६ हजार २६३ विद्यार्थीको सुरक्षित खानेपानी तथा सरसफाइमा पहुँच

  वास खबर समाचारदाता  301 पटक हेरिएको


सप्तरी : मधेस प्रदेशको सप्तरी र सिरहा जिल्लाको ७ वटा विद्यालयका कुल ६ हजार २६३ जना विद्यार्थीले सुरक्षित खानेपानी तथा सुरक्षित सरसफाइ सेवामा सहज पहुँच पाएका छन्।

पालिका र विद्यालयसँगको सहकार्यमा महुली सामुदायिक विकास केन्द्रले विद्यालयमा खानेपानी, शौचालय तथा हात धुने सुविधा निर्माण तथा पुनःनिर्माण गरेसँगै ६,२६३ विद्यार्थी लाभान्वित भएको परियोजना संयोजक प्रताप श्रेष्ठले जानकारी दिनुभयो।

सप्तरीका ५ वटा पालिकामा माहुली सामुदायिक विकास केन्द्र र सिरहाको ५ पालिकामा सबल नेपाल सँगको साझेदारीमा Welt Hunger Hilfe (WHH) ले Up-scaling WASH systems strengthening approach in the Terai region of Nepal परियोजना सञ्चालन गरिरहेको छ ।

सन् २०२३ मार्च १ तारिख देखि सञ्चालन भैरहेको परियोजना अन्तर्गत विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधाहरु निर्माण र कानुनी औजारहरु तयारीका लागि समेत सहयोग पुर्‍याउँदै आएको छ ।

परियोजना अन्तर्गत विद्यालयमा सुरक्षित पिउने पानीको व्यवस्था, बालमैत्री तथा लैङ्गिक समावेशी शौचालय, हात धुने स्टेशन स्थापना तथा सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गतिविधि सञ्चालन गरिएको थियो । यसले विद्यार्थीहरूमा स्वच्छ व्यवहार विकास गर्न र पानीजन्य तथा सरसफाइसँग सम्बन्धित रोगको जोखिम घटाउन सहयोग पुगेको महिकर श्यामा माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद साहले बताउनुभयो।

५ विद्यालय २ तारे घोषणा

खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सुविधाको स्तरका आधारमा ५ वटा विद्यालयलाई ‘२ तारे विद्यालय’ का रूपमा घोषणा गरिएको छ। विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि अनुसार विद्यालयमा सुरक्षित खानेपानी, प्रयोगमैत्री शौचालय, हात धुने सुविधा तथा सरसफाइ अभ्यास सुदृढ रहेको मूल्याङ्कन पछि ती विद्यालयहरूलाई २ तारे विद्यालय घोषणा गरिएको परियोजना संयोजक श्रेष्ठले बताउनुभयो।

श्री जनता माध्यमिक विद्यालय लक्ष्मीनियाँका प्रधानाध्यापक प्रमोद कुमार यादवले दुई तारे विद्यालयको मान्यताले विद्यालयमा सुरक्षित र स्वच्छ सिकाइ वातावरण सुनिश्चित गर्न थप प्रेरणा मिलेको बताउनुभयो । साथै अन्य विद्यालयलाई पनि खानेपानी, सरसफाइ र स्वच्छता मापदण्ड पूरा गर्न प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार