देवचुली- ६ पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा

  वास खबर समाचारदाता  167 पटक हेरिएको

देवचुली : नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ६ लाई ‘पूर्ण सरसफाइ उन्मुख क्षेत्र’ घोषणा गरिएको छ । सरसफाइ, स्वच्छता तथा प्रत्येक घरमा खानेपानीको धारा पुगेपछि वडालाई बिहीबार नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो।

नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयद्वारा जारी गरिएको पूर्ण सरसफाई मार्ग दर्शन २०७३ ले तोकेको सूचक पूरा भएपछि देवचुली वडा नम्बर ६ लाई सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।

बिहीबार देवचुली नगरपालिकाका नगर प्रमुख एवं नगर स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक हरिप्रसाद न्यौपाने, देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले देवचुली-६ का वडा अध्यक्ष मिनबहादुर सोती मगरलाई पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

देवचुली(६ का वडा अध्यक्ष मिनबहादुर सोती मगरको अध्यक्षतामा भएको घोषणा सभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिका उप-प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली नगरपालिकाका वास फोकल पर्सन अविनाश पन्थी, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

घोषणा सभामा बोल्दै नगर प्रमुख न्यौपानेले पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणाका लागि तय गरिएको सूचकहरु पूरा गरेकोमा वडाबासीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा निरन्तरताका लागि सदैव लाग्न आग्रह गर्नुभयो ।

देवचुली-६ पर्यटकीय हिसाबले नगरकै उत्कृष्ट गन्तव्य भएकाले सदैव पर्यावरणमैत्री वडा कायम गर्न आवश्यक रहेको र आगामी दिनमा वडाका लागि आवश्यक पर्यटकीय गतिविधिमा देवचुली नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अशोक कोइराला र जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले ४०५ घरधुरी रहेको देवचुली वडा नम्बर ६ प्रत्येक घरमा शौचालय र एक घर एक धारा निर्माण भई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएको गण्डकी प्रदेशकै पहिलो वडा भएको दाबी गर्नुभएको थियो ।

त्यसै गरि वडामा सरसफाइ तथा स्वच्छता सम्बन्धि अभियान संचालनका लागि सहकार्य गर्ने वास नमुना गाउँ परियोजना लगायत खानेपानी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत अभियान निरन्तरताको लागि उहाँहरुले अनुरोध गर्नुभएको थियो ।

त्यसै गरि देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, वास फोकल पर्सन अविनाश पन्थी, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरिया, वास नमुना गाउँ परियोजनाका व्यवस्थापक प्रवीण घिमिरे लगायतले पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएकोमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

घोषणा सभामा वास नमुना गाउँ परियोजना , वडामा रहेका ८ वटा खानेपानी संस्था तथा सरसफाइ अभियानका स्वयमसेवकलाई सम्मानित गरिएको थियो ।

घोषणा सभाको कार्यक्रमको सहजीकरण गरेका देवचुली-६ का वडा सदस्य गुमबहादुर थापाले पुर्ण सरसफाई उन्मुख क्षेत्र बनाउने क्रममा भएका प्रगतिहरुलाई वाचन गर्नुभएको थियो ।

औपचारिक कार्यक्रममा देवचुली-६ का वडा सदस्य मनकुमारी बिकले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयका विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार