नियमित खोप कार्यक्रम मार्फत सरसफाइ प्रवर्धनः जनस्वास्थ्य सुधारको लागि प्रभावकारी मोडेल

विश्वका लागि नै उदाहरणीय

  वास खबर सम्बाददाता  483 पटक हेरिएको

काठमाडौ :सरकारले नियमित खोप कार्यक्रम मार्फत सरसफाई प्रवर्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । रष्ट्रिय स्तरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, नीति निर्माता, विकास साझेदार, स्वास्थ्य विज्ञ, सातै प्रदेशका प्रदेश सचिव तथा स्वास्थ्य मन्त्रालयका अधिकारी, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागितामा मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा र वाटर एड नेपालको सहकार्यमा देशका ७७ वटै जिल्लामा सन् २०१४ देखि नियमित खोप कार्यक्रम मार्फत सरसफाई प्रवर्धन कार्यक्रम सञ्चालन भैरहेको छ ।

मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा नियमित खोप कार्यक्रम मार्फत सरसफाई प्रवर्धन कार्यक्रमको नमुना परिक्षण (पाइलट चरण) देखि देशव्यापी विस्तार सम्मको  समीक्षा गरिएको छ । कार्यक्रममा यस कार्यक्रमको दिगोपना, प्रभावकारिता र भविष्यका रणनीतिहरू माथि समेत गहन छलफल गरिएको थियो।

यसरी सुरु भएको थियो सरसफाई प्रवर्धन कार्यक्रम

नियमित खोप कार्यक्रम मार्फत सरसफाई प्रवर्धन कार्यक्रम नेपालमा स्वास्थ्य र सरसफाईलाई एकीकृत गर्ने नवीनतम प्रयासका रूपमा स्थापित भएको छ। सन् २०१४ मा जाजरकोट, बर्दिया, नवलपरासी र म्याग्दी जिल्लामा नमुना परिक्षणका रूपमा सुरु गरिएको थियो।

नमुना परिक्षणको सफलतापछि नेपाल सरकारले सन् २०१८ मा यसलाई देशभर विस्तार गर्ने नीति लिएको थियो। त्यसपछि सन् २०२० मा रोटाभाइरस खोपको सुरुवातसँगै यो कार्यक्रम ७७ वटै जिल्लामा कार्यान्वयनमा ल्याएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी गराउनुभयो।

हाल यो कार्यक्रम एक सशक्त राष्ट्रिय कार्यक्रमको रूपमा विकास भइसकेको छ । वाटर एड युकेका स्वच्छता प्रमुख डा.ओम प्रसाद गौतमका अनुसार स्वच्छतालाई सरकारको नियमित खोप कार्यक्रममा एकीकृत गर्ने नेपाल नै पहिलो राष्ट्र हो ।

डा. गौतमका अनुसार वार्षिक रूपमा ५ लाख ३० हजारभन्दा बढी आमाहरू तथा अभिभावकसम्म पहुँच पुर्‍याएको छ भने प्रत्येक महिना देशभर १९ हजारभन्दा बढी खोप सत्र मार्फत सेवा प्रदान भइरहेको छ। यस्तै १५ महिनामुनिका १८ लाखभन्दा बढी बालबालिकाका अभिभावकलाई समेटेको छ।

कार्यक्रम कार्यान्वयनका क्रममा २४ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ, जसले संघीय, प्रदेश र स्थानीय तहसम्म प्रभावकारी सेवा प्रवाह सुनिश्चित गरेको छ।

सरसफाई व्यवहार परिवर्तनमा केन्द्रित

नियमित खोप कार्यक्रम मार्फत सरसफाई प्रवर्धन कार्यक्रमले नियमित खोप सेवासँगै सरसफाई व्यवहार प्रवर्धनलाई जोड्दै अभिभावकहरूलाई सात प्रमुख व्यवहारबारे सचेत गराउँदै आएको छ। जसमा साबुनपानीले हात धुने, पिउने पानीलाई सुरक्षित बनाउने, खाद्य स्वच्छता अपनाउने, पूर्ण स्तनपान गराउने, शौचालय प्रयोग तथा बालबालिकाको दिसा सुरक्षित व्यवस्थापन गर्ने र १५ महिनाभित्र पूर्ण खोप सुनिश्चित गर्ने ।

कार्यक्रमले व्यवहार केन्द्रित डिजाइन अपनाउँदै भावनात्मक सन्देश, दृश्य सामग्री, व्यवहार प्रदर्शन र समुदायको सक्रिय सहभागिता मार्फत दीर्घकालीन व्यवहार परिवर्तनमा जोड दिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो।

“स्वच्छ परिवार, सुखी परिवार” अभियान अन्तर्गत सञ्चालन हुने यस कार्यक्रमले पूर्ण खोप र सबै सरसफाई सत्र पूरा गर्ने परिवारलाई “नमूना परिवार” का रूपमा सम्मान गर्दै आएको विभिन्न जिल्लाबाट उपस्थित भएका स्वास्थ्यकर्मीहरुले बताएका छन्।

पाइलटिङ देखि राष्ट्रिय मूल्यांकनसम्म

नियमित खोप कार्यक्रम मार्फत सरसफाई प्रवर्धन कार्यक्रमले सरसफाइ व्यवहार, नियमित खोप तथा सरसफाइ र हातको स्वच्छताबाट हुने रोगहरुमा उल्लेखनीय कमी आएको तथ्याङ्क प्रस्तुत गरिएको थियो। डा.गौतमका अनुसार

√ प्रमुख सरसफाई व्यवहार २ प्रतिशत बाट बढेर ५३ प्रतिशत पुगेको

√ खोप कभरेजमा वृद्धि र ड्रपआउट दरमा कमी

√ झाडापखाला रोगको दर १५ प्रतिशत बाट घटेर ५ प्रतिशतमा मा झरेको

√ स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि भएको ।

√ देशव्यापी विस्तार पश्चात १५ महिना मुनिका बालबालिकाका १८ लाख भन्दा बढी अभिभावकसम्म पहुँच पुगेको ।

यो नतिजाले नियमित खोप कार्यक्रममा स्वच्छता कार्यक्रमलाई एकीकृत गर्दा जनस्वास्थ्यमा ठोस सुधार ल्याउन सकिने प्रमाणित गरेको छ। त्यसैगरी, राष्ट्रिय स्तरको मूल्यांकन (२०२५/२६) ले पनि सकारात्मक संकेत दिएको छ।

√ स्वच्छता व्यवहार र खोप कभरेज दुवैमा सुधार

√ स्वास्थ्यकर्मीहरूको क्षमता र आत्मविश्वास वृद्धि

√ लागत प्रभावकारिता : प्रति बालबालिका अतिरिक्त खर्च केवल ३८० रुपैयाँ (२.६ अमेरिकी डलर) मात्र

मूल्यांकनले स्वास्थ्य प्रणाली सुदृढीकरणमा पनि महत्वपूर्ण योगदान देखाएको छ, जसमा समन्वय, स्रोत व्यवस्थापन र एकीकृत सेवा प्रवाहमा सुधार भएको उल्लेख गरिएको छ।

दिगोपनाका लागि रणनीति

कार्यक्रमको दीर्घकालीन प्रभाव सुनिश्चित गर्न नेपाल सरकारले “Transition to Sustainability (T2S)” रणनीति अगाडि बढाएको छ।यस रणनीतिले खोप कार्यक्रममा सरसफाईको संस्थागत एकीकरण, सरकारी स्वामित्व सुदृढीकरण, दिगो वित्तीय स्रोत सुनिश्चितता, अनुगमन प्रणाली तथा डिजिटल नवप्रवर्तन, बहु-क्षेत्रीय समन्वय विस्तार जस्ता पक्षहरूमा विशेष जोड दिएको छ।

मूल्यांकन प्रतिवेदनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन केही व्यवहार परिवर्तनमा निरन्तर लगानी गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको थप क्षमता अभिवृद्धि गर्नुपर्ने, साबुन, पानी जस्ता आधारभूत सामग्रीको उपलब्धता सुनिश्चित हुनुपर्ने, अनुगमन तथा मूल्यांकन प्रणाली सुदृढीकरण गर्नुपर्ने, डिजिटल उपकरण सहित मिश्रित सेवा प्रवाह हुनुपर्ने, दीर्घकालीन वित्तीय स्रोत सुनिश्चितता हुनुपर्ने जस्ता महत्वपूर्ण सिफारिस गरेको छ ।

विद्यमान स्वास्थ्य प्रणालीभित्र स्वच्छता र सरसफाइ कार्यक्रमलाई एकीकृत गर्दा कम लागतमा प्रभावकारी र दिगो जनस्वास्थ्य उपलब्धि हासिल गर्न सकिने देखाएको छ।

कार्यक्रममा गरिएको प्यानल छलफलमा समेत मजबुत सरकारी नेतृत्व, विकास साझेदारहरूको सहकार्य र निरन्तर नवप्रवर्तनका कारण नेपालले यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै उदाहरण प्रस्तुत गरेको विचार व्यक्त गरिएको थियो।

थप फोटाहरुः


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार