नयाँ वर्षसँगै ललितपुर महानगरमा फोहोर संकलनका लागि ई–गाडी सञ्चालनमा

  वास खबर सम्बाददाता  103 पटक हेरिएको

ललितपुर : ललितपुर महानगरपालिकाले नयाँ बर्षको शुभारम्भ सँगै ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो ।

महानगर प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच यी गाडीहरू हस्तान्तरण गर्नुभयो। फोटोन कम्पनीका यी गाडीहरू विशेष गरी ललितपुरका पुराना र साँघुरा गल्लीहरूमा सहजै जान सक्ने गरी डिजाइन गरिएका छन् । ४.९ मिटरको टर्निङ रेडियस भएका यी गाडीहरूले महानगरको फोहोर व्यवस्थापनमा क्रान्तिकारी सुधार ल्याउने विश्वास गरिएको छ ।

उहाँले उपलब्ध भएसम्म अब पेट्रोल र डिजेलबाट चल्ने गाडी नचल्ने बताउनुभयो । मेयर महर्जनले भन्नुभयो ‘हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदूषण एकदम निषेध छ । यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ । यस्तो ईभी पाउन सकिएला त ? हाम्रो सबैभन्दा ठुलो चिन्ताको विषय यही थियो । र फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ । साँच्चै भन्नुपर्दा हामी अत्यन्तै खुसी छौँ ।’

महानगरका अनुसार यी गाडीहरूमा ‘इलेक्ट्रिक बुम’ जडान गरिएको छ, जसले गर्दा फोहोर खन्याउन थप जनशक्तिको आवश्यकता पर्दैन । यो पहलले वातावरण संरक्षण मात्र नभई महानगरको खर्चमा पनि ठूलो कटौती गर्ने उहाँको विश्वास छ । डिजेल गाडीको तुलनामा विद्युतीय गाडी सञ्चालन गर्दा वार्षिक करिव ७० लाख बचत हुने महानगरको प्राविधिक अध्ययनले देखाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार