सुरक्षित सरसफाइ सम्बन्धी तथ्याङ्क अपर्याप्त, प्रशोधन पछिको अवस्था अझै अज्ञात

  वास खबर सम्बाददाता  240 पटक हेरिएको
🔗
33
Shares

काठमाडौं : नेपालमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सम्बन्धी तथ्याङ्क अझै पर्याप्त रूपमा संकलन हुन नसकेको सरोकारवालाहरूले बताएका छन्। विशेष गरी मानव मलमूत्र प्रशोधन पछिको अवस्थाबारे तथ्याङ्क नै उपलब्ध नभएको पाईएको छ।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) का नेश्नल प्रोफेस्नल अफिसर (वास) सुधा श्रेष्ठका अनुसार नेपालले खुला दिसामुक्त अभियानमा उल्लेखनीय प्रगति हासिल गरे पनि सुरक्षित सरसफाइ व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ।

नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम (Scaling Citywide Inclusive Sanitation Service Systems)’ को मध्यावधि समीक्षा कार्यक्रममा उहाँले नेपालका ९५ प्रतिशत जनतामा मात्रै शौचालयको पहुँच पुगेको अर्थात अझै करिब ५ प्रतिशत जनसंख्या खुला दिसा गर्ने अवस्थामा रहेको बताउनुभयो।

सरकारी तथ्याङ्क अनुसार सरसफाइ प्रणाली मध्ये ८९ प्रतिशत ‘अनसाइट स्यानिटेसन’ मा आधारित रहेको छ भने केवल ११ प्रतिशत मात्रै ढल प्रणालीमा आधारित सरसफाइ सेवामा आबद्ध छन्।

उहाँका अनुसार ढल प्रणालीमा जोडिएका संरचना मध्ये पनि केवल ३ प्रतिशत मानव मलमूत्र मात्र प्रशोधन भइरहेको तथ्याङ्क उपलब्ध छ। तर, प्रशोधनपछिको फोहोर कहाँ जान्छ, कसरी व्यवस्थापन वा विसर्जन गरिन्छ भन्नेबारे कुनै स्पष्ट तथ्याङ्क नरहेको उहाँले बताउनुभयो।

“प्रशोधनपछि त्यो फोहोर कहाँ पुग्छ ? कसरी विसर्जन हुन्छ ? भन्ने डाटा नै छैन,” उहाँले भन्नुभयो।

उहाँले सुरक्षित सरसफाइलाई पूर्वाधार निर्माणको विषय मात्र नभई सार्वजनिक सेवा र नियमनसँग जोडिएर हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यसै सन्दर्भमा नगरपालिकाहरूले सरसफाइ प्रणालीको प्रभावकारी नियमन, तथ्याङ्क व्यवस्थापन तथा मानव मलमूत्रको सुरक्षित प्रशोधन र व्यवस्थापनलाई सरकारी सेवाका रूपमा संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार