कर्णालीमा खानेपानी तथा सरसफाइ क्षेत्र सुधारका लागि फ्ल्यागशिप कार्यक्रम

  वास खबर समाचारदाता  110 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दीगो विकासका लागि “Water & Sanitation Flagship Program (2026–2030)” तर्जुमा गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ।

बुधबार कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आयोजनामा, नेपाल सरकार खानेपानी मन्त्रालयको सहजीकरण तथा युनिसेफ नेपाल र हेल्भेटास नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

समापनका क्रममा बोल्दै मन्त्री बुढाले खानेपानी र सरसफाइ मानव जीवनका आधारभूत आवश्यकता मात्र नभई स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउनुभयो। कर्णाली प्रदेशमा सुरक्षित खानेपानी र दिगो सरसफाइको पहुँच विस्तार अझै पनि प्रमुख प्राथमिकताको विषय रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले हालै रुकुम पश्चिम र जाजरकोट जिल्लामा गरिएको स्थलगत अनुगमनका क्रममा देखिएका सकारात्मक अभ्यास र चुनौतीहरूले अझ व्यवस्थित योजना तथा प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याएको बताउनुभयो।

प्रदेश सरकारले खानेपानी, सिचाइ तथा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नीति, योजना तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै सुरक्षित खानेपानीको पहुँच विस्तार, सरसफाइ सुधार, जलस्रोतको दिगो उपयोग र स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिइने उहाँको भनाइ थियो। उहाँले दिगो उपलब्धिका लागि संघ सरकार , प्रदेश सरकार , स्थानीय तह, विकास साझेदार तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री बुढाले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेको सन्दर्भमा वास्तविक आवश्यकता पहिचानका आधारमा बजेट विनियोजन गरिने स्पष्ट पार्दै मन्त्री बुढाले स्रोतको अधिकतम उपयोग र परिणाममुखी कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

साथै, खानेपानी तथा सरसफाइ संरचनाको दीगो सञ्चालनका लागि उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै निर्माणपछि संरचनाको रेखदेख, संरक्षण र व्यवस्थापनमा उपभोक्ताले अपनत्व लिनुपर्नेमा जोड दिनुभयो।

जगेर्ना अभावमा केही संरचनाहरू जीर्ण बन्दै गएको अवस्थाको अन्त्य गर्न सबै सरोकारवालालाई सक्रिय हुन आग्रह गर्नुभयो। कार्यशालाबाट प्राप्त सुझाव, अनुभव तथा निष्कर्षहरूले आगामी नीति तथा कार्यक्रम निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

मन्त्रालयका सचिव डा. योगेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री माननीय विजया बुढा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सम्बन्धित क्षेत्रका कर्मचारी तथा खानेपानी एवं सरसफाइ क्षेत्रमा कार्यरत संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

फोटोहरु : मन्त्री बिजया बुढाको सचिवालय।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार