कोशी प्रदेशमा WASH योजना तयारी सम्बन्धी तीन दिने तालिम सम्पन्न

  वास खबर समाचारदाता  387 पटक हेरिएको

भेडेटार, धनकुटा : कोशी प्रदेशका पाँच स्थानीय तहका प्राविधिक जनशक्तिका लागि तीन दिने WASH योजना तयारी सम्बन्धी तालिम सम्पन्न भएको छ।

कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, Netherlands Development Organization (SNV) र सम्बन्धित स्थानीय तहहरूको सहकार्यमा आयोजित तालिम २०८२ फागुन १० देखि १२ गतेसम्म भेडेटारमा सम्पन्न भएको हो।

तालिममा छथर जोरपाटी गाउँपालिका, कटहरी गाउँपालिका, चौबिसे गाउँपालिका, उदयपुरगढी गाउँपालिका र चौदण्डीगढी नगरपालिकाका प्राविधिक गणक, WASH फोकल व्यक्ति तथा सूचना प्रविधि अधिकृतहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिम अन्तर्गत NWASH–MIS प्रणालीमार्फत खानेपानी योजनाको सूचीकरण (Inventory), सेवा नपुगेका घरधुरी (Unserved Household), सामुदायिक सरसफाइ (Community Sanitation) तथा दिगोपन (Sustainability) सम्बन्धी एपहरूको प्रयोग, स्थापना तथा अभ्यास गराइएको थियो। सहभागीहरूले डिजिटल माध्यमबाट तथ्याङ्क सङ्कलन, डेटा प्रविष्टि, सेवा स्तर मूल्याङ्कन, सूचकांक गणना, डेटा गुणस्तर परीक्षण तथा योजना प्राथमिकिकरण सम्बन्धी व्यवहारिक ज्ञान र सीप हासिल गरेका छन्।

तालिमको मुख्य उद्देश्य खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) योजना तयारी प्रक्रियालाई गुणस्तरीय, सहभागितामूलक र प्रमाणमा आधारित बनाउनु रहेको तालिमका प्रदेश स्रोत व्यक्ति केदार खतिवडाले जानकारी दिनुयो।  उहाँका अनुसार विशेष गरी NWASH-MIS तथा NWASH Application को प्रयोग मार्फत योजना निर्माणलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य राखिएको थियो।

पहिलो दिन खानेपानी प्रणालीको आधारभूत अवधारणा, पानीका स्रोतका प्रकार, ग्राभिटी तथा लिफ्ट प्रणाली, पाइपलाइन संरचना, जल गुणस्तर मापदण्ड, सेवा स्तर (JMP Service Ladder) तथा जलवायु परिवर्तन र विपद्का प्रभावबारे प्रस्तुति र समूहकार्य सम्पन्न गरिएको थियो।

दोस्रो दिन NWASH-MIS प्लेटफर्मको विस्तृत जानकारी सहित डेमो योजनामा अभ्यास तथा डिजिटल विवरण सङ्कलन गराइएको थियो।

सहभागीहरूले वास्तविक खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी तथ्याङ्क सङ्कलन अभ्यास समेत गरेका थिए।

तेस्रो दिन फिल्ड अनुभव आदानप्रदान, डेटा अपलोड र गुणस्तर परीक्षण, त्रुटि पहिचान तथा सुधार, कार्ययोजना निर्माण र जिम्मेवारी बाँडफाँट गरिएको थियो।

तालिमको प्रारम्भ र अन्त्यमा प्रि–टेस्ट तथा पोस्ट–टेस्टमार्फत सिकाइ उपलब्धिको मूल्याङ्कन गरिएको थियो। तालिम सहजीकरण मिलन चौधरी, केदार खतिवडाउज्जवल न्यौपानेले गर्नुभएको थियो।

समापन सत्रमा सहभागीहरूले डिजिटल प्रणालीमार्फत तयार गरिने WASH योजना स्थानीय तहमा सुरक्षित खानेपानी सेवा विस्तार, सुधारिएको सरसफाइ अवस्था तथा समग्र स्वच्छता व्यवस्थापन सुदृढीकरणका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेका थिए।

यस कार्यक्रमले स्थानीय तहहरूमा तथ्यमा आधारित योजना निर्माण, सेवा स्तर अभिवृद्धि तथा दीगो खानेपानी र सरसफाइ व्यवस्थापन प्रवर्द्धनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार