नगरव्यापी समावेशी सरसफाइको स्थिति सर्भेक्षण गर्न गणकहरु खटिदै

  वास खबर सम्बाददाता  309 पटक हेरिएको

ललितपुर : ललितपुर महानगरपालिकाको नगरव्यापी समावेशी सरसफाइको स्थिति विश्लेषण सर्भेक्षण गरिने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर ६,१०, २१ र २९ बाहेक सबै वडामा नमुना छनौट गरिएको घरधुरी, विद्यालय, अस्पताल तथा सार्वजनिक शौचालयको सर्भेक्षण गर्न लागिएको हो ।

यसका लागि गणकहरुलाई तथ्याङ्क संकलन गर्ने विधि र प्रक्रियाबारे अभिमुखीकरण गरिएको छ । गणकहरुले सम्बन्धित सर्भेक्षण क्षेत्रमा गएर सामाजिक आर्थिक अवस्था र सरसफाइ सम्बन्धी तथ्याङ्क संकलन गर्नेछन् ।

कानुनी संरचना तयार पार्न, तथ्यांक प्रणालीलाई व्यवस्थित बनाउन, व्यवसायिक योजना तथा प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउँदै नगरपालिकाको सरसफाइ सुशासन र समावेशी सेवा प्रवाहलाई मजबुत बनाउने उद्देश्यले सर्भेक्षण गर्न लागिएको वाटर एड नेपालका वरिष्ठ वास नीति सल्लाहकार गोविन्द श्रेष्ठले बताउनुभयो।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) र वाटर एडको आर्थिक तथा प्राविधिक सहयोगमा ५ं०० बी सोलुसन्सले गर्न लागेको सर्भेक्षणका लागि ललितपुर महानगरपालिकामा ७ सय घरधुरी नमुनाको रुपमा छनौट गरिएको छ । यस्तै महानगरपालिका भित्र रहेका १० प्रतिशत सार्वजनिक शौचालय र १० प्रतिशत स्वास्थ्य संस्थाको समेत तथ्याङ्क संकलन गरिनेछ ।

गणकहरुले MWater नामक सफ्टवेयरको प्रयोग गरी तथ्याङ्क संकलन गर्नेछन् । उक्त सफ्टवेयर बाट तथ्याङ्क संकलन गर्ने विधि र प्रश्नावलीका बिषयमा तालिममा व्यापक छलफल गरिएको छ ।

यो सर्भेक्षण सरसफाइ स्थिति विश्लेषण सँग सम्बन्धित भएकाले सरसफाइ सँग सम्बन्धित अति सुक्ष्म कुराहरुलाई ध्यानमा राखेर प्रश्नावली तयार पारिएको ५०० बी सोलुसन्सका निर्देशक डा. मिङमा ग्याल्जेन शेर्पाले बताउनुभयो।

उहाँका अनुसार शौचालयको प्रकार देखि शौचालयमा जम्मा भएको मानव मलमूत्र कसरी व्यवस्थापन गरिएको छ भन्ने सम्मका सिङ्गो सरसफाइ श्रृंखलासँग सम्बन्धित प्रश्नावलीहरु तयार गरिएको छ । यसरी संकलन गरिएको तथ्याङ्कबाट ललितपुर जिल्लाको समग्र सरसफाइ स्थितिको प्रष्ट तस्बिर दिने उहाँले बताउनुभयो।

समावेशी सरसफाइ सूचकको आधारमा संकलित तथ्यांकहरु नगरव्यापी समावेशी सरसफाइ अवस्थाको मूल्याङ्कन गर्न, सहरमा बसोबास गर्ने विपन्न समुदायको सरसफाइ पहुँचको विश्लेषण गर्न र सरसफाइ सेवाको अनुगमन तथा भविश्यमा नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी गर्नुपर्ने विभिन्न योजनाहरु तयार पार्न महत्वपूर्ण हुने वाटर एड नेपालका वरिष्ठ वास नीति सल्लाहकार श्रेष्ठले बताउनुभयो।

अभिमुखीकरण कार्यक्रममा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) का प्राविधिक अधिकृत राजेश मानन्धरले गणकले संकलन गर्ने तथ्याङ्क सही र तथ्यपरक नभएमा त्यसले ठूलो असर पर्ने भएकाले यथार्थपरक सूचना संकलन गर्नुपर्नेमा जोड दिनुभयो । “ यसको स्याम्पल साइज सानो छ, तसर्थ एक/दुई प्रतिशत तथ्याङ्क तल माथि हुने वित्तिकै हजारौं जनसंख्याको तथ्याङ्क प्रभावित हुन सक्ने भएकाले सही तथ्याङ्क संकलन गर्नुहोला” उहाँले भन्नुभयो “मलाई विश्वास छ, तपाईहरुले तोकिएको क्षेत्र र घरधुरीमै पुगेर वास्तविक तथ्याङ्क संकलन गर्नुहुनेछ।”

नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (Scaling Citywide Inclusive Sanitation Service Systems) सञ्चालन भैरहेको नेपालका ७ वटा प्रदेशको सात वटै नगरपालिकाहरुमा नगरव्यापी समावेशी सरसफाइ अवस्थाको मूल्याङ्कन गर्न तथ्याङ्कहरु संकलन गरिनेछ ।

यो कार्यक्रम कोशी प्रदेशको मेची नगर नगरपालिका, मधेस प्रदेशको लहान नगरपालिका, वागमती प्रदेशको ललितपुर महानगरपालिका, गण्डकीको गोरखा नगरपालिका, लुम्बिनीको घोराही नगरपालिका तथा कर्णालीको शारदा नगरपालिका र सुदुरपश्चिमको गोदावरी नगरपालिकामा सन्चालन भैरहेको छ । कार्यक्रम अन्तर्गत खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, वाटर एड नेपाल र नेपाल नगरपालिका संघले पालिकाहरुलाई विभिन्न प्राविधिक सहयोग गरिरहेको छ ।

गेट्स फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रमको UN-Habitat कार्यकारी निकाय हो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार