सरकारी कार्यालयका शौचालय सरसफाइ कार्यविधि २०८३ जारी

शौचालय भित्र हुनुपर्ने न्यूनतम मापदण्ड र कार्यसम्पादन सूचक तोकियो

  वास खबर संवाददाता  184 पटक हेरिएको

काठमाडौँ : सरकारी कार्यालयहरूमा रहेका शौचालयहरूको अवस्था सुधार गर्ने उद्देश्यले खानेपानी मन्त्रालयले पहिलो पटक “शौचालय सरसफाइ कार्यविधि – २०८३” जारी गरेको छ। यस कार्यविधिले सरकारी निकायहरूमा शौचालय प्रयोग, सरसफाइ, व्यवस्थापन र अनुगमन सम्बन्धी स्पष्ट मापदण्ड तय गरेको छ।

मन्त्रालयका अनुसार अब सबै सरकारी कार्यालयहरूले आफ्ना शौचालयहरू कार्यालय समयभर सर्वसाधारण तथा सेवाग्राहीका लागि खुला राख्नुपर्नेछ। यसअघि कतिपय कार्यालयका शौचालय सफा नहुने, दुर्गन्धित हुने गुनासो आउने गरेकामा नयाँ कार्यविधिले त्यस्तो अभ्यासलाई निरुत्साहित गरेको छ।

कार्यविधिमा सरसफाइलाई प्राथमिकतामा राख्दै दिनमा कम्तीमा दुई पटक अनिवार्य सफाइ गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको सरसफाइ कर्मचारीले बिहान ९ बज्नुअघि र दिउँसो १ देखि २ बजेको बीचमा शौचालय तथा त्यसको परिसर पूर्ण रूपमा सफा गरिसक्नुपर्नेछ। प्रयोग भइरहेकै समयमा पनि आवश्यक देखिएमा तुरुन्तै फोहर हटाउनुपर्ने प्रावधान राखिएको छ।

यसैगरी, शौचालयभित्र रहेका धारा, सिङ्क, वेसिन, कमोड, प्यान, युरिनल लगायत सबै संरचना नियमित रूपमा सफा राख्नुपर्ने उल्लेख छ। सरसफाइ सतहमा सीमित नराखी भुइँ, भित्ता, सिलिङ, झ्याल-ढोका र बत्ती समेत सफा गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले समग्र स्वच्छता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

कार्यविधिले सरसफाइ सामग्रीको उचित प्रयोगमा पनि जोड दिएको छ। कार्यालयले उपलब्ध गराएको सरसफाइ तथा वास्नादार सामग्रीको जिम्मेवारी कर्मचारीले लिनुपर्ने र स्वास्थ्यमा असर नपर्ने गरी सन्तुलित मात्रामा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। प्रत्येक सफाइपछि शौचालयमा वास्नादार सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

त्यस्तै, सेवाग्राहीलाई सचेत गराउन शौचालय भित्र आवश्यक सूचना र संकेतहरू राख्नुपर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीको चाप र सुविधालाई ध्यानमा राख्दै आवश्यक थप व्यवस्थापन गर्न सकिने लचिलो प्रावधान पनि कार्यविधिमा समेटिएको छ।

खानेपानी मन्त्रालयका अनुसार यो कार्यविधि सरकारी कार्यालयहरूमा देखिँदै आएको अस्वच्छ शौचालय व्यवस्थापनको समस्या समाधान गर्ने महत्वपूर्ण कदम हो।

यस कार्यविधिको प्रभावकारी कार्यान्वयन भएमा सरकारी कार्यालयहरूमा सेवाग्राहीले स्वच्छ र सुरक्षित शौचालय प्रयोग गर्न पाउने विश्वास गरिएको छ। साथै, यसले सार्वजनिक संस्थाहरूमा सरसफाइ संस्कृतिको विकासमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हेर्नुहोस् सरकारी कार्यालयका शौचालय सरसफाई कार्यविधि :

SW


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार