षता बढाउँछ।
६. जलस्रोत संरक्षणमा योगदान
अप्रशोधित फोहोरपानी सिधै नदी, खोला वा जमिनमा मिसिँदा जलस्रोत प्रदूषित हुन्छन्। DEWATS ले फोहोरपानीलाई सुरक्षित रूपमा प्रशोधन गरी मात्र निकास दिने भएकाले नदीनाला प्रदूषण घटाउन ठूलो भूमिका खेल्छ। यसले सार्वजनिक स्वास्थ्य र वातावरण संरक्षण दुवैमा सकारात्मक प्रभाव पार्छ।
फोहोरपानी व्यवस्थापन पूर्वाधार निर्माण सँगै सार्वजनिक स्वास्थ्य, वातावरण र दिगो विकाससँग जोडिएको मुद्दा हो। विकेन्द्रित फोहोरपानी प्रशोधन प्रणाली (DEWATS) ले नेपाल जस्ता मुलुकमा स्थानीय आवश्यकता अनुसार सरसफाइ समस्याको समाधान गर्न सक्ने स्यानिटेसन इन्जिनियर तन्डुकार बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ ‘सही योजना, प्राविधिक सहयोग र समुदायको सहभागितासँगै DEWATS सुरक्षित र स्वच्छ बस्ती निर्माणको महत्वपूर्ण आधार बन्न सक्छ।’


217 पटक हेरिएको 

