
सरसफाइ मानव स्वास्थ्य, वातावरण संरक्षण र मर्यादित जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। सुरक्षित शौचालयको पहुँच बिना न त स्वस्थ समुदाय निर्माण सम्भव हुन्छ, न त खानेपानी स्रोतको संरक्षण।
यही सन्दर्भमा नेपाल जस्तो भौगोलिक रुपमा विविधतायुक्त देशका लागि स्थलगत सरसफाइ (Onsite Sanitation) एक व्यवहारिक विकल्पका रूपमा स्थापित हुँदै आएको छ।
स्थलगत सरसफाइ भनेको घर, संस्था वा बस्तीमै उत्पन्न हुने मानव मलमूत्र र फोहोरपानीलाई त्यही स्थानमै सङ्कलन, प्रशोधन र सुरक्षित रूपमा व्यवस्थापन गर्ने सरसफाइ प्रणाली हो। यस प्रणालीमा फोहोरलाई टाढाको प्रशोधन केन्द्रसम्म ढल पाइपमार्फत लैजानु पर्दैन। बरु, शौचालयसँगै बनाइएका सेप्टिक ट्यांकी, पिट वा अन्य संरचनामार्फत स्थानीय स्तरमै व्यवस्थापन गरिन्छ।
नेपालका धेरै ग्रामीण, पहाडी र छरिएका बस्तीहरूमा ढल प्रणाली विस्तार गर्न प्राविधिक, आर्थिक र भौगोलिक चुनौतीहरू छन्। ढल प्रणाली निर्माण महँगो हुनुका साथै यसको दीर्घकालीन सञ्चालन र मर्मत खर्च पनि उच्च हुन्छ। यही कारणले यस्ता क्षेत्रमा स्थलगत सरसफाइ सबैभन्दा उपयुक्त र किफायती विकल्प मानिन्छ।
स्थलगत सरसफाइका प्रमुख उदाहरणहरूमा सेप्टिक ट्यांकी,खाल्डे चर्पी, फ्लस शौचालय, डबल पिट शौचालय, बायोग्यास शौचालय र इकोसान शौचालय, मानव मलमूत्र प्रशोधन प्रणाली पर्दछन्। यी प्रणालीहरू घरधुरीको अवस्था, भू–भाग, पानीको उपलब्धता र आर्थिक क्षमताअनुसार छनोट गर्न सकिन्छ।
यो प्रणाली सामान्यतया यसरी काम गर्छ। शौचालयबाट निस्किएको मलमूत्र सेप्टिक ट्यांकी वा पिटमा जम्मा हुन्छ। त्यहाँ ठोस पदार्थ तल थुप्रिन्छ भने तरल भाग सोकपिट वा माटो हुँदै बिस्तारै जमिनमा सोसिन्छ। ट्यांकी वा पिटभित्र रहेका सूक्ष्म जीवाणुहरूले मलमूत्रलाई आंशिक रूपमा प्रशोधन गर्छन्। निश्चित समयपछि ट्यांकी वा पिट भरिने भएकाले त्यसमा जम्मा भएको मललाई सुरक्षित रूपमा निकालेर मानव मलमूत्र प्रशोधन वा निस्कासन गर्नु आवश्यक हुन्छ।
स्थलगत सरसफाइको सफलताका लागि यही मानव मलमूत्र प्रशोधन प्रणाली पक्ष अत्यन्तै महत्वपूर्ण मानिन्छ। यदि मलमूत्र निकासी र व्यवस्थापन व्यवस्थित रूपमा गरिएन भने भूमिगत पानी प्रदूषित हुने, खानेपानीका मुहान बिग्रिने र रोग फैलिने जोखिम बढ्छ। त्यसैले शौचालय निर्माणसँगै मल व्यवस्थापनको दीर्घकालीन योजना आवश्यक हुन्छ।
समग्रमा स्थलगत सरसफाइ भनेको शौचालय बनाउने प्रक्रिया सँगै मानव मलमूत्रलाई वातावरण र स्वास्थ्यका लागि सुरक्षित बनाउने सम्पूर्ण प्रणाली हो। सीमित स्रोत, जटिल भू–भाग र पानी अभावका बीच पनि सुरक्षित सरसफाइ सुनिश्चित गर्न स्थलगत सरसफाइ नेपालका लागि अपरिहार्य विकल्प बनेको छ।
दिगो सरसफाइको लक्ष्य हासिल गर्न, अबको बहस संरचना निर्माणमा मात्र सीमित नराखी स्थलगत सरसफाइ प्रणालीलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन बनाउनेतर्फ केन्द्रित हुन आवश्यक छ।


258 पटक हेरिएको 

