सामाजिक गणकहरूका लागि ४ दिने NWASH–MIS तालिम सम्पन्न

  संवाददाता  417 पटक हेरिएको

उदयपुर, गाईघाट : राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH–MIS) मार्फत गुणस्तरीय तथ्याङ्क संकलन सुनिश्चित गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रलाई व्यवस्थित, दिगो र समावेशी बनाउने उद्देश्यले सामाजिक गणकहरूका लागि चारदिने तालिम गाईघाट, उदयपुरमा सम्पन्न भएको छ।

उदयपुर जिल्लाका छ वटा तथा सोलुखुम्बु जिल्लाका दुई पालिकामा WASH Plan तयार गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त तालिम २०२६ जनवरी २८ देखि ३१ गतेसम्म सञ्चालन गरिएको थियो। तालिममा त्रियुगा, उदयपुरगढी, ताप्ली, लिम्चेबुङ, सोलुदुधकुण्ड र माप्य दुधकोशी पालिकाबाट छनोट गरिएका ३० जना सामाजिक गणकहरूको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य गणकहरूलाई NWASH–MIS प्रणाली प्रयोगमा दक्ष बनाउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएकोकोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका स्रोत ब्यक्ति केदार खतिवडाले जानकारी दिनुभयो।

तालिममा WASH का आधारभूत अवधारणा, सूचकहरू, घरधुरी, विद्यालय, स्वास्थ्य सेवा संस्था तथा सार्वजनिक शौचालयसम्बन्धी तथ्याङ्क संकलन प्रक्रिया, नैतिक मापदण्ड तथा NWASH–MIS मोबाइल एप प्रयोग सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

साथै, क्षेत्रस्तरमा तथ्याङ्क संकलन गर्दा अपनाउनुपर्ने मानक प्रक्रिया, तथ्याङ्क सम्पादन (डेटा भेरिफिकेसन) तथा अनलाइन प्रणालीमार्फत विवरण पेश गर्ने सीपमा विशेष जोड दिइएको थियो। तालिमले गणकहरूलाई स्थलगत यथार्थ अवस्था बुझ्न, सही अवलोकन गर्न तथा गुणस्तरीय, समयमै र विश्वसनीय तथ्याङ्क प्रविष्ट गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

चारदिने तालिम अवधिभर WASH का कानुनी संरचना, SDG तथा JMP Ladder, विद्यालय WASH, स्वास्थ्य संस्था WASH, सार्वजनिक शौचालय WASH, घरधुरीस्तरका सूचकहरू, GEDSI मैत्री संरचना तथा NWASH–MIS एप प्रयोगसम्बन्धी विविध सत्रहरू सञ्चालन गरिएका थिए। सहभागीहरूले समूहकार्य, सहकर्मी सिकाइ (Peer Learning), सिमुलेसन तथा फिल्ड अभ्यासमार्फत प्रत्यक्ष अनुभवसमेत हासिल गरेका थिए।

तालिमको सहजीकरण खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशका प्रदेश स्रोत व्यक्ति केदार खतिवडा, गोविन्द कार्की र जानुकला श्रेष्ठ लगायतले गर्नुभएको थियो। साथै, सम्बन्धित स्थानीय तहका WASH फोकल पर्सन र सूचना प्रविधि अधिकृतहरूको सक्रिय सहभागिता रहेको थियो। SNV नेपाल तथा पालिकाका प्रतिनिधिहरूले पर्यवेक्षकका रूपमा सहभागिता जनाउँदै तालिमको गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याएका थिए।

तालिमको अन्तिम दिन सहभागीहरूले फिल्ड अभ्यासका अनुभव साझा गर्दै तथ्याङ्कको गुणस्तर परीक्षण, त्रुटि पहिचान तथा सुधारका उपायबारे छलफल गरेका थिए। साथै, आगामी कार्ययोजना, भूमिकाको बाँडफाँड, पारिश्रमिक नीति तथा आचारसंहिता सम्बन्धी विषयमा समेत स्पष्टता गराइएको थियो।

कोशी प्रदेश सरकार, सम्बन्धित गाउँपालिका तथा नगरपालिकाहरू, संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग र SNV नेपालको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार