
बागलुङ : बागलुङ स्थित धौलागिरी प्रादेशिक अस्पतालमा निर्माण गरिएको प्रयोगकर्तामैत्री खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सुविधा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), युनिसेफ नेपाल, द प्यान्डेमिक फन्ड तथा धौलागिरी प्रादेशिक अस्पतालको संयुक्त पहलमा “बागमती र गण्डकी प्रदेशका स्वास्थ्य संस्थामा WASH, HCWM तथा IPC सेवामा सुधार” परियोजना अन्तर्गत उक्त सुविधा निर्माण गरिएको हो।

नवनिर्मित संरचनामा एक अपाङ्गतामैत्री, एक पुरुष र एक महिला तीन कम्पार्टमेन्ट सहितको प्रयोगकर्तामैत्री शौचालय समावेश गरिएको छ, जसले सबै सेवाग्राहीका लागि समावेशी पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। साथै, सेन्सरमा आधारित हात धुने सुविधा, प्रयोगकर्तामैत्री हात धुने स्टेशन तथा सुरक्षित खानेपानी स्टेशन पनि जडान गरिएको छ।

स्वास्थ्य संस्थामा फोहोर व्यवस्थापन सुदृढ गर्न जोखिमयुक्त तथा गैरजोखिमयुक्त फोहोरका लागि औषधि ट्रली र ढुवानी ट्रली समेत उपलब्ध गराइएको छ।
हस्तान्तरण कार्यक्रम अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद शर्मा, युनिसेफ नेपालका WASH विज्ञ सिद्धि श्रेष्ठ, ENPHO कार्यक्रम संयोजक बुद्ध बज्राचार्य, इन्जिनियर देवेन्द्र श्रेष्ठ, शारीरिक अपाङ्गता संघ बागलुङका प्रतिनिधिहरू ज्ञानन्द्र बास्तोला र तीर्थराज श्रेष्ठ, WASH FIT टोली तथा अस्पतालका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमको सुरुवात WASH FIT टोलीको बैठकबाट भएको थियो, जसमा मोडल वार्ड विकास तथा WASH Incremental Improvement Plan अन्तर्गत सञ्चालन गरिएका विभिन्न क्रियाकलापहरुबारे छलफल गरिएको थियो।
उक्त सुविधा अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद शर्मा, मेडिकल सुपरिन्टेन्डेन्ट किरण तिवारी र युनिसेफ नेपालका WASH विज्ञ सिद्धि श्रेष्ठ लगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै ह्विलचेयर प्रयोग गर्ने अस्पतालकी कर्मचारी कविता शाक्यले अपाङ्गतामैत्री शौचालय निर्माणले लामो समयदेखि रहेका सेवाग्राहीका गुनासा सम्बोधन भएको बताउनुभयो।। यस्तै, सेवा लिन आएकी ह्विलचेयर प्रयोगकर्ता पवित्रा केसीले विगतमा आवश्यक पूर्वाधार अभावका कारण धेरै समस्या भोग्नुपरेको स्मरण गर्दै नयाँ सुविधाले आफू निकै खुशी र उत्साहित भएको बताउनुभयो।

कार्यक्रमको समापनमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यक्रम संयोजक बुद्ध बज्राचार्यले सहयोग र समन्वयका लागि अस्पताल व्यवस्थापन समिति तथा WASH FIT टोलीप्रति आभार व्यक्त गर्नुभयो भने यस्तै, युनिसेफ नेपालका WASH विज्ञ सिद्धि श्रेष्ठले दीगो सञ्चालनका लागि उचित सञ्चालन तथा मर्मत (O&M) को महत्वमा जोड दिनुभयो।

हस्तान्तरण कार्यक्रमको अन्त्यमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले उपलब्ध सुविधाको प्रभावकारी सञ्चालन तथा मर्मतमा प्रतिबद्धता जनाउँदै आगामी दिनमा अस्पतालका अन्य वार्ड तथा क्षेत्रमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो।

थप फोटाहरु ः





फोटाहरु : बुद्ध बज्राचार्य/ एन्फो


373 पटक हेरिएको 

