खाँदबारीमा आधुनिक ढल व्यवस्थापन आयोजना तीव्र गतिमा, ३० प्रतिशत काम सम्पन्न

  वास खबर सम्बाददाता  82 पटक हेरिएको

सङ्खुवासभा : सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आधुनिक ढल व्यवस्थापन आयोजना तीव्र गतिमा अघि बढिरहेको छ। खाँदबारी ढल व्यवस्थापन आयोजना अन्तर्गत हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको जनाइएको छ।

बढ्दो जनसङ्ख्या चापसँगै फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि खाँदबारी नगरपालिकाको पहलमा सङ्घीय सरकारको सहकार्यमा आयोजना कार्यान्वयनमा ल्याइएको हो। खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, धनकुटाले २०८२ असारमा ठेक्का आह्वान गरी एमएमसिआरएसएनएस जेभी निर्माण कम्पनीसँग १८ करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको थियो।

नगर प्रमुख महेश थपलियाका अनुसार खाँदबारीको दीर्घकालीन ढल व्यवस्थापनका लागि कुल ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। क्रमागत रूपमा बजेट सुनिश्चित गर्दै आयोजना अघि बढाइएको उहाँले बताउनुभयो। हाल पहिलो चरणअन्तर्गत १८ करोड २३ लाख रुपैयाँ लागतमा निर्माण कार्य भइरहेको छ। यस आयोजनालाई नगरपालिकाको गौरवको योजनाका रूपमा लिइएको छ।

आयोजना अन्तर्गत खाँदबारी बजारदेखि नगरपालिका–९ सुकेचौरसम्म करिब आठ किलोमिटर क्षेत्रमा भूमिगत पाइपलाइन विस्तार भइरहेको छ। भानुचोक, जिल्ला समन्वय क्षेत्र हुँदै विभिन्न बस्ती पार गर्दै ढल प्रशोधन केन्द्रसम्म पाइप जडान गरिनेछ। पाइप करिब डेढ मिटर गहिराइमा राखिने भएकाले प्रणाली दीर्घकालीन रूपमा सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

ढल सङ्कलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रत्येक २५ मिटरमा ३४० भन्दा बढी म्यानहोल निर्माण गरिनेछ। साथै, प्रशोधनका लागि १४ वटा ट्याङ्की निर्माण गर्ने योजना रहेको छ। घरघरबाट निस्कने फोहोर पानी ती ट्याङ्कीमार्फत विभिन्न चरणमा प्रशोधन गरी वातावरणमैत्री रूपमा बिसर्जन गरिने जनाइएको छ।

निर्माण कम्पनीका प्रतिनिधि मिलन गौतमका अनुसार तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। प्रशोधनपछि निस्कने पानी पिउनबाहेक कृषि तथा सिँचाइमा उपयोग गर्न सकिने बताइएको छ।

ढुङ्गेधारा–ठुलोपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिव्यराज श्रेष्ठले फोहोर व्यवस्थापनमा सुधार देखिन थालेको बताउनुभयो। उहाँका अनुसार पहिले अव्यवस्थित फोहोर ढुवानीका कारण बाटोमै फोहोर खस्ने तथा ल्यान्डफिल क्षेत्रमा दुर्गन्ध र झिँगा फैलिने समस्या थियो। अहिले स्रोतमै फोहोर छुट्याएर व्यवस्थापन गर्न थालेपछि अवस्था सुधार हुँदै गएको उहाँको भनाइ छ।

सुकेचौर क्षेत्रमा करिब ७५ रोपनी जग्गामा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ। उक्त जग्गा नगरपालिकाले यसअघि नै ल्यान्डफिल साइट तथा ढल व्यवस्थापनका लागि अधिग्रहण गरेको हो। आयोजनाबाट करिब ८०० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

नगरपालिकाका अनुसार आगामी वर्ष भानुचोकभन्दा माथिल्लो क्षेत्रसम्म ढल विस्तार गर्ने योजना रहेको छ। आयोजना २०८४ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि खाँदबारीको सरसफाइ, सार्वजनिक स्वास्थ्य तथा वातावरणीय अवस्थामा दीर्घकालीन सुधार आउने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार