
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी प्रतिबद्धता पत्रमा आधारभूत सेवा अन्तर्गत पर्ने खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता विषयहरू प्राथमिकतामा नपरेको देखिएको छ।
शहरीकरण तीव्र गतिमा अघि बढिरहेको वर्तमान सन्दर्भमा यस्ता सेवा प्रत्यक्ष जनस्वास्थ्य, वातावरण र दिगो विकाससँग गाँसिएका भए पनि पार्टीको प्रतिबद्धतामा यी विषयहरू कहीं कतै पनि उल्लेख नहुनु चिन्ताको बिषय हो ।
प्रतिबद्धता पत्रको एक ठाउँमा ‘आगामी ५ बर्षमा सबै नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराइने, शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, खाद्य सुरक्षा, संस्कृति, भाषा विकास लगायतका मौलिक हक कार्यान्वयनका क्षेत्रमा सङ्घीय बजेटको ६० प्रतिशत प्रदेश र स्थानीय तहबाट परिचालन गर्ने व्यवस्था गर्ने’ भन्ने उल्लेख गरिएको बाहेक अन्य कुनै कुरा उल्लेख गरिएको छैन।
घोषणा पत्रमा समग्र पूर्वाधार विकास, ऊर्जा, रोजगारी, कृषि आधुनिकीकरण र औद्योगिक विकासलाई प्राथमिकतामा राखिएको छ। तर, नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सुरक्षित पिउने पानीको सुनिश्चितता, पूर्ण सरसफाइ अभियानको दिगोपन तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणालीबारे कुनै कुरा उल्लेख गरिएको छैन।
विज्ञहरुका अनुसार नेपालका धेरै शहरी क्षेत्रमा खानेपानी आपूर्ति अनियमित छ भने ग्रामीण भेगमा गुणस्तरीय पानीको पहुँच अझै चुनौतीपूर्ण छ। केही समय अघि मात्र सार्वजनिक भएको नेपाल बहु–सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) प्रतिवेदन 2025 अनुसार ४७.४ प्रतिशतमा सुरक्षित खानेपानीको पहुँच पुगेको छ।
त्यस्तै, खुला दिसामुक्त घोषणा गरिएका धेरै स्थानमा दिगोपनको प्रश्न उठिरहेको छ। फोहोर व्यवस्थापनतर्फ, विशेष गरी काठमाडौं उपत्यकामा, दीर्घकालीन समाधानभन्दा अस्थायी व्यवस्थापनमै निर्भरता देखिन्छ। यस्तो अवस्थामा प्रमुख राजनीतिक शक्तिको प्रतिबद्धता पत्रमै यी विषयले प्राथमिकता नपाउनु चिन्ताको विषय भएको सरोकारवालाहरूको भनाइ छ।
सुरक्षित खानेपानी र प्रभावकारी सरसफाइ नहुँदा पानीजन्य रोगको जोखिम बढ्ने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । यसले स्वास्थ्य क्षेत्रमा थप भार सिर्जना गर्छ। त्यसैले, आर्थिक विकासका एजेन्डासँगै आधारभूत सेवाको सुदृढीकरणलाई समान महत्व दिन आवश्यक हुन्छ।
नेकपाको घोषणा पत्रमा पूर्वाधार र आर्थिक वृद्धिलाई प्राथमिकता दिइए पनि नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनका विषयहरू प्राथमिकतामा नपर्नुले खानेपानी, सरसफाइ र फोहोरमैला व्यवस्थापन प्रति नेकपाको दृष्टिकोण प्रष्ट देखिएको छ।
नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धता पत्र :
Nepali Communist Party 2082

163 पटक हेरिएको 

