सरसफाइकर्मीका लागि पिपीई किन अनिवार्य ?

  वास खबर समाचारदाता  195 पटक हेरिएको

काठमाडौ : सरसफाइकर्मीले व्यक्तिगत सुरक्षा सामाग्री (Personal Protective Equipment) लगाउनुको मुख्य उद्देश्य कामका क्रममा आउने स्वास्थ्य जोखिम र दुर्घटनाबाट आफूलाई जोगाउनु हो।

ढल, सेप्टिक ट्याङ्क, फोहोर वा फेकल स्लजसँग काम गर्दा धेरै प्रकारका जीवाणु, विषाक्त ग्यास, रसायन र धारिला वस्तुको जोखिम हुन्छ। सुरक्षा पोशाकले यी जोखिम कम गर्छ।

सरसफाइकर्मीले सुरक्षा पोशाक किन लगाउने ?

१. रोग र संक्रमणबाट जोगिन

ढल, सेप्टिक ट्याङ्क वा फेकल स्लजमा मानिसको मलमूत्र मिसिएको हुन्छ। यस्तो फोहोरमा विभिन्न प्रकारका ब्याक्टेरिया, भाइरस र परजीवी पाइन्छन्, जसले मानिसमा गम्भीर रोग लाग्न सक्छ। यदि सरसफाइकर्मीले बिना सुरक्षा पोशाक काम गरे भने यी जीवाणु छाला, घाउ, आँखा वा हात मार्फत शरीरभित्र प्रवेश गर्न सक्छन्।

सुरक्षा पोशाक, पञ्जा र बुट लगाउँदा शरीर र फोहोरबीच प्रत्यक्ष सम्पर्क हुन पाउँदैन। यसले सरसफाइकर्मीलाई हैजा, टाइफाइड, डायरिया, छालाको संक्रमण, आँखा र पेटसम्बन्धी रोग जस्ता संक्रमणबाट जोगाउन मद्दत गर्ने वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले बताउनुभयो।

२. विषाक्त पदार्थ र ग्यासबाट सुरक्षा

सेप्टिक ट्याङ्क, ढल वा बन्द ठाउँमा फोहोर सड्ने क्रममा विभिन्न प्रकारका हानिकारक ग्यास बन्न सक्छन्। जस्तै हाइड्रोजन सल्फाइड, मिथेन वा अमोनिया जस्ता ग्यास सास मार्फत शरीरमा पुगेमा टाउको दुख्ने, चक्कर आउने, सास फेर्न गाह्रो हुने, बेहोस हुने जस्ता समस्या आउन सक्छन्।

त्यसैले यस्तो ठाउँमा काम गर्दा मास्क वा रेस्पिरेटर प्रयोग गर्नु आवश्यक हुन्छ। यसले हानिकारक ग्यास र दुर्गन्ध सिधै सास मार्फत शरीरभित्र जानबाट कम गर्न मद्दत गर्छ र कामलाई सुरक्षित बनाउँछ।

३. शारीरिक चोटपटकबाट जोगिन

फोहोर वा ढलभित्र के–के वस्तु छन् भन्ने कुरा बाहिरबाट सजिलै थाहा हुँदैन। त्यहाँ भाँचिएको सिसा, फलामका टुक्रा, सुई, तार वा अन्य धारिला वस्तु हुन सक्छन्। बिना सुरक्षा उपकरण काम गर्दा हातखुट्टा काटिनु, घाइते हुनु वा संक्रमण लाग्ने जोखिम हुन्छ।

तर बाक्लो पञ्जा, रबर बुट र सुरक्षा पोशाक प्रयोग गर्दा यस्ता धारिला वस्तुबाट हुने चोटपटकको सम्भावना धेरै कम हुन्छ। यसले सरसफाइकर्मीको शरीरलाई सुरक्षित राख्न मद्दत गर्छ।

४. रसायन र फोहोरको प्रत्यक्ष सम्पर्क रोक्न

सरसफाइका क्रममा कहिलेकाहीँ क्लोरिन, डिटर्जेन्ट वा अन्य रासायनिक पदार्थ प्रयोग गरिन्छ। यी रसायन छालामा धेरै समयसम्म लागेमा जलन, एलर्जी वा छालामा घाउ हुन सक्छ।

सुरक्षा पोशाक, पञ्जा र बुटले शरीरलाई पूर्ण रूपमा ढाक्ने भएकाले फोहोर वा रसायनको प्रत्यक्ष सम्पर्क हुन पाउँदैन। यसले छालालाई सुरक्षित राख्छ र दीर्घकालीन स्वास्थ्य समस्याबाट जोगाउँछ।

५. कामलाई सुरक्षित र व्यवस्थित बनाउन

सुरक्षा पोशाक लगाउँदा सरसफाइकर्मीलाई आफू सुरक्षित भएको अनुभूति हुन्छ। यसले उनीहरूलाई आत्मविश्वासका साथ काम गर्न सहयोग गर्छ। साथै सुरक्षा उपकरण प्रयोग गर्दा काम पनि व्यवस्थित, जिम्मेवार र व्यावसायिक तरिकाले गर्न सकिन्छ।

यसले सरसफाइ क्षेत्रलाई सम्मानजनक र सुरक्षित पेशाका रूपमा स्थापित गर्न पनि सहयोग पुर्‍याउँछ।

सरसफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गर्दै वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) का कार्यकारी निर्देशक श्रेष्ठले व्यक्तिगत सुरक्षात्मक उपाय अपनाउने पहिलो दायित्व आफू स्वयंको भएको बताउनुभयो। उहाँले व्यबहार परिवर्तनको काम गाह्रो भए पनि यसको प्रयोगले आफै सुरक्षित रहने भएकाले प्रयोग गर्नैपर्ने बताउनुभयो। ‘व्यबहार परिवर्तनको काम धेरै गाह्रो त छ, तर नगरी नहुने पनि छ’ उहाँले भन्नुभयो ।

सरसफाइको काम गर्दा व्यक्क्तिगत सुरक्षा सामग्रीको प्रयोगलाई अनिवार्यता बनाउन नियमन गर्नुपर्ने उहाँको भनाइ थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार