
नवलपरासी : बर्दघाट १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख सभामा संविधानसभा सदस्य विक्रम खनालले संघ–संस्थामा समाजका हरेक तह र तप्कालाई समेटेर अघि बढ्न सके मात्र दिगो विकास सम्भव हुने बताउनुभयो।
खनालले उपभोक्ताका गुनासालाई सम्बोधन गर्दै उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार करिब ९० प्रतिशत रोगहरू पानीकै कारण हुने भएकाले “एक घर–एक धारा” अभियानलाई सबैले मिलेर सफल बनाउन आवश्यक छ। मानव जीवनमा पानीको अत्यन्त महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नगर, प्रदेश र संघीय सरकारले समन्वय गरेर समस्याको समाधान गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख एब सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठले आगामी वर्ष सम्पूर्ण उपभोक्तालाई शुद्ध खानेपानी पुर्याउने लक्ष्यसहित नगर अगाडि बढेको जानकारी दिनुभयो। उहाँले बर्दघाट नगरपालिकालाई “एक घर–एक धारा” नगर बनाउने उद्देश्यले नेपाल सरकारसँग सशर्त बजेट माग गरी खानेपानीका पाइप, उपकरण तथा धारा जडानको क्षेत्रमा काम गरिने बताउनुभयो। हाल नगरभित्र करिब ७५ प्रतिशत घरधुरीमा धारा जडान भइसकेको र बाँकी २५ प्रतिशत घरधुरीमा धारा पुर्याउने लक्ष्य रहेको उहाँको भनाइ थियो। धारा जडान गर्न नसक्ने उपभोक्तालाई नगरपालिकाले अनुदान दिएर भए पनि धारा जडान गरिने उहाँले स्पष्ट पार्नुभयो।

बर्दघाट नगरपालिका–९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईंले वडा नम्बर ९ मा “एक घर–एक धारा” अभियान पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष धारा जडान गर्न बाँकी रहेका ८ जना अति विपन्न घरपरिवारलाई बर्दघाट नगरपालिकाको सहयोगमा यस वर्ष धारा जडान गरिसकिएको छ। अब केही दिनभित्र वडा नम्बर ९ लाई “एक घर–एक धारा सम्पन्न वडा” घोषणा गरिने उहाँले बताउनुभयो।
जिल्ला खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ नवलपरासीका अध्यक्ष देवीदत्त सापकोटाले पञ्चनगर खानेपानी संस्थाले खानेपानी सुरक्षा योजनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। गुणस्तरीय खानेपानी मुहानदेखि उपभोक्ताको मुखसम्म पुर्याउनुपर्ने उल्लेख गर्दै उहाँले खानेपानी सुरक्षा योजनामार्फत शुद्ध पानी आपूर्ति गर्ने कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।
सभाले संस्थाका अध्यक्ष कर्णबहादुर खत्रीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको योजना सर्वसम्मत रूपमा पारित गरेको छ। संस्थाका सचिव शिवदेव न्यौपानेले शुद्ध पानी वितरणप्रति संस्था प्रतिबद्ध रहेको बताउँदै कहिलेकाहीँ पानी धमिलो आएको गुनासो आएकाले चालु आर्थिक वर्षमा फिल्टर जडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। संस्थाकी कोषाध्यक्ष चन्द्रकुमारी थापाले संस्थाले १ करोड ८ लाख १ हजार ३ सय ५८ रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो। गत आर्थिक वर्षमा ९३ लाख ५९ हजार ९ सय ५८ रुपैयाँ खर्च हुँदा १४ लाख ५३ हजार ६ सय २८ रुपैयाँ खुद बचत रहेको उहाँले बताउनुभयो।
लेखा सुपरिवेक्षण समितिका संयोजक राजु बिस्वाले लेखाको सिद्धान्तअनुसार हिसाबकिताब राखिएको र संस्था पारदर्शी रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा फोहर व्यवस्थापनमा योगदान पुर्याएको भन्दै देवबहादुर नेपाली र सन्तकुमार चौधरीलाई दोसल्ला र नगदसहित सम्मान गरिएको थियो। साथै सांस्कृतिक झलक समेत प्रस्तुत गरिएको थियो।
२०६१ सालमा स्थापना भएको पञ्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हालसम्म करिब २ हजार ५ सय ५१ घरधुरीमा धारा जडान गरिसकेको छ। संस्थाका उपाध्यक्ष यज्ञप्रसाद खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव शिवदेव न्यौपाने र अध्यक्षता सस्थाका अध्यक्ष कर्णबहादुर खत्रीले गर्नुभएको थियो।


374 पटक हेरिएको 

