लहानमा स्वच्छताको नयाँ जागरण : घरघरमा सेप्टिक ट्याङ्की र शौचालय निर्माण

  वास खबर समाचारदाता  262 पटक हेरिएको
🔗
25
Shares

लहान : सिरहाको लहान नगरपालिका वडा नं. ७ मा अचेल एउटा बेग्लै रौनकता छ। कसैको आँगनमा इँटाहरू चाङ लगाइएका छन्, कसैको घरपछाडि जग खनिँदैछ, त कतै सेप्टिक ट्याङ्की निर्माणका लागि मिस्त्रीहरू व्यस्त छन्।

लहानको यो वडा अहिले ‘एक घर, एक शौचालय’ निर्माणको अभियानमा होमिएको हो ।

विगतमा पनि यहाँ चर्पी नबनेका होइनन्, तर विगतमा चलेको अभियानबाट निर्माण भएका शौचालय ’प्लिन्थ लेभल’ (जग) मै सीमित रहे। जग मात्र पक्की बनाइएका शौचालयहरू प्रयोगमा नआई भत्किए, जसका कारण कतिपय घरका मानिसहरु विगतमा जस्तै पुनः खुला शौच गर्ने अभ्यासमै फर्किएका थिए ।

तर, अहिले समय फेरिएको छ।

लहानमा वाटर एड (WaterAid) नेपाल र दलित जनकल्याण युवा क्लव (DJKYC) द्वारा सञ्चालित ’विकन परियोजना’ ले गरेको अध्ययनले जब ४ हजार २ सय घरधुरी शौचालय विहीन रहेको तथ्याङ्क सार्वजनिक भयो, त्यसले नगर र समुदाय दुवैलाई झस्कायो। त्यही झट्काले अहिले लहानमा घरघरको शान, स्वच्छता अभियान सञ्चालित छ ।

स्थानीय सरकार र समुदायको ’हातेमालो’

नागरिकको यो तत्परतामा वडा कार्यालयले पनि मलम लगाउने काम गरेको छ। स्थानीय आफैँले शौचालय बनाउन सुरु गरेपछि वडा कार्यालयले उनीहरूलाई ’रिङ’ हरू उपलब्ध गराएर सहयोग गरेको छ।

वडाको यो सानो तर अर्थपूर्ण सहयोगले स्थानीयमा ठूलो उत्साह थपेको स्वच्छता अभियानकी युथ च्याम्पियन करिना विक, सदायाले बताउनुभयो।

‘शौचालय निर्माणको काम धमाधम भैरहेको छ, अब बनाउन बाँकी रहेका घरहरूमा पनि हप्ता दिनभित्रै शौचालय निर्माणको काम सम्पन्न हुनेछ’ युथ च्याम्पियन करिनाले भन्नुभयो।

उहाँका अनुसार पहिले मानिसहरूमा शौचालय बनाउनुपर्छ भन्ने चेतना त थियो, तर कार्यान्वयनमा अलमल थियो। अहिले स्वच्छता अभियान सुरु भएपछि सबैमा एक खालको तदारुकता देखिएको छ। अबको एक हप्ताभित्र वडाका सबै घरमा शौचालय बनिसक्नेछन्।

यस अभियानलाई भुइँतहसम्म पुर्‍याउन र मानिसहरूको सोच बदल्न दलित जनजागरण युवा क्लवले इन्जिनको काम गरिरहेको छ। क्लवले सञ्चालन गरेका विभिन्न सचेतनामूलक कार्यक्रमले नै स्थानीयलाई खुल्ला ठाउँमा दिसापिसाब गर्दा हुने जोखिम र घरमै शौचालय हुँदाको प्रतिष्ठा बुझाउन सफल भएको छ।

विगतमा भत्किएका शौचालयका संरचनाहरू हेरेर टोलाउनेहरू अहिले सेप्टिक ट्याङ्की खन्दै गरेको दृश्यले लहान साँच्चिकै परिवर्तनको बाटोमा रहेको सङ्केत गर्छ।

फोटोहरु : पी.टी लोप्चन/WASH Khabar


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार