सरसफाइकर्मीको अधिकार र मर्यादाको बिषयमा सरसफाइकर्मीसँग अन्तरक्रिया

  वास खबर संवाददाता  203 पटक हेरिएको

काठमाडौ : सरसफाइकर्मीको अधिकार, मर्यादा र सुरक्षाका बिषयमा सरसफाइकर्मीसँग अन्तरक्रिया गरिएको छ ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र ललितपुर महानगरपालिका, वाटर एड नेपाल तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र सरसफाइकर्मीहरु बीच अन्तरक्रिया गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा सरसफाइकर्मीहरुले कामको दौरानमा भोग्नु परेका समस्या र चुनौतीहरुका बिषयमा आ आफ्नो अनुभव सुनाएका थिए ।

सरसफाइकर्मीका मुख्य समस्याहरु

√ सेप्टिक ट्याङ्क खाली गरेर विसर्जन गर्ने ठाउँको अभाव हुनु ।

√ आफूहरुको गुनासो पोख्ने वा सुनुवाई गर्ने ठाउँको अभाव ।

√ बीमाको सुविधा नहुनु

√ न्यून शुल्कमा सेवा दिनुपर्ने बाध्यता

√ स्थानीय सरकारले जरिवाना लगाउँदा पेशाबाटै बिमुख हुने अवस्था सिर्जना हुनु

√ मर्यादिन रुपमा काम गर्ने वातावरण नहुनु

√ जोखिम मापनको टुल नहुँदा खतरापूर्ण अवस्था सिर्जना हुनु

सरसफाइकर्मीले भोग्दै आएका उल्लेखित समस्याहरुको समाधानका लागि गर्न सकिने कामहरुका बिषयमा पनि बृहत छलफल भएको थियो।

सरसफाइकर्मीले भोग्दै आएका समस्याहरु केही पूर्वाधारसँग जोडिएका, कतिपय मर्यादा र सम्मान सँग जोडिएका र कति समस्याहरु भने नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने भएकाले तत्काल, मध्यम र दिर्घकालीन समाधानका विकल्पहरुका बिषयमा पनि छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा खानेपानी मन्त्रालयको क्षेत्रगत क्षमता अभिवृद्धि शाखाका प्रमुख सिडिई योगेन्द्र चित्रकारले मन्त्रालयले पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी निर्देशिका बनाउन सुरु गरिएको जानकारी गराउनुभयो।

यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागको सेवा नियमन शाखाका प्रमुख सिडिई डा.रजित ओझाले कतिपय समस्याको समाधान विभाग तथा मन्त्रालयसँग मात्र सीमित नभई अन्तरमन्त्रालय स्तरमा समेत समन्वय गर्नुपर्ने बताउनुभयो। सेप्टिक ट्याङ्क सफाइ गरेपछि विसर्जन गर्ने ठाउँको अभावमा भोगिरहेको समस्या फोहोरपानी प्रशोधन केन्द्रहरु निर्माण सम्पन्न भएपछि समाधान हुने बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले सरसफाइकर्मीहरुले आफ्नो पेशा प्रति गर्व गर्नुपर्ने बताउनुभयो। उहाँले सरसफाइको क्षेत्रमा लामो समयदेखि आवाज उठाउँदै आएको भएपनि बल्ल केही परिवर्तन हुना थालेको बताउनुभयो।

काठमाडौ उपत्यकामा के कति सरसफाइकर्मीहरु कार्यरत छन् भन्ने हालसम्म कुनै पनि तथ्याङ्क छैन । औपचारिक रुपमा काम गर्ने सरसफाइकर्मी भन्दा धेरै संख्यामा अनौपचारिक सरसफाइ कर्मीहरु कार्यरत रहेको बताईन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार