
सिरहा : सिरहाको लहान नगरपालिकाको दक्षिणतर्फ, पूर्व–पश्चिम राजमार्गबाट अलि भित्र पसेपछि मटिअर्वा टोल आइपुग्छ। प्रायः सदायहरुको बसोबास रहेको यही टोलमा एउटा दृश्यले जो कोहीको ध्यान तान्छ । एउटा सानो झुप्रो, जो बाँसको टाँटी र माटोले बनेको छ, तर त्यसकै जगमा टाँसिएर ठडिएको छ एउटा पक्की शौचालय।
यो घर र शौचालयको भिन्नताले एउटा ठूलो सामाजिक परिवर्तनको कथा बोल्छ । जसको अगुवा हुनुहुन्छ, बिमला सदाय।
बिमलाको आर्थिक अवस्थाले उहाँलाई पक्की घर बनाउने क्षमता दिएन । तर उहाँको चेतनाले खुला ठाउँमा शौच गर्न निस्कन पनि दिएन। विगतमा चलेको सरसफाइ अभियानका क्रममा कच्ची शौचालय बनाए पनि समयसँगै भत्किए।
मटिअर्वाका धेरै परिवार फेरि पुरानै अवस्थामा फर्किए, कोही संयुक्त शौचालयको पालो पर्खिन थाले त कोही फेरि खुल्ला ठाउँमै शौच गर्न जान बाध्य भए।
तर बिमलाले हार मान्नुभएन। उहाँ भन्नुहुन्छ “घर त बाँस र माटोको भए पनि जेनतेन ओत लाग्न सकिन्छ, तर एउटा महिलाका लागि खुला ठाउँमा शौच गर्नु भनेको आफ्नो इज्जत सडकमा राख्नु जस्तै रहेछ। मलाई अरूको दान कुरेर बस्नु थिएन, त्यसैले आफ्नै पौरखले यो पक्की शौचालय बनाएँ।”

लहान नगरपालिकालाई करिब १० बर्ष अघि नै खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि अझै ४ हजार २ सय घरधुरी शौचालयविहीन भएको पाइए पछि गत नोभेम्बर १९ (विश्व शौचालय दिवस) का दिन नगरपालिकाले वाटर एड नेपालको सहयोगमा ‘घरघरको शान, स्वच्छता अभियान’ सुरु गर्यो । त्यही अभियानले बिमलाको मनमा गहिरो प्रभाव पार्यो।
शौचालय नभएको तथ्याङ्कभित्र आफूलाई पार्नु भन्दा बिमलाले आफूलाई उदाहरण बनाउने निर्णय गर्नुभयो। कसैको आर्थिक सहयोग बिना, आफ्नै सानो लगानी र पसिनाले उहाँले घरको भित्तासँगै पक्की शौचालय बनाउनुभयो।
चर्पीले दिएको इज्जत र आत्मसम्मान
बिमलाको लागि यो शौचालय मलमूत्र विसर्जन गर्ने ठाउँ मात्र भएको छैन । यो उहाँको इज्जत र आत्म सम्मानको प्रतीक बनेको छ । उहाँका छिमेकीहरू अझै पनि शौचालयको अभावमा समस्या झेल्दैछन्, तर बिमलाको घरमा आएको यो परिवर्तनले टोलमै नयाँ छलफलको सुरुवात भएको छ ।

बिमला गर्वका साथ भन्नुहुन्छः “मेरो घर सडकमै छ, त्यसैले यहाँबाट हिड्ने मानिसहरुले एक पटक मेरो घर र शौचालयलाई हेर्छन्, सायद घरभन्दा शौचालय राम्रो देखेर होला ?’
शौचालय हुनु भनेको सरसफाइ मात्र नभइै महिलाको सम्मान र इज्जतसँग जोडिएको विषय हो । बिमला भन्नुहुन्छ ‘मैले खुला ठाउँमा शौच गर्न जाँदा भोगेको सास्ती सम्झिँदा पनि अहिले अत्यास लाग्छ, अहिले त कति सजिलो भएको छ ।’
लहानको मटिअर्वा टोलमा बिमला सदायले देखाएको आँटले एउटा महत्वपूर्ण पाठ सिकाएको छ । ‘परिवर्तनका लागि बजेट भन्दा पनि दृढ इच्छाशक्ति चाहिन्छ। जब एउटा बाँसको टाँटी र माटोले लिपेको घरमा बस्ने महिलाले आफ्नै पौरखले पक्की शौचालय बनाउन सक्नुहुन्छ भने ‘घरघरके शान, स्वच्छ लहान’ बनाउने सपना अब धेरै टाढा छैन।


180 पटक हेरिएको 

