
काठमाडौ : काठमाडौ उपत्यकाको बालकुमारी र सुन्दरीघाट फोहोरपानी तथा मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणमा भैरहेको ढिलाई प्रति ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जनले तीब्र असन्तुष्टि जनाउनु भएको छ । यस विषयमा आक्रोश व्यक्त गर्दै मेयर महर्जनले भन्नु भएको छ ‘ठेक्का लिनका लागि मात्र टेण्डर गरिएको रहेछ, काम गर्नका लागि होइन रहेछ।’
“२०७४ सालको स्थानीय निर्वाचनपछि हामीले १८ पटक बैठक बोलायौं । हरेक बैठकमा विवाद र बहस हुन्थ्यो । १९ औं बैठकमा मात्रै सबै कुरा टुंगियो,” महर्जनले भन्नुभयो, “माननीय पम्फा भुसालको उपस्थितिमा बैठक बसी स्थानीयको समस्याहरुको सवालमा हामीले नै मिलाउने काम गर्यौं, त्यसपछि टेण्डर प्रक्रिया अघि बढाइएको थियो। तर दुःखको कुरा, आजसम्म पनि परियोजना सम्पन्न भएको छैन ।”
महर्जनले ठेकेदार कम्पनीहरूले काम सम्पन्न गर्नेभन्दा पनि ठेक्का लिनमै बढी ध्यान दिएको आरोप लगाउनुभयो । “काम गर्नका लागि होइन, ठेक्का लिनका लागि मात्रै टेण्डर गरिएको जस्तो देखियो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार परियोजनाको डिजाइन परिवर्तन लगायतका कारण देखाएर काममा ढिलाइ गरिएको भए पनि त्यसको जिम्मेवारी स्थानीय तह वा स्थानीय समुदायको नभई डिजाइनर, रोजगारदाता र कार्यान्वयन निकायको हुने बताउनुभयो । “अब छिटोभन्दा छिटो परियोजना सम्पन्न हुनुपर्छ,” उहाँले जोड दिनुभयो ।
नेपालमा मानव मलमूत्र प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पर्याप्त पूर्वाधार अभावका कारण काठमाडौ उपत्यकाका अधिकांश ढल तथा मलमूत्र प्रत्यक्ष रूपमा नदी र खोलामा मिसिँदै आएको छ ।
उपत्यकामा करिब ५० लाख मानिस बसोबास गर्ने अनुमान गरिए पनि हाल जम्मा करिब ३ प्रतिशत जनसंख्याको ढल मात्रै प्रशोधन भएर नदीमा विसर्जन हुने गरेको तथ्यांक छ । बाँकी मलमूत्र भने प्रशोधनबिनै बागमती लगायतका नदी प्रणालीमा मिसिने गरेको सरोकारवालाहरू बताउँछन् ।
सरसफाइ तथा वातावरणविद्हरूका अनुसार प्रशोधन केन्द्रहरू समयमै सञ्चालनमा आउन नसक्दा नदी प्रदूषण, जनस्वास्थ्य जोखिम र वातावरणीय संकट झन् बढ्दै गएको छ ।


233 पटक हेरिएको 

