
जाजरकोट : जाजरकोट तथा रुकुम पश्चिमका चार स्थानीय तहमा कार्यरत वास इकाईका कर्मचारीहरूलाई जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापन (CCA/DRR) सम्बन्धी ३ दिने पुनर्ताजगी तालिम दिईएको छ ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना सहयोग इकाई, सुर्खेतको प्राविधिक सहजीकरणमा नलगाड नगरपालिका, भेरी नगरपालिका (जाजरकोट), आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिकाको संयुक्त आयोजनामा तालिम दिईएको हो।
तालिममा चारवटै पालिकाका वास इकाईमा विभिन्न पदमा कार्यरत ३६ जना सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमहरू, पानीका स्रोतहरूमा पर्ने असर, विपद् जोखिम न्यूनीकरणका उपायहरू तथा दिगो WASH सेवा व्यवस्थापनका व्यावहारिक पक्षहरूबारे जानकारी गराइएको सुस्वाका वास संयोजक रबिन्द्र बिक्रम शाहीले जानकारी दिनुभयो।
तालिम अवधिभर विभिन्न अन्तरक्रियात्मक सत्र, समूह कार्य, अनुभव आदान–प्रदान तथा स्थानीय सन्दर्भमा आधारित अभ्यासहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा देखिएका चुनौतीहरू पहिचान गर्दै समाधानमुखी योजना तयार गर्ने अभ्यास समेत गरेका थिए।
समापन समारोहमा बोल्दै सुस्वा परियोजना सहयोग इकाईका डेपुटी टिम लिडर मान बहादुर बि.क. ले जलवायु परिवर्तन र विपद् जोखिमले विशेष गरी खानेपानी तथा सरसफाइ क्षेत्रमा गम्भीर असर पारिरहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता पुनर्ताजगी तालिमहरूले स्थानीय तहका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले तालिमबाट सिकिएका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदायस्तरसम्म प्रभावकारी रूपमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै, स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउँदै दिगो र उत्थानशील ध्ब्क्ज् प्रणाली निर्माणतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक र सान्दर्भिक रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले सिकेका विषयवस्तुहरूलाई आफ्नो पालिकामा लागू गर्दै जलवायु अनुकूल र विपद् प्रतिरोधात्मक खानेपानी तथा सरसफाइ सेवा प्रवाहमा योगदान पुर्याउने प्रतिबद्धता समेत जनाएका छन्।
सुस्वा परियोजना सहयोग इकाई, सुर्खेतका प्राविधिक टोलीद्वारा सहजीकरण गरिएको तालिम यही चैत्र ७ गते देखि ९ गते सम्म सन्चालन भएको थियो ।


451 पटक हेरिएको 

