बर्दियाका पाँच पालिकाका ३३ मध्ये २७ वटा विद्यालय बन्यो तीन तारे

३३ विद्यालयमा लैङ्गिक तथा अपाङ्गतामैत्री WASH सुविधा विस्तार

  वास खबर समाचारदाता  281 पटक हेरिएको

बर्दिया : बर्दिया जिल्लाको पाँच पालिकाका ३३ मध्ये  २७ वटा सामुदायिक विद्यालयले तीन तारा हासिल गरेका छन्।

सन् २०२३ देखि २०२६ सम्म बर्दियाको गुलरिया नगरपालिका, ठकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवा गाउँपालिकाका ३३ विद्यालयमा सञ्चालन गरिएको WASH GAINS (WASH for Gender and Adolescent Inclusion in Schools in Nepal) परियोजना अन्तर्गत विद्यालयहरुको खानेपानी, सरसफाइ र स्वच्छता स्तर अभिबृद्धि गराई तीन तारा स्तरीकरण गरिएको हो।

वाटर एड नेपालले सोमबार आयोजना गरेको वास गेन्स परियोजनाको समापन तथा सिकाइ आदानप्रदान कार्यक्रममा विद्यालय सरसफाइ तथा समावेशी WASH व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी गराईएको हो।

तीन ताराको स्तरमा पुगेको २७ मध्ये २० वटा विद्यालयलाई सम्बन्धित स्थानीय तहले औपचारिक रूपमा प्रमाणीकरण समेत गरिसकेका छन्।

युके एड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल प्रजनन स्वास्थ्य केन्द्र, स्थानीय सरकार तथा विद्यालयहरूसँगको साझेदारीमा परियोजना कार्यान्वयन गरिएको थियो।

परियोजना मार्फत विद्यालयहरूमा कार्यशील, लैङ्गिक पृथक, किशोरमैत्री तथा अपाङ्गतामैत्री WASH सुविधा स्थापना गरिएको वाटर एड नेपाल, वास गेन्स परियोजनाका परियोजना प्रबन्धक उमा शंकर यादवले बताउनुभयो।

अन्तिम मूल्यांकन अनुसार परियोजनाबाट उपलब्ध गराइएका सुविधाप्रति ९९ प्रतिशत प्रयोगकर्ता सन्तुष्टि देखिएको छ, जसले विद्यालयमा सुरक्षित, सम्मानजनक र समावेशी सरसफाइ सेवाको प्रभावकारिता पुष्टि गरेको छ।

परियोजनाले विशेषगरी छात्रा, किशोरी तथा अपाङ्गता भएका विद्यार्थीहरूको विद्यालय उपस्थितिमा सुधार, आत्मविश्वास वृद्धि र सुरक्षित सिकाइ वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सरोकारवालाहरूले बताएका छन्।

स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र समुदायको सक्रिय समन्वयका कारण विद्यालयहरूले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि अनुसार आवश्यक सुधार गर्दै तीन तारा हासिल गर्न सफल भएको परियोजनाले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार