काठमाडौं : सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवामा देखिएको विश्वव्यापी वित्तीय अन्तर घटाउने उद्देश्य सहित काठमाडौंमा भोलिदेखि ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ आयोजना हुँदैछ। खानेपानी मन्त्रालय, सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) र WAFON ले संयुक्त रुपमा आयोजना गरेको सम्मेलन अप्रिल १ देखि ३ सम्म सञ्चालन हुनेछ।
तीन दिने सम्मेलनले खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रमा देखिएको लगानी अभाव, खर्च दक्षता, दीर्घकालीन दिगोपना तथा ठूला परियोजनामा वित्तीय पहुँच विस्तारका उपायहरूमा गहन छलफल गर्ने सोफेनका अध्यक्ष सरद प्रसाद अधिकारीले जानकारी दिनुभयो। WASH क्षेत्रमा रहेको वित्तीय तथा खर्च अन्तरलाई सम्बोधन गर्दै दीर्घकालीन र प्रभावकारी सेवा सुनिश्चित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताउनुभयो।
‘सम्मेलनका प्रमुख उद्देश्यहरूमा WASH वित्तीय तथा खर्च अन्तर कम गर्ने समाधान खोज्नु, उपलब्ध स्रोतको प्रभावकारी तथा दक्ष उपयोगका लागि क्षेत्रीय क्षमता अभिवृद्धि गर्नु, दीर्घकालीन WASH प्रणाली तथा सेवाको दिगोपनाका लागि लगानी र वित्तीय प्रवाह बढाउनु, ठूलो स्तरका परियोजनाका लागि लागतयुक्त रोडम्याप तयार गर्नु तथा सरकार र लगानीकर्ताबीच ‘म्याच–मेकिङ’ अवसर सिर्जना गर्नु हो’ उहाँले भन्नुभयो।
विश्व बैंक र GWSP (2024) को तथ्यांक अनुसार, विश्वभर सुरक्षित WASH सेवा हासिल गर्न वार्षिक १४० अर्ब अमेरिकी डलर बराबरको वित्तीय अभाव रहेको छ। त्यसैगरी, दक्षिण एसियाले वार्षिक ४.७ अर्ब डलर खर्च गरिरहेको भए पनि ९ गुणा वृद्धि गर्दै ४०.८ अर्ब डलर आवश्यक पर्ने देखिएको छ। त्यस्तै, न्यून आय भएका देशहरूले ०.८ अर्ब डलर मात्रै खर्च गरिरहेका छन्, जबकि ४२ गुणा बढी अर्थात् ३२.५ अर्ब डलर आवश्यक रहेको उल्लेख छ।
अझै चिन्ताजनक पक्ष के छ भने, बजेट विनियोजन भए पनि WASH बजेटको औसत २८ प्रतिशत रकम खर्च हुन नसक्ने अवस्था रहेको छ। औसत कोष उपयोग दर ७२ प्रतिशत मात्रै रहेको तथ्यांकले स्रोत परिचालनमा दक्षता अभावलाई देखाएको छ।
सम्मेलनमा WASH परियोजना वित्तीय व्यवस्थापन तथा कार्यान्वयन, वित्तीय अवरोध र समाधान, बजार पहुँच, मिश्रित लगानी (Blended Investment), उद्यमशीलता, जलवायु उत्थानशील नवप्रवर्तन, समावेशी लगानी, लागतयुक्त रोडम्याप, परियोजना म्याच–मेकिङ, अन्तरक्षेत्रीय सहकार्य तथा राजनीतिक–नीतिगत प्रतिबद्धता जस्ता विषयमा विशेष छलफल हुने अध्यक्ष अधिकारीले बताउनुभयो।
कार्यक्रमका मुख्य आकर्षणहरू :
विश्वस्तरीय WASH नेताहरू र नीति निर्मातासँग प्लेनरी सेसन तथा प्यानल छलफल, प्राविधिक कार्यपत्र तथा केस स्टडी प्रस्तुति, परियोजना वित्तीय जोड्ने कार्यशाला तथा म्याच–मेकिङ सेसन, अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी पोस्टर प्रस्तुति, साझेदारीका लागि नेटवर्किङ स्पेस, नेपालका उत्कृष्ट WASH परियोजनाको स्थलगत अवलोकन, निजी क्षेत्रका नवप्रवर्तकहरूको प्रदर्शनी तथा काठमाडौंमा सांस्कृतिक भ्रमण र गाला डिनर कार्यक्रमका मुख्य आकर्षणका रुपमा समावेश छन्।
सम्मेलनबाट WASH वित्तीय अन्तर कम गर्ने ठोस रणनीति, लगानी र नीतिगत सुधार मार्गदर्शन गर्ने प्रस्ताव, क्षेत्रीय सहकार्य र नवप्रवर्तनमा वृद्धि, साथै जलवायु उत्थानशीलता, आपत्कालीन अवस्था र आर्थिक योजनामा WASH को उच्च प्राथमिकता सुनिश्चित हुने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो।
सम्मेलनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्रका लगानीकर्ता तथा नवप्रवर्तक, अनुसन्धानकर्ता तथा शिक्षाविद्, सामुदायिक अगुवा, व्यवहारकर्मी, दातृ निकाय तथा विकास साझेदारहरूको उल्लेखनीय सहभागिता रहनेछ।


120 पटक हेरिएको 


