
जुम्ला : तातोपानी गाउँपालिका–१ बाइराँका गाउँका युवा विराज नेपाली जान्ने भएदेखि गाउँमा धाराको पानी आएको छैन । नदीकै दुषित पानी खाएर बाल्यकाल बिताएका उनी केही वर्ष खाडी मुलुक बसे । त्यसपछि काठमाडौंमा काम गरेर गुजारा चलाउँदै आएका अहिलेसम्म पनि गाउँमा खानेपानीको समस्या उस्तै हुँदा छक्क परेका छन् ।
‘१२० भन्दा बढी घरधुरी रहेको गाउँमा अहिलेसम्म पानी पुगेको छैन’ उनले भने, ‘सिंहो गाउँ नदीको पानीले गुजारा चलाइरहेको छ । २०६४ यता सबै निर्वाचनमा बाइराँकामा पानी पुर्याउने नारा नलगाइएको पनि होइन । अबको चुनावमा निकै विवेक प्रयोग गर्नुपर्नु देखियो ।’ जुम्लाबाट २०६४ मा नरेश भण्डारी, २०७० मा ललितजंग, २०७४ गजेन्द्रबहादुर महत र २०७९ मा ज्ञानेन्द्रबहादुर शाहीले जिते । दर्जनभन्दा बढी समानुपातिक सांसद पनि भए ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । तर बाइराँका गाउँमा भने खानेपानीको धारा पुग्न सकेको छैन । निर्वाचित भएको केही महिनामा घरघरमा धारा जडान गर्ने यसअघिका जनप्रतिनिधिले बाचा गरे पनि गाउँमा पानी पुगेन । बाइराँका गाउँमा पानी पुर्याउने विषय नेताको चुनावी नारामा सीमित भयो
बाह्रैमास पानी नपाएका तातोपानी–१ बाइराँकाका स्थानीय अहिले पनि तिला नदीको दूषित पानीको सहारामा बाँचिरहेका छन् । ‘बर्खाको हिलो माटो मिसिएको पानी खाँदा पनि धन्न हामी बाँचेका छौं । रोग लागेको छैन’बाइराँका गाउँकी स्थानीय छुमकली सार्की भन्छिन्, ‘बाइराँकामा पानी पुर्याउने २०६४ बाट हालसम्मका संघीय सांसददेखि स्थानीय तहका वडाध्यक्षले आश्वासन दिए । तर पानी पुगेन । जनसंख्या बढ्दै छ । पानीको स्रोत कतै छैन ।’
तातोपानी गाउँपालिका–१ बाइराँका गाउँका मिनबहादुर शाहीका पाँच दशक तिला नदीकै दूषित पानी पिएर बिते । अहिले गाउँमा लिफ्टमार्फत् पानी पुगे पनि पर्याप्त छैन । अझै खोलाकै पानीको भर छ । ‘बाउ बाजेले खोलाकै पानी खाए, हामीले खायौं’ उनले भने, ‘बाइराँका गाउँमा पानी पुर्याउने विषय चुनावी एजेण्डा मात्र बन्यो । हाम्रो दैनिकी फेरिएन ।
हरेक चुनावमा हुने पानी राजनीतिले निकास दिन सकेन । तर पछिल्लो समय धौलिगाड आयोजना बन्ने कुराले उत्साहित छौं ।’ गाउँ नजिकै भएको एक इनारबाट स्थानीयले दैनिक ४० लिटरमात्रै पानी उपभोग गर्न पाउँछन् । छुमकली र मीनबहादुर जस्तै, बाइराँका गाउँका झण्डै १२० घरधुरी नै नदीको दूषित पानी पिउन बाध्य छन् । कारोबार दैनिकबाट साभार गरिएको।


149 पटक हेरिएको 

