
धनगढी : बढ्दो सहरीकरणसँगै उत्पन्न हुँदै गएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–७, पटेला जंगल क्षेत्रमा निर्माण भइरहेको दिसाजन्य लेदो प्रशोधन केन्द्र सहितको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र अन्तिम चरणमा पुगेको छ।
करिब २२ हेक्टर क्षेत्रफलमा फैलिएको यो प्रशोधन केन्द्र एशियाली विकास बैंक (ADB) को ऋण लगानीमा, शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत क्षेत्रीय शहरी विकास आयोजनाबाट निर्माण भैरहेको केन्द्र आगामी फागुन मसान्तसम्म निर्माण सम्पन्न हुने संघीय सहरी विकास तथा भवन कार्यालय कैलालीले जनाएको छ।
एक अर्ब ८ करोड २७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो अत्याधुनिक केन्द्रको मुख्य संरचना निर्माण कार्य लगभग पूरा भइसकेको छ। हाल केन्द्रमा लाइटिङ जडान, आन्तरिक सडक, प्लास्टिक बिछ्याउनेलगायतका फिनिसिङका काम मात्रै बाँकी रहेको संघीय सहरी विकास तथा भवन कार्यालयका इञ्जिनियर सौरभ कलौनीले जानकारी दिए। उनका अनुसार आयोजनाको हालसम्म भौतिक प्रगति ८९ प्रतिशत र वित्तीय प्रगति ८१ प्रतिशत पुगेको छ।
यो केन्द्र चिनियाँ कम्पनी सिचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेड ले निर्माण गरिरहेको हो। सम्झौता अनुसार निर्माण सम्पन्न भएपछि पहिलो तीन वर्ष सोही कम्पनीले केन्द्र सञ्चालन गर्नेछ भने त्यसपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ। पूर्ण रूपमा सञ्चालनमा आएपछि केन्द्र स्थानीय सरकारको व्यवस्थापनमा सञ्चालन हुने इञ्जिनियर कलौनीले बताउनुभयो।
निर्माण कम्पनीले केन्द्र निर्माण सम्पन्न हुने बित्तिकै सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीका इञ्जिनियर गोविन्दकुमार मण्डलका अनुसार आयोजना निर्माणको समयसीमा अप्रिल ३ सम्म भए पनि त्यसअघि नै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। उनले केन्द्र सञ्चालनसँगै हरियाली प्रवर्द्धनको काम समेत गरिने जानकारी दिनुभयो।
यो फोहोरमैला व्यवस्थापन केन्द्र ३२ विघा क्षेत्रफलमा फैलिएको छ र दैनिक करिब ६० टन फोहोर उत्पादन हुने धनगढी उपमहानगरपालिकाको करिब ३० वर्षसम्मको फोहोर व्यवस्थापन गर्न सक्ने क्षमताको रहेको छ। हाल उपमहानगरपालिकाले दैनिक संकलन हुने करिब ६० टन फोहोरमध्ये धनगढी–२, दक्षिण बेहडीस्थित केन्द्रमा सूक्ष्म वर्गीकरण गरी पुनः प्रयोग गर्न सकिने फोहोर बिक्रीका लागि छुट्याउने गरेको छ। त्यसैगरी कम्पोष्ट मल र प्राकृतिक ग्यास बनाउन सकिने करिब ८ देखि १० टन फोहोर दैनिक अर्को साझेदार संस्था देव तालिम केन्द्रलाई दिइने गरिएको छ। यसरी व्यवस्थापन हुन नसक्ने फोहोर भने नयाँ फोहोरमैला व्यवस्थापन केन्द्रमा पठाइनेछ।
धनगढी उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर दिजराज भट्टका अनुसार केन्द्रमा दैनिक १३।६६ टन फोहोरमैला खपत हुने गरी आयोजना डिजाइन गरिएको छ। उहाँका अनुसार केन्द्रमा फोहोरको वर्गीकरण गरी कुहिने फोहोरबाट जैविक मल उत्पादन गरिने, प्लास्टिकजन्य फोहोर पुनः प्रयोग गरिने र पुनः प्रयोग गर्न नसकिने फोहोरलाई सुरक्षित डम्पिङ साइटमा व्यवस्थापन गरिने व्यवस्था मिलाइएको छ।
यो आयोजनाका लागि २०७९ साल पुस १४ गते चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो। तर निर्माण स्थल निर्धारण र रुख कटानको अनुमति लिन ढिलाइ भएकाले झण्डै दुई वर्षपछि मात्रै निर्माण कार्य सुरु भएको थियो। यस ढिलाइ र जमिन फिलिङलगायतका थप कामका कारण आयोजनाको लागत ११ करोड ४४ लाख रुपैयाँले बढेको इञ्जिनियर कलौनीले बताउनुभयो।
गोदावरीमा सञ्चालनमा, शुक्लाफाँटामा तयारी अवस्थामा
धनगढीमा निर्माण भइरहेको केन्द्रकै मोडलमा गोदावरी नगरपालिका–३, चौकीडाँडामा निर्माण गरिएको फोहोरमैला व्यवस्थापन केन्द्र हाल सञ्चालनमा आइसकेको छ भने शुक्लाफाँटामा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको इञ्जिनियर कलौनीले जानकारी दिनुभयो।
चौकीडाँडामा करिब ५१ करोड ६९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सो केन्द्रले दैनिक १३ टन फोहोर र १३ घनमिटर दिसाजन्य फोहोर व्यवस्थापन गर्ने क्षमता राख्दछ। केन्द्र सञ्चालनमा आएपछि गोदावरी नगरपालिकाले पनि दैनिक रूपमा घरघरबाट फोहोर संकलन गर्दै आएको छ।


242 पटक हेरिएको 

