
काठमाडौं : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको एक मात्र डिजिटल पत्रिका वास खबरका प्रधान सम्पादक पी.टी.लोप्चन सम्मानित हुनु भएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले सातौँ बार्षिक साधारण सभाको अवसरमा नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।
प्रधान सम्पादक लोप्चन सहित विभिन्न सञ्चारमाध्यममा कार्यरत सात जना पत्रकारलाई पनि सम्मान गरिएको छ। सम्मानित हुने अन्य पत्रकारहरूमा खबरविन्दु डटकमका रोहित श्रेष्ठ, रातोपाटी डटकमका राजेश भण्डारी, न्युज २४ टेलिभिजनका नारायण पंगेनी, शीलापोष्ट डटकमका बटुकराज गिरी, रातोपर्दा डटकमका प्रेम पुन, तथा तुलसीपुर खबर डटकमका उपेन्द्र बस्नेत हुनुहुन्छ।
सम्मानित पत्रकारहरुलाई प्रतिनिधिसभा सदस्य सुशान्त वैद्धिक र महासंघका अध्यक्ष खेमराज वलीले नगद तथा सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रसँग सम्बन्धित विषयहरूलाई निरन्तर रूपमा समाचार, लेख, रिपोर्ट, भिडियो तथा जनचेतनामूलक सामग्री मार्फत प्रकाशन तथा प्रसारण गरी समाजलाई सुसूचित, सचेत र जिम्मेवार बनाउन पुर्याउनु भएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको महासंघले जनाएको छ।
महासंघले उठाउँदै आएको करमुक्त खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, जनताको पानी, सरकारको लगानी लगायतका जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठान गरी नीति निर्माण, सामाजिक उत्तरदायित्व तथा समुदायस्तरमा सकारात्मक व्यवहार परिवर्तनका लागि योगदान पुर्याएको सम्मान पत्रमा उल्लेख छ ।

वास खबर डट कमले विगत १० बर्षदेखि खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रलाई मात्र आफ्नो कार्यक्षेत्र बनाई नियमित सचेतना फैलाउँदै आएको छ। नेपालमा चलेको खुला दिसामुक्त अभियान देखि हालसम्म खानेपानी, सरसफाइ र स्वच्छतालाई मात्र प्रमुख मुद्दा बनाएर वास खबरले नियमित सूचना प्रवाह गरिरहेको एक मात्र डिजिटल पत्रिकाको पहिचान बनाएको छ।
महासंघले उत्कृष्ट खानेपानी संस्थातर्फ दाङस्थित घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई सम्मान गरिएको थियो। त्यसैगरी, खानेपानी महासंघका केन्द्रीय कार्यालय सचिव अजय पराजुली र लेखनाथ खानेपानी उपभोक्ता संस्थाका कार्यालय सचिव शिव अमात्यलाई समेत सम्मान गरिएको थियो।


407 पटक हेरिएको 

