२० वटा सुरक्षित र बाढी प्रतिरोधी शौचालय तथा ३० भैंसी गोठ सुधार निर्माणाधीन

  वास खबर सम्बाददाता  206 पटक हेरिएको

ललितपुर : ललितपुरको महांकाल गाउँपालिकामा २० वटा सुरक्षित तथा बाढी प्रतिरोधी शौचालय निर्माण कार्य अघि बढाइएको छ।Caritas Italiana को सहयोगमा सञ्चालित नेपाल बाढी तथा पहिरो पुनःस्थापना परियोजना अन्तर्गत गाउँपालिकामा सुरक्षित शौचालय निर्माण र ३० भैंसी गोठ सुधार कार्य भैरहेको हो ।

परियोजना अन्तर्गत निर्माण भइरहेका शौचालयहरू उचित पानी आपूर्ति तथा प्रभावकारी निकास प्रणाली सहित डिजाइन गरिएको कारितास नेपालले जनाएको छ । यसले बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सरसफाइ अवस्था सुधार गर्न, स्वास्थ्य जोखिम न्यूनीकरण गर्न तथा सुरक्षित र मर्यादित शौचालय पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने कारितास नेपालको अपेक्षा छ।

महाँकाल गाउँपालिकाका अनुसार विपद्पछिको पुनःस्थापनामा सरसफाइ पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ। बाढी प्रतिरोधी संरचनाले भविष्यमा आउने सम्भावित विपद्‌का बेला पनि क्षति न्यून गर्ने विश्वास गरिएको छ।

यसैक्रममा ३० वटा भैंसी गोठ सुधार कार्य पनि समानान्तर रूपमा अघि बढिरहेको छ। सुधार कार्यमा व्यवस्थित निकास प्रणाली, सरसफाइ व्यवस्थापन तथा दाना राख्ने संरचनाको सुधार समावेश गरिएको छ। यसले पशु स्वास्थ्य प्रवर्द्धन, रोगको जोखिम घटाउने तथा दूध उत्पादन वृद्धि गर्न सहयोग पुग्ने जनाइएको छ।

परियोजनाले सरसफाइ र जीविकोपार्जन दुवै क्षेत्रमा हस्तक्षेप गर्दै विपद्‌ प्रभावित परिवारहरूलाई दीर्घकालीन रूपमा सक्षम र आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। स्थानीय समुदायले पनि पूर्वाधार सुधारसँगै भविष्यका विपद्‌ सामना गर्ने क्षमता वृद्धि भएको बताएका छन्।

Photo : Caritas Nepal.


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार